मिसन ग्रासरूट र संकल्प यात्रापछि एमालेको प्रदर्शन- व्यवस्थित क्याम्पेन, चुनावी च्याम्पियन – Nepal Press

मिसन ग्रासरूट र संकल्प यात्रापछि एमालेको प्रदर्शन- व्यवस्थित क्याम्पेन, चुनावी च्याम्पियन

नेताहरु भन्छन्- केपी ओलीको नेतृत्वमा एकल बहुमतको मिसन ८४, नयाँ धु्रवीकरणसहितको बलियो राष्ट्रिय शक्ति बन्छौं

काठमाडौं । एकल बहुमत ल्याएर ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यसहित एमालेले मिसन २०८४ को अभियान चलाइरहेको छ । गएको निर्वाचनको वर्ष दिन नपुग्दै चुनावी झल्को दिनेगरी मिसन ग्रासरुट र संकल्प यात्रा चलाएको एमालेको लक्ष्य छ, आगामी निर्वाचनमा एकल बहुमत ल्याउने ।

त्यहीअनुसारको एमालेले अहिले वामपन्थी शक्तिहरुसँग सहकार्य पनि थालेको छ । अस्तित्व जोगाउने चुनौतीमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाएर एमालेले पुनः २०७४ सालको झैं अभ्यास गर्न खोजेको देखिन्छ । तर, त्यो कुरा स्वीकार्न एमाले नेताहरु तयार छैनन् ।

कांग्रेस नेतृत्वको गठबन्धन हानिकारक भएको निष्कर्षसहित त्यसलाई भत्काएर सत्तामा फर्किएको एमालेले वैशाख १५ गते भएको उपनिर्वाचनमा ‘क्लिन स्विप’ गरेको छ । आफूविरुद्धको गठबन्धन भत्काएर सत्तामा फर्किन सफल भएको एमाले यो उपनिर्वाचनमा आफू च्याम्पियन भएको सन्देश दिन सफल भयो ।

गत निर्वाचनपछिको प्रचण्डसँग भएको सहकार्य राष्ट्रपतिको निर्वाचनमा पुग्दा तोडिएपछि एक वर्ष एमाले सत्ता बाहिर रहन पुग्यो । प्रचण्डले समीकरण फेरेपछि एमाले सरकारमा फर्किने दाउमात्रै हेरेर बस्ने त्यो अवधिलाई पार्टी निर्माणमा लगायो । नेता कार्यकर्तालाई विचलित हुन दिएन ।

एमालेले एक्लै बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने उद्देश्य राखेर पार्टी संगठन चलायमान बनाउन र चुनावपछिको मनोविज्ञान बुझ्न ३ महिना मिसन ग्रासरुट चलाएको थियो । वडा-टोल तहसम्म केन्द्रीय सदस्यहरु नै पुगेर पार्टी संगठन परिचालन, गठन पुनर्गठन र पार्टी प्रवेश गराए । यसले संगठनभित्र गोडमेलको काम गरेको थियो । जसको सकारात्मक परिणाम अहिले उपनिर्वाचनबाट देखिएको छ ।

एमालेले मिसन ग्रासरुट र संकल्प यात्राको माध्यमबाट पार्टीलाई चलायमान बनाएको कारणले एक्लै लड्दा पनि उपनिर्वाचनमा च्याम्पियन बन्न सफल भएको छ । इलाम- २ र बझाङ प्रदेशसभा १ मा एमालेका उम्मेदवारहरु क्रमशः सुहाङ नेम्वाङ र दमनबहादुर भण्डारी बाजी मार्न सफल भएका छन् ।

इलाममा माओवादीले सघाएको भए पनि त्यो एमालेको विरासत भएको क्षेत्र हो । बझाङमा एमालेले गएको निर्वाचनमा गुमाएको सीट फिर्ता ल्याएको छ । त्यहाँ गएको निर्वाचनमा पाँच दलीय गठबन्धन भएकै कारणले एमालेले हार व्यहोरेको थियो । यस पटक सबै दल एक्लाएक्लै लड्दा एमाले नै च्याम्पियन बन्यो ।

एमालेले २०७९ सालको चुनाव ५ दलीय गठबन्धनसँग सामना गरेको थियो । गठबन्धनको बलमा कांग्रेसले केही सीट धेरै ल्याए पनि एमाले समानुपातिकमा पहिलो दल बनेको थियो । एमाले ७७ जिल्लामध्ये ४४ वटामा पहिलो बनेको थियो । दलहरु एक्लाएक्लै लडेका भए त्यसबेलै एमाले बहुमत नजिक पुग्ने दलहरुको मतभारले देखाउँछ ।

वाम एकता होइन, एमालेप्रतिको आकर्षण- युवराज ज्ञवाली

अहिलेको निर्वाचनको परिणामले जनताको भारोसाको एकमात्रै केन्द्र एमाले भएको पुष्टि गरेको उपाध्यक्ष युवराज ज्ञवाली बताउँछन् ।

उनले भने, ‘अब नेपालको राजनीतिमा जनताको भरोसाको एकमात्रै केन्द्र एमाले नै हो भन्ने पुष्टि गरेको छ । बझाङमा वामपन्थीहरु सबै एक्लाएक्लै लड्दा पनि हामीले जित्न सफल भएका छौं । यसले एमालेको लोकप्रियता पुनः पुष्टि गरेको छ ।’

उनले अहिले वामपन्थी एकताको भन्दा पनि एमालेको जनताप्रति बलियो आधार बन्दै गइरहेको जिकिर गरे । एमाले आफ्नै बलबुताबाटै जनताबीचबाट अनुमोदन हुने र आवश्यक पर्दा वाम सहकार्य गर्न उदार रहने उनको भनाइ छ ।

उनले थपे, ‘यो नतिजाले वामपन्थी एकताको आधार भन्दा पनि एमालेको आधार बढ्दै गएको र जनताको एमालेप्रति आकर्षण बढेको पुष्टि हुन्छ । अब वामपन्थी एकता त अरु सबै पार्टीहरुले कसरी सोच्ने भन्ने हो । हामी अहिले मिसन ८४ लाई केन्द्रमा राखेर अघि बढेका छौं । यो निर्वाचनको परिणामले पनि हामीले राखेको लक्ष्य पूरा गर्ने आधार तय भएका छन् ।’

उपाध्यक्ष ज्ञवालीले २०४८ सालदेखि मुख्य प्रतिस्पर्धीको रुपमा कांग्रेस र एमाले रहेको जिकिर गरे । उनले भने, ‘मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेसमात्रै हुन् । अरुको सम्भावना छैन भन्ने देखिसकेका छौं । त्यो पटक पटकको निर्वाचनले पुष्टि गरेको छ । संकल्प यात्रा र मिसन ग्रासरुट पार्टीलाई अगाडि बढ्ने राम्रो आधार बनेका छन् । सकारात्मक प्रभाव पारेको छ ।’

ओलीको रणनीति र कार्यनीति सफल

पार्टी पंक्तिलाई एकजुट बनाएर मिसन ८४ को अभिभारा पूरा गर्न ओली आफैं सक्रिय भएका छन् । आफूविरुद्धका घेराबन्दी लामो समयपछि तोडेर सत्तामा कमब्याक गर्न सफल भएपछि एमालेलाई सहज महसुस भएको छ ।
त्यसबारे ओलीले गत साता बसेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा पेस गरेको प्रतिवेदनमा पनि उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको थियो, ‘पार्टीविरुद्धको गठबन्धन र घेराबन्दी तोडिएको छ । नयाँ सत्ता सहकार्यबाट जनतामा अलिकति भए पनि आशा र भरोसा पुनर्जागृत भएको छ । राष्ट्रिय राजनीतिमा एमालेको नेतृत्वदायी भूमिका फेरि एक पटक स्थापित भएको छ ।’

सत्ता सहकार्य गर्दा एमालेले कुनै स्वार्थलाई केन्द्रमा नराखेको ओलीको प्रतिवेदनमा उल्लेख छ । हुन पनि हो, ओली नयाँ समीकरण बनाउन हदैसम्म लचिलो भएका छन् । यसअघि धोका दिएका प्रचण्डलाई प्रधानमन्त्री स्वीकारे भने पार्टी विभाजन गरेर हिँडेका माधव नेपालको निवाससम्म पुगे ।

सत्ताबाट बाहिर हुँदा झुलाघाटदेखि चिवा भञ्ज्याङसम्म २५ लाखभन्दा बढी जनतासँग एमालेका नेताहरुले प्रत्यक्ष संवाद गरेका थिए । त्यसको नेतृत्व ओली आफैंले गरे भने सिंगो पार्टी पंक्तिलाई एकताबद्ध बनाएर उभ्याए । यसले जनपरिचालनमा पनि एमालेले उल्लेख्य सफलता पायो ।

त्यही अभियानकै क्रममा ओलीले कांग्रेस नेतृत्वको सत्ता गठबन्धन ढाल्ने चेतावनी दिएका थिए । तर, एमालेको अफरलाई कांग्रेसले लत्याउँदा अहिले कांग्रेस आफैं सत्ता बाहिर छ ।

ओलीले अहिले प्रचण्डसँग काँध मिलाएपछि कांग्रेस पनि एमालेसँग मिल्ने प्रयास गरिरहेको छ । तर, एमाले पार्टी नेतृत्व पंक्ति त्यसतर्फ सकारात्मक छैन । एमालेले कांग्रेस नेतृत्वको गठबन्धनलाई देशको लागि हानिकारक भएको निष्कर्ष निकालेको थियो ।

ओलीकै शब्दमा हानिकारक गठबन्धन भत्काएर आफ्नो नेतृत्वमा नयाँ गठबन्धन बनाएपछि ओलीले आफूलाई एक चलाख र परिपक्व राजनीतिक खेलाडीका रुपमा पुनःस्थापित गरे । एमाले पंक्ति उत्साहितमात्र भएन, ओलीले चाहे हरेक कुरा सम्भव भन्ने भावले अझ एक ढिक्का भएको छ ।

पार्टी कार्यकर्ता तल्लो तहसम्म सक्रिय भएकै कारणले उपचुनाव एमालेका लागि फलदायी सावित भयो । यो उपनिर्वाचनको कमाण्ड ओली आफैंले सम्हालेका थिए । उम्मेदवार छान्ने सन्दर्भमा इलाम र बझाङ दुवैतिरको मिहिन रिपोर्ट लिएपछि टिकटका दाबेदारहरुसँग ओली आफैंले कुरा गरेर पार्टीभित्रको सन्तुलन मिलाएका थिए ।

ओलीले उपनिर्वाचनमा इलाममा शिवमाया तुम्बाहाम्फे र बझाङमा कर्णबहादुर थापालाई फिल्ड कमाण्डर बनाए । अनावश्यक भीडभाड नहोस् भनेर स्थानीयलाई नै बढी परिचालन गरे । व्यवस्थित चुनावी क्याम्पेनसहित ओलीकोे एकल कमाण्ड भएकाले असन्तुष्टहरु पनि थामथुम भए र नतिजा एमालेको पक्षमा सहजै निस्कियो ।

च्याँखेहरु पाखा लागे, सिंगल लड्दा एमाले नै बलियो

दलहरु सिंगल सिंगल लड्दा पनि एमाले बलियो छ भन्ने बझाङको परिणामले देखाएको बझाङको चुनावी कमाण्ड सम्हालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले दाबी गरे ।

उनले भने, ‘यो निर्वाचनको परिणामले सही विचार र दृष्टिकोण लक्ष्य र उद्देश्य भएको राजनीतिक दललाई मात्रै जनताले भरोसा गरेको देखियो । यो चर्चाको कुरा गर्ने र आफ्नो अस्तित्व देखाउन वा अर्कालाई हराउन चुनाव लड्ने, वर्षाको च्याउ जस्तो चुनावको बेलामा उम्रिएका दलहरुलाई पनि जनताले अस्वीकार गरेका छन् ।’

उपनिर्वाचनको परिणामले एमालेले भनेको मिसन ८४ स्थिर सरकारको लक्ष्य पूरा हुने सन्देश दिएको उनले सुनाए ।

नेता थापाले भने, ‘राजनीतिक स्थायित्वसहितको राष्ट्र निर्माणमा योगदान गर्नसक्ने पार्टीलाई अगाडि बढाउने सन्देश हो । एमालेले अगाडि सारेका कार्यक्रमहरुले जनतालाई संगठितमात्रै गरेको छैन । पार्टीप्रतिको भरोसा पनि बढेको छ ।’

त्यसो त यो निर्वाचनको परिणामपछि इलाममा माओवादीले समर्थन नगरेको भए पनि चुनाव जितिने एमालेको समीक्षा छ । माओवादीको मत मुढामा गए पनि एमालेले समेत उल्लेख्य प्राप्त गरेको बताइन्छ ।

पार्टी विभाजन गरेर हिँडेको माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको औचित्य नभएको यो चुनावले पुष्टि गरेको एमाले नेताहरुको विश्लेषण छ । उपनिर्वाचन भएको दुवै क्षेत्रमा नेकपा एसको जमानत जफत भएको थियो । इलाममा त ४०० मत कटाउन सकेन ।

उपनिर्वाचनको नतिजाले नयाँ ध्रवीकरणको सन्देश दिएको महासचिव शंकर पोखरेलले बताएका छन् । यसले सबै दलको औकात र हैसियत पनि देखाइदिएको उनको विश्लेषण छ ।

बर्दिया पुगेका पोखरेलले भने, ‘यो निर्वाचनले नयाँ ध्रवीकरण सुरु भएको छ । एमालेको नेतृत्वमा बलियो राजनीतिक शक्ति निर्माण आवश्यक देखाएको छ ।’

एमाले आफ्नो प्रस्ट राजनीतिक अडान र दृष्टिकोण भएको पार्टी भएको भन्ने कुरा उपनिर्वाचनले प्रस्ट पारेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

उनले भने, ‘एमालेको लक्ष्य र बाटो स्पष्ट छ । कार्यक्रमहरु पनि जनमैत्री छन्, जसका कारण जनतालाई सम्बोधन गर्न आफ्ना कुराहरु राख्ने माध्यम यो चुनावलाई लिएका छौं ।’

इलामको चुनावको नतिजाले एमाले पहिचानविरोधी पार्टी हो भन्ने आरोप लागेको भाष्य चिर्न सफल भएको बताए । उनले एमाले साझा पहिचान भएको पार्टी हो भन्ने सन्देश जनताले दिएको उनको जिकिर छ ।

नेता गौतमले थपे, ‘विकास र समृद्धिप्रति एमालेले सारेका एजेण्डालाई जनताले अनुमोदन गरेका छन् । जनता एमालेको पक्षमा छन् भन्ने कुरा चाहिँ यो निर्वाचनले पुनः पुष्टि गरेको छ । एमालेमाथि लागेको पहिचानविरोधीको आरोपलाई जनताले खारेज गरेका छन् ।

मिसन ग्रासरुट र संकल्प यात्राले पार्टीलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको निष्कर्ष छ । यी अभियानले एमालेलाई थप व्यवस्थित बनाएको र अध्यक्ष ओलीको नेतृत्वमा पार्टी एकताबद्ध बनेको उनको भनाइ छ ।

उनी थप्छन्, ‘हामीले हाम्रो पार्टीलाई सुदृढ र बलियो बनाउने हिसाबले महत्वपूर्ण अभियान चलाएका छौं । यी अभियानले जनतासँग एमाले र एमालेसँग जनतालाई जोड्ने काम गरेको छ । मिसन ग्रासरुट र संकल्प यात्राले यो निर्वाचनलाई लागि निर्णायक भूमिका खेलेको हामीले बुझेका छौं ।’


प्रतिक्रिया

One thought on “मिसन ग्रासरूट र संकल्प यात्रापछि एमालेको प्रदर्शन- व्यवस्थित क्याम्पेन, चुनावी च्याम्पियन

  1. चुनावको संदेश स्पष्ट छ । अब नहौसिकन र विपक्षीको रणनीति बुझेर अघि बढ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर