साझा विषयमा कर्णालीका प्रमुख दल एकै ठाउँमा – Nepal Press

साझा विषयमा कर्णालीका प्रमुख दल एकै ठाउँमा

सुर्खेत । साझा विषयमा कर्णालीका प्रमुख राजनीतिक दलहरू एकै ठाउँमा उभिएका छन् । मुख्यमन्त्री यामलाल कँडेलले आज आव्हान गरेको सर्वदलीय बैठकमा सिद्धान्त र विचार जे भए पनि कर्णालीका साझा विषयमा एकै ठाउँमा उभिने प्रतिबद्धता जनाएका हुन् ।

बैठकमा मुख्यमन्त्री कँडेलले कर्णालीको विकास र समृद्धिको लागी एक्लै हिँडेर कुनै गन्तव्यमा पुग्न सकिँदैन भन्ने आफू प्रष्ट रहेको भन्दै आफूले सबैको साथ खोजेको बताए ।

उनले विचारमा विविधता भए पनि सबै राजनीतिक दलको उद्देश्य विकास, सुशासन र समृद्धिमा केन्द्रित भएकोले आफूले विकासलाई सबैको साझा बनाएर लैजाने अभियानको थालनी गरेको बताए ।

सबैको एकमतबाट मात्र कर्णालीका साझा मुद्दालाई केन्द्रसम्म लैजान सकिने बताउँदै मुख्यमन्त्री कँडेलले बैठकले संघीय सरकारसँग सरोकार राख्ने विभिन्न ६ वटा विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

जसमा कर्णाली करिडोर (सुर्खेतदेखि हुम्लासम्म) भेरी करिडोर (सुर्खेतदेखि डोल्पासम्म), कर्णाली राजमार्ग (कालिकोटदेखि मुगु—रारा हुँदै नाञ्चेनाग्लासम्म) आयोजनाहरूलाई राष्ट्रिय गौरवको आयोजना घोषणा गरी कार्यान्वयन गर्ने निकायको छुट्टै संरचनासहित द्रुत गतिमा सम्पन्न गर्न पर्याप्त बजेट विनियोजन गर्न, सुर्खेतको वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थलको बिस्तार र थप पूर्वाधारको विकास गर्न तथा सुर्खेतबाट कर्णालीका अन्य जिल्लाहरुमा नियमित रूपमा हवाई सेवा सञ्चालन गर्न तथा प्रदेश प्रवेशद्वारको रूपमा रहेको कोहलपुर—सुर्खेत सडकलाई चार लेन बनाउने योजना कार्यान्वयन गर्न रहेका छन् ।

त्यस्तै भेरी बबई डाइभर्सन आयोजनाको प्रत्यक्ष लाभान्वित हुने लुम्बिनी प्रदेशको बाँके र बर्दिया भएकोले त्यस आयोजनाबाट उत्पादन हुने बिजुलीको रोयल्टी कर्णाली प्रदेशले पाउने कानूनी र नीतिगत व्यवस्था गर्न, जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरूको लागी अस्थायी आवासको लागी छुट्ट्याइएको दोस्रो किस्ताको रकम तत्काल वितरण गर्न र पुनर्निर्माणको काम तत्काल प्रभावकारी रूपमा सञ्चालन गर्न तथा वीरेन्द्रनगरमा खानेपानीको दीर्घकालीन समस्या समाधानका लागी भेरी लिफ्टिङ्ग खानेपानी आयोजनालाई द्रुत गतिमा सञ्चालनको कार्यान्वयनको प्रक्रिया आगडि बढाउन रहेका छन् ।

त्यस्तै बैठकले प्रदेश सरकारलाई संस्थागत, पारदर्शी, परिणाममुखी हुने गरी योजना छनौट गर्न र कार्यान्वयन पक्ष कमजोर भएकोले बजेटको प्रभावकारी कार्यान्वयनको लागी ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति ललितजंग शाही, महामन्त्री निरन्जन केसी, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोमा कुवर, प्रदेश उपाध्यक्ष तथा प्रदेशसभा सदस्य कृष्ण जिसी, एमालेका प्रदेश अध्यक्ष गुलाबजंग शाह, सचिव ध्रुवकुमार शाही, एकीकृत समाजवादीका प्रदेश अध्यक्ष तथा संघीय सांसद अम्मरबहादुर थापा, प्रदेशसभा सदस्य कल्याणी खड्का र राप्रपाका केन्द्रीय सदस्य मातृका भुसाल, जिल्ला अध्यक्ष कविराम पुरी लगायतका नेताहरूले कर्णालीको विकास र समृद्धिमा आफूहरूको साथ प्रदेश सरकारलाई रहने भन्दै मुख्यमन्त्री कँडेलले कर्णालीको विषलाई सर्वदलीय बैठकको आयोजना गरेकोमा प्रशंसा गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर