चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक – Nepal Press

चलचित्र ‘पुजार सार्की’को सशक्त गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं। आगामी जेठ १० गते बाट विश्वव्यापी रूपमा एकसाथ रिलिज हुन लागेको चलचित्र ‘पुजार सार्की’को दोस्रो गीत ‘रिमै’ सार्वजनिक गरिएको छ। मङ्गलवार सार्वजनिक गरिएको यस गीतका दृश्यहरूले चलचित्रको थिम प्रस्तुत गरेको छ।

सार्वजनिक गीतमा पुजारको चरित्र निभाएका अभिनेता आर्यन सिग्देल र अभिनेत्री अञ्जना बराइली, मैतबहादुरको चरित्रमा रहेका अभिनेता प्रदीप खड्का र अभिनेत्री परीक्षा लिम्बुको अन्तरजातीय प्रेम र दोधारमा परेका अभिनेता पल शाहलाई देखाइएको छ। गीतमा दिनेश राउतको शब्द, सुवास भुसालको सङ्गीत र देवेन्द्र बराल र मुना ठटालको स्वर रहेको छ।

यसअघि पहिलो कोसेली स्वरुप चलचित्रमा समावेश ‘दर्शन गरेँ’ बोलको गीत सार्वजनिक गरिएको थियो।

चलचित्रमा आर्यन सिग्देल पुजारीको भूमिकामा देखिएका छन्। प्रदीप खड्कालाई दमाहा बजाउँदै गरेको देखाइएको छ तर उनको पूर्ण परिचय भने खुलाइएको छैन। पल शाहको भूमिका क्रान्तिकारी रहेको अनुमान गरिएको छ। अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीहरूको भूमिकामा प्रस्तुत गरिएको छ।

चलचित्रमा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ।

वर्ष २०८१ को लागि सर्वाधिक प्रतीक्षामा रहेको ‘पुजार सार्की’लाई दिनेश राउतले निर्देशन गरेका हुन। निर्देशक राउतले यो चलचित्रलाई समीक्षात्मक तथा व्यावसायिक दुवै हिसाबले उत्कृष्ट बनाउने आफ्नो प्रयास रहेको जनाएका छन्। चलचित्रलाई विकास सुवेदीले लेखेका हुन। यसअघि विकास र दिनेशले चलचित्र ‘प्रकाश’मा सहकार्य गरेका थिए। चलचित्रलाई सुवास भुसालले निर्माण गरेका हुन्। किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्रलाई नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ।

निर्माता भुसालले नै यस चलचित्रको लागि सङ्गीत तयार गरेका छन्। हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाहीले यसमा गीत रचना गरेका छन् भने प्रकाश सपूत, शान्ति श्री परियार, केतन क्षेत्री, देबेन्द बराल र मुना थटालले स्वर दिएका छन् । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’लाई भरत रेग्मीले सम्पादन तथा सुप्रिम पराजुलीले कलर ग्रेडिङ तथा हिमाल केसीले द्वन्द्व निर्देशन गरेका छन्। चलचित्रको पोस्टर डिजाइन रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *