अछामका जनप्रतिनिधिहरुको एकै स्वर: लैङ्गिक हिंसा अझै कायम छ – Nepal Press

अछामका जनप्रतिनिधिहरुको एकै स्वर: लैङ्गिक हिंसा अझै कायम छ

डोटी । “कुटेरमात्रै लैङ्गिक हिंसा हुँदैन, लैङ्गिक हिंसा बिभिन्न प्रकारहरु छन्, यसलाई रोक्नु जरुरी छ ।” जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुँवरको भनाई हो यो ।

उनी लैङ्गिक हिंसा रोक्नका लागि तीनवटै तहका सरकारबीच समन्वय र सहकार्य हुनु पर्ने बताउँछन् । उनले कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहारले महिलाहरुलाई मानसिक रुपमा हिंसा भईरहेको बताउँदै यसको रोकथाम आवश्यक भएको बताए ।

सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठान, पुन्ना डोटीले आयोजना गरेको अछाममा आयोजना गरेको कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार निवारण सम्वन्धी आचार संहिताको कार्यान्वयनको अनुभव आदान–प्रदान कार्यशालामा प्रमुख कुँवरले कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार रोक्न सेवा प्रदायक र सेवाग्राही दुवै जिम्मेवार हुनु पर्ने बताए ।

कार्यक्रममा मंगलसैन नगरपालिकाका प्रमुख पदमवहादुर बोहराले विगतको तुलनामा महिलामाथि हुने हिंसामा केही कमी आएको भएपनि हिंसाका नयाँ स्वरुप देखिन थालेका बताए । ‘जुन देशमा महिलाहरुको सम्मान हुन्छ, त्यो देशले प्रगति गरेको इतिहास हाम्रो सामु छ’ बोहराले भने ‘हाम्रा जस्ता महिलामाथि हिंसा गर्ने देशहरुले प्रगति गर्न सकेका छैनन् ।’

नगर प्रमुख बोहराले बालबिवाह पनि एक प्रकारको हिंसा भएको बताए । उनले भने ‘विगतमा जस्तो गर्भमै हुँदा मगनी गरेर ७ वर्षकै उमेरमा बिवाह गरिदिने चलन त छैन, तर अहिले पनि बालबिवाह रोकिएको छैन ।’ उनले अहिले केटाकेटीले भागेर बिवाह गर्ने बालबिवाह बढेको र तीनै तहका सरकारका लागि यो चुनौतीको बिषय रहेको बताए । कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार रोक्नका लागि आफ्नो नगरपालिकामा आफु प्रतिवद्ध रहेको बोहराको भनाई छ ।

महिलाहरुमाथि हुने हिंसा रोक्न सामाजिक चेतनाको विकास हुनु जरुरी रहेको जान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष बिन्दु रावल बताउँछिन् ।

उनी भन्छिन् ‘मुखले सबैले लैङ्गिक हिंसा रोकौं भनेर नारा लगाउने गरेका छन्, तर व्यवहारमा त्यसो देखिदैन ।’ लैङ्गिक हिंसा रोक्नका लागि व्यवहार परिवर्तन आवश्यक रहेको उनको भनाई । ‘मञ्चमा भाषण गरेर मात्रै लैङ्गिक हिंसा रोकिदैन, यसका लागि सवैले आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी छ’ उपाध्यक्ष रावल भन्छिन् ‘हिंसा प्रभावित महिलाहरुले पनि खुलेर आउनु पर्छ र हामी सबैले सहयोग गर्नु जरुरी छ ।’

कानुनमै त्रुटी भएका कारण पनि हिंसाका घटनाहरुमा कमी नआएको उपाध्यक्ष रावलको भनाई छ । उनले एक घटनाको प्रसंग कोट्याउँदै भनिन् ‘अदालतले दोषी ठहर गरी कैद सजाय पनि सुनायो तर कैद बरावरको रकम तिरेर अपराधी उम्कियो ।’ कैदको सट्टा पैसा तिरेर बाहिर आउन पाउने कानुन रहेसम्म धनीमानीहरुले कसुर गर्दै जाने खतरा रहेको रावलको भनाई छ । उनी एक दिन भएपनि कैदनै गर्ने गरी कानुन बनाउनुपर्ने बताउँछिन् ।

कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार निवारण गर्ने कानून पर्याप्त नभएको रामारोसन गाउँपालिकाका उपाध्यक्ष सृजनादेवी बुढा बताउँछिन् । ‘कार्यालय प्रमुखलाई व्यवस्थापक मानिएको छ, उनले यौनजन्य दुर्व्यवहार गरेको घटना मिलाउन सक्ने पनि भनेको छ’ उपाध्यक्ष बुढा भन्छिन् ‘त्यसो हो भने त उनले आफ्नो मातहतको कर्मचारीलाई दवाव दिएर पनि मिलापत्र गराउन सक्छन् नि ।’

पञ्चदेवल बिनायकका उपप्रमुख हर्कबहादुर रावल पनि लैङ्गिक हिंसामा खासै कमी नआएको कुरामा सहमति जनाउँछन् । उनी भन्छन् ‘बिगतको तुलनामा त धेरै कमी आएको छ, तर अझै धेरै लैङ्गिक हिंसाका घटनाहरु हुने गरेका छन्, यसलाई रोक्न जरुरी छ ।’ उनले लैङ्गिक हिंसा रोक्नका लागि पञ्चदेवल बिनायक नगरपालिकाले नियमित कार्यक्रमहरु सञ्चालन गरिरहेको दावी गरे ।

ढकारी गाउँपालिकाका उपाध्यक्ष नेत्रकलादेवी शाही बालबिवाह र बहुबिवाह रोक्न निकै चुनौती रहेको बताउँछिन् । उनी भन्छिन् ‘पहिलेको अभिभावकको सहमतिमा बालबिवाह त हुँदैनन् तर केटा र केटी आफै भागेर जाने गरेका छन्, यो ठुलो समस्या छ ।’

कार्यस्थलमा हुने यौनज्य दुव्र्यवहार निवारण आचार संहिताको कार्यान्वयनको अवस्थावारे स्थानीय तहहरुबीच सिकाई आदान प्रदान गर्न कार्यशालाको आयोजना गरिएको प्रतिस्ठानका लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) बिज्ञ राजु नेपालीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *