महामारीले प्रभावित फिल्म प्राविधिकलाई सहायता गर्न स्वस्तिमाको अपिल (भिडिओ) – Nepal Press

महामारीले प्रभावित फिल्म प्राविधिकलाई सहायता गर्न स्वस्तिमाको अपिल (भिडिओ)

काठमाडौं । कोरोनाभाइरस महामारीको कारण प्रभावित फिल्म प्राविधिकलाई सघाउन कलाकार कस्सिएका छन् । अक्सिजन सिलिन्डर जोहो गर्नेदेखि प्राविधिकलाई राहत संकलन गर्न उनीहरु सक्रिय भएका छन् । कतिपयले गच्छेअनुसार सहयोग गर्न अपिल गरिरहेका छन् ।

यही मेसोमा अभिनेत्री स्वस्तिमा खड्काले सामाजिक संजालमा भिडिओ सन्देश जारी गर्दै महामारीले प्रभावित फिल्म प्राविधिकलाई सहयोगका लागि आग्रह गरेकी छिन् । गच्छेअनुसार आर्थिक एवं अन्य सहयोग गर्न स्वस्तिमाको आग्रह छ । उनले जारी गरेको भिडियोपछि धेरैले प्राविधिकहरुलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

भिडिओमा स्वस्तिमाले भनेकी छिन्, ‘यतिबेला हामी असामान्य परिस्थितिमा छौं । यस्तो बेला सरकारको प्राथमिकतामा चलचित्र क्षेत्र पर्न सकेको छैन । कोरोनाका कारण अहिले चलचित्रहरु बनिरहेका छैनन् । जसले गर्दा सबैभन्दा बढी समस्यामा चलचित्रमा काम गर्ने प्राविधिकहरु परेका छन् । प्राविधिकहरुलाई छाक टार्न समेत समस्या रहेको भन्ने समाचारहरु पढ्दा म निकै भावुक भएको छु ।’

तीन सयमध्ये सय जना प्राविधिकको अवस्था अत्यन्त दयनीय रहेको जानकारी पाएपछि आफ्नो चिनजानका व्यक्ति र आफू आबद्ध ब्रान्डहरुलाई सहयोगका लागि आग्रह गरेको र सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएको स्वस्तिमाले भिडिओमा बताएकी छिन् ।

स्वस्तिमाले प्राविधिकहरुलाई सहयोग गर्न चाहनेले इसेवा आइडी ९८४१०१७७६४ या कुमारी बैंकको डिजिटल क्यूआर कोर्डमार्फत् सहयोग पठाउन सक्ने बताएकी छन् ।

‘सबै प्राविधिकहरुलाई उस्तै समस्या नहुनसक्छ । विशेषगरी स्पट ब्वाईहरुलाई समस्या छ । उहाँहरुले थोरै पारिश्रमिकमा काम गर्नुहुन्छ । फिल्ममा काम गर्दा म उहाँहरुसँग एकदमै क्लोज पनि हुन्छु । उहाँहरुले हामीलाई बिहान उठाउनेदेखि चिया/खाना ल्याइदिनेसम्मको काम गर्नुहुन्छ । यो बेला हामीले उहाँहरुलाई सानो सहयोग गर्न सक्यौं भने पनि ठूलो हुन्छ,’ उनले भनेकी छन् ।

हेर्नूस भिडिओ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *