सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक – Nepal Press

सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक

काठमाडौं । सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक बस्दै छ ।

आज बिहान ९ बजेदेखि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा कार्यदलको बैठक बस्न लागेको हो ।

सहकारी छानबिन गर्ने संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलका सदस्यहरुमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार र रास्वपाका नेता शिशिर खनाल छन् ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको नेतृत्वमा गठित कार्यदलको मंगलबारको बैठकमा गृहमन्त्री रवि लामिछानेको नाम नराखी कार्यादेश बनाउने सहमति नजिक पुगेको थियो ।

कार्यदल बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समितिको कार्यादेशमा सहमति नजिक पुगिएको तर अन्तिम निष्कर्षमा नपुगिएको बताएका  थिए। कांग्रेसले केही समय मागेकाले अन्तिम निष्कर्षमा पुग्न सकेको थिएन ।

कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने तर उनी जोडिएको भनिएका सहकारीको नाम राख्ने गरी सहमति भए पनि कांग्रेस नेताहरू आन्तरिक छलफलका लागि बाहिरिएपछि अन्तिम सहमति बाँकी रहेको थियो ।

कार्यदलमा भएको सहमतिको ड्राफ्ट पार्टीमा बुझाउने र निर्देशन आएपछि सहमतिमा हस्ताक्षर गर्ने तयारी भएको बुझिएको छ ।

संसदीय छानबिन समितिको कार्यादेशका विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिल्न सकेको छैन । सत्तापक्ष रविकाे नाम नराखी कार्यादेश बनाउन चाहिरहेकाे छ भने प्रतिपक्षी  रविकाे नाम राख्नुपर्ने अडानमा  छ । साेही बीचमा  मंगलबार कांग्रेसलाई पेलेर  प्रधानमन्त्रीले विश्वासकाे मत लिएपछि कांग्रेस आक्राेशित बनेकाे  छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर