लिटरेचर फेस्टिभलमा उद्योगका कुरा – Nepal Press

लिटरेचर फेस्टिभलमा उद्योगका कुरा

निजी क्षेत्र सरकारको बिनालगानी पार्टनरः वरिष्ठ उपाध्यक्ष ढकाल

काठमाडौं । सरकारले गत चैतमा लगाएको लकडाउन चार महिनापछि खुल्यो । तर देशको उद्योग व्यवसाय क्षेत्र अहिले पनि लकडाउनमै रहेको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।

आइएमई लिटरेचर फेस्टिभलको छलफल सत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले अहिले पर्यटन क्षेत्र लगभग बन्द अवस्थामा रहेको र सेवा तथा उत्पादन क्षेत्र पनि लकडाउनकै अवस्थामा रहेको बताए । महामारीले कैयौंले रोजगारी गुमाएको प्रसङ्ग जोड्दै उनले भने ‘कोरोनाले देशको उद्योग व्यवसायलाई कोमामा नै पुर्यायो ।’

आगामी दिनमा पनि नसोचेका महामारी आउनसक्ने भन्दै त्यसका लागि सरकार तथा निजी क्षेत्र सचेत हुनुपर्ने उनको भनाइ थियो ।

‘छलफलमा कोरोनाले अवसर पनि ल्याएको छ नि !’ भन्ने प्रश्नमा उनले भने ‘कोरोना महामारीले उद्योग व्यवसायलाई कठिन बनाएको भए पनि डिजिटल क्षेत्रमा भने फड्को मारेको छ ।’

कोरोनाको समयमा धेरै काम डिजिटल प्रविधिबाट भएकाले नेपालको अर्थतन्त्रलाई डिजिटलमय बनाउन सहयोग पुगेको उनको तर्क छ । ‘आगामी दिनमा पनि नेपालले डिजिटल क्षेत्रमा फड्को मार्नेछ । यसका लागि सरकारले कानून बनाएर अगाडि बढ्नुपर्छ । निजी क्षेत्रले सधैं सरकारलाई सहयोग गर्ने नै छ’, उनले भने ।

उनका अनुसार लकडाउनपछि नेपालको पर्यटन क्षेत्र ठप्प भए पनि पछिल्लो समय आन्तरिक पर्यटन बढेको छ । ‘निजी क्षेत्रलाई सरकारले हेर्ने परम्परागत दृष्टिकोणमा परिवर्तन गर्न जरुरी छ । निजी क्षेत्र नाफाखोरी मात्र हो भन्ने सोचाइलाई परिवर्तन गर्नुपर्छ’ उनले भने ।

मलेसियाका पूर्व प्रधानमन्त्री महाथिर बिन महम्मद नेपाल आउँदा घुमाउने मौका पाएको अनुभव सुनाउँदै उनले थपे– उहाँलाई घुमाउने मौका पाएको थिएँ । ‘तपाईँले छोटो समयमा मलेसियामा चामत्कारिक विकास गर्न सक्नुको कारण के होला ?’ भनेर सोधेथें । उहाँले भन्नुभयो ‘मैले सरकार शुरु गर्दा आन्तरिक तथा अनुदानमा आएका सबै लगानीलाई देशको तीनवटै तहले पार्टनरका रुपमा लियौं । र निजी क्षेत्रलाई सक्दो प्रवर्धन गर्यौं । यसबाट सरकारले विना लगानी राजश्व मार्फत आम्दानी गर्यो र त्यसको प्रतिफल नै विकसित मलेसिया हो ।’

पछिल्लो समय नेपालमा विकासको लहर देखिन थालेको भन्दै उनले भने– केन्द्र र संघमा पनि विकासको प्रतिस्पर्धाको प्रारम्भिक रुप देखिन थालेको छ । यो सकारात्मक पक्ष हो । तर, हाम्रो देशमा कार्यान्वयनको पक्ष अत्यन्त फितलो छ । कुनै पनि कुरा कार्यान्वयन नहुँदासम्म विकास हुन सक्दैन ।

महामारी अकस्मात् आयो । निजी क्षेत्रले महामारीमा धेरै काम गर्यो । तर पनि साना उद्योग व्यवसायलाई भने जति सहयोग गर्न नसक्दा ती व्यवसायी पलायन नै हुने अवस्था रह्यो ।

अहिले पनि युरोपबाट नयाँ नयाँ प्रजातिको कोरोना आयो भन्ने छ । यसले पुनः निजी क्षेत्रलाई असर गर्ने निश्चित छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर