सुदूरपश्चिममा दोस्रोपटक सरकार विस्तार गर्दा पनि एमाले र माओवादी बाहिर – Nepal Press

सुदूरपश्चिममा दोस्रोपटक सरकार विस्तार गर्दा पनि एमाले र माओवादी बाहिर

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज दोस्रोपटक सरकार विस्तार गरेका छन् । पहिलोपटक आफू मुख्यमन्त्रीको शपथ गरे लगत्तै वैशाख ६ गते भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई नियुक्त गरेका थिए भने आज पनि नागरिक उन्मुक्ति पार्टीकै टीका थापालाई उनले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरे ।

सुदूरपश्चिम प्रदेशमा दोस्रा पटक सरकार विस्तार हुँदा पनि यहाँका ठूला दल एमाले ,माओवादी सरकारमा सहभागी भएका छैनन् । एमालेले यस अघि नै तत्काल सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । एमाले संसदीय दलका उपनेता सन्तोष शर्मा थापाले अहिले सरकारमा सहभागी हुने विषयमा कुनै नयाँ निर्णय नगरिएको बताइन् ।

‘यस अघि नै सरकारलाई समर्थन गर्ने तर तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेका थियौँ । अहिले सहभागी हुने निर्णय भएको छैन’ उनले भनिन् ।

एमाले सरकारमा सहभागी हुने टुङ्गो नलाग्दै मुख्यमन्त्री दीर्घ सोडारीले आगामी २१ गते विश्वासको मत लिने तयारी गरेका छन् ।

मंगलबार बिहान मुख्यमन्त्री सोडारीले गठबन्धन दलका नेताहरूसँग विश्वासको मत लिने बारे छलफल गरेका थिए । एमाले सहित सहभागी बैठकमा सोडारीले २१ गते विश्वासको मत लिने बताएका थिए । यद्यपि एमालेले मन्त्री पठाउने र विश्वासको मत दिने बारे निर्णय गरेको छैन । संसदीय दलले अहिलेसम्म कुनै आधिकारिक निर्णय नगरेकाले नेतृत्वको निर्देशन एमाले पर्खिरहेको छ ।

नेकपा माओवादी केन्द्रले विश्वासको मत पछि मात्रै सरकारमा सहभागी हुने गरि शीर्ष नेताहरूसँग छलफल सुरु गरेको छ । आफूहरू चाँडै सरकारमा सहभागी हुने माओवादी संसदीय दलका नेता मानबहादुर धामीले बताए ।

‘मुख्यमन्त्री ज्यूले विश्वासको मतको तयारी गरिरहनु भएको छ । उहाँले विश्वासको मत पाउनुहुन्छ , हामी पनि सरकारमा सहभागी हुन्छौँ’, उनले भने, ‘अहिले छलफल जारी छ त्यसैले ढिला भएको हो । धेरै समय लाग्दैन ।’

माओवादीमा मन्त्री बन्ने आकाङ्क्षीहरूको लर्को छ । मन्त्रीको मापदण्ड तयार गर्न पूर्व मुख्यमन्त्री त्रिलोचन भट्टको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल समेत तयार गरिएको थियो । उक्त कार्यदलले पनि आफ्नो सुझाव पेश गरिसकेको भन्दै उनले चाँडै माओवादी सरकारमा सहभागी हुने बताए ।

मुख्यमन्त्री सोडारी भने सरकारले चाडै पूर्णता पाउने दाबी गर्छन् । आफूले २१ गते विश्वासको मत लिने तयारी गरेको भन्दै उनले सत्तारुढ दलका सबै सरकारमा सहभागी हुने बताउँछन् । ‘छलफल र संवाद भइरहेको छ । सरकारले चाँडै पूर्णता पाउँछ’, उनले भने ।

मुख्यमन्त्री सोडारी केही समय काठमाडौँ बसेर शीर्ष नेताहरूसँगको संवाद पछि कैलाली फर्किएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनले भेट गरेका थिए ।

सुदूरपश्चिममा माओवादीको सभामुख सहित ११ र एमालेको पनि बझाङमा निर्वाचित भएका सांसदसहितको संख्या ११ रहेको छ । यहाँ ११्११ सांसद रहेको दुई पार्टी सरकार बाहिर रहँदा दुई पटक सरकार विस्तार भइसकेको छ ।

मुख्यमन्त्री सहित भौतिक पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय साना दलले लिँदा ठुला दललाई भागबन्डामा पनि सकस हुने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर