सुहाङ-अधिवक्तादेखि सांसदसम्मको यात्रा – Nepal Press

सुहाङ-अधिवक्तादेखि सांसदसम्मको यात्रा

फिक्कल (इलाम) । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङको संसद् यात्रा सुरु भएको छ । इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा विजयी भएसँगै सुहाङको संसद् यात्रा सुरु भएको हो ।

एमालेका तत्कालीन उपाध्यक्ष समेत रहेका बुवा सुवासचन्द्र नेम्वाङको निधनपछि भएको उपनिर्वाचनमा उनी बुवाको विरासत जोगाउन सफल भए । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गरेर सुहाङ निर्वाचित भएका हुन् । सुहाङले २७ हजार ७७२ मत ल्याउँदा डम्बरबहादुरले २१ हजार ९४२ मत ल्याए ।

सुहाङको जन्म विसं २०४६ फागुन ६ गते बुबा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रूपमा काठमाडौंमा भएको थियो । काठमाडौंको ग्यालेक्सी पब्लिक स्कूलमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरू गरेका उनले जगत माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) उत्तीर्ण गरे । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि उनी अष्ट्रेलिया गए । त्यहाँ दुई वर्ष बसेर नेपाल फर्किए ।

स्वदेश फर्केर उनले काठमाडौं स्कूल अफ लबाट कानून संकायमा बीएलएलबी, वाणिज्य कानूनमा एलएलएम अध्ययन पूरा गरे । सुवासले आफू कानून पढेको र अधिवक्ता भएकाले छोरा सुहाङलाई पनि कानून नै पढाएका थिए । सुहाङ पछिल्लो समय काठमाडौंको थापागाउँमा ‘कान्तिपुर ल एसोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी वकालत गर्दै आएका थिए ।

नेपाल प्रेस आर्काइभबाट हेर्नुस् सुहाङको भिडिओ अन्तर्वार्ता‘परिस्थितिले राजनीतिमा धकेल्दैछ, बुवाको निर्वाचन क्षेत्रमा पार्टीले अघि सारे खुट्टा कमाउँदिन’

सुहाङको लगाव खेलकुदमा बढी थियो । स्कूले जीवनमा धरैजसो समय होस्टेलमै बिताएका सुहाङ अष्ट्रेलियाबाट फर्किएपछि कलेजका हरेक खेलकुद प्रतियोगितामा सहभागी हुन थाले । उनले इलामको खेलकुद विकासका लागि दुई वर्षअघि ‘इलाम स्पोर्टिङ डी मेची क्लब’ समेत स्थापना गरेका छन् । पछिल्लो समय सोही क्लबमार्फत इलामका विभिन्न ग्रामीण क्षेत्रमा पुग्ने गर्थे । फुटबल र क्रिकेटमा रुचि भएका तथा पेशाले अधिवक्ता सुहाङ सरल, शालीन र नरम स्वाभावका छन् ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि बुबा सधैँ केन्द्रीय राजनीतिमा छाइरहेकाले पनि सुहाङले राजनीतिकलाई नजिकबाट बुझ्ने अवसर पाएका थिए । यद्यपि उनी राजनीतिक गतिविधिबाट भने टाढै थिए । सुहाङले यसअघिसम्म कुनैपनि निर्वाचनमा मतदानसमेत गरेका थिएनन् । आफ्नै बुबा उम्मेदवार हुँदा समेत मतादता नामावलीमा नाम दर्ता नभएकाले उनले मतदान गर्न पाएका थिएनन् ।

सानैदेखि राजनीतिलाई नजिकबाट बुझ्ने अवसर पाएका उनले परस्थितिले सोचेभन्दा अलि अघि मैदानमा आउन बाध्य भएको बताउँदै आएका छन् ।

शालीन एवम् बौद्धिक नेताको छवि बनाएका स्वर्गीय सुवासचन्द्र नेम्वाङका छोराका रूपमा सुहाङले बुबाको विरासत जोगाउनुपर्ने जिम्मेवारी र नयाँ पुस्ताको भरोसा बटुल्नु चुनौती छ ।

आफू विजयी हुँदै गर्दा आफूसँगै चुनावी मैदानमा रहेका सबै उम्मेदवारले उठाएका सबै मुद्दा इलामको नागरिकको साझा भएको उनको भनाइ छ । राजनीति धेरै टाढासम्म रहेको भन्दै सबैको भावना कदर गर्दै देशलाई सुशासन र समृद्ध बनाउने सपना रहेको भन्दै उनले आफ्ना बुबाको अधुरा र अपूरा सपना पूरा गर्न राजनीतिमा आएको बताएका छन् । समाजमा रहेको राजनीतिप्रति युवाको मानसिकता र वैदेशिक रोजगारमा युवाको आकर्षण घटाउन विभिन्न योजना ल्याउने उनको प्रारम्भिक प्रतिक्रिया छ ।

सुहाङका एक दाजु, एक दिदी र एक बहिनी छन् । दिदी सुसाङ पेशाले डेण्टल सर्जन छिन् भने बहिनी साम्याङ अर्वान स्टडिजमा स्नातकोत्तर गर्दै छिन् ।

रामकुमार लिम्बू/रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर