विश्वभरका बौद्ध शिक्षाका अगुवाहरुहरु दाबी- विश्वव्यापी समस्याको समाधान बौद्ध दर्शनमा छ – Nepal Press

विश्वभरका बौद्ध शिक्षाका अगुवाहरुहरु दाबी- विश्वव्यापी समस्याको समाधान बौद्ध दर्शनमा छ

रुपन्देही । लुम्बिनीमा १४ मुलुकका विज्ञहरु सम्मिलित दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सेमिनार सुरु भएको छ ।

विज्ञहरुले बुद्ध शिक्षाको परिपालनाले अहिले विश्वमा देखिएका गम्भीर समस्यालाई कम गर्न सकिने सुझाएका छन्् । उनीहरुले वातावरणीय असन्तुलन, व्यापारिक प्रतिस्पर्धा, बढ्दो तापक्रम, नयाँनयाँ संक्रमणकालीन व्याधी तथा युद्ध अपराध जस्ता विश्वव्यापी समस्याको समाधान बौद्ध दर्शनमा रहेको दाबी गरे । त्यसैले त्यसको खोजी अपरिहार्य रहेको उनीहरुको भनाइ छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालयद्वारा आयोजित ‘विश्वव्यापी चुनौतीहरुको समाधान सन्दर्भमा बौद्ध शिक्षाको सान्दर्भिकता’ विषयक अन्तर्राष्ट्रिय सेमिनारमा ती अगुवाहरु सहभागी हुन लुम्बिनी पुगेका छन् । सेमिनार उद्घाटन गर्दै ताइवानका भिक्षु मास्टर हुइ गाङ्गले विश्वमा बौद्ध शिक्षाको महत्व बढ्दै गएको बताए ।

उनले बुद्ध शिक्षा आत्मसात गर्नसके जस्तोसुकै कठिनाइ पनि पार गर्न सकिने बताए ।

सेमिनारमा सहभागी विभिन्न देशका बौद्ध भिक्षु तथा विज्ञहरुले विश्वमा व्याप्त प्राकृतिक असन्तुलन, वैमनस्यता र बेमेलको अन्त्य गर्न बौद्ध शिक्षा जीवनोपयोगी बनाउनेगरी प्रवर्द्धन गर्न प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

राष्ट्र तथा व्यक्तिहरुबीचमा असमझदारी, पर्यावरणीय हानिनोक्सानी, युद्ध तथा अपराधको बढ्दो ग्राफ न्यूनीकरण गर्न बुद्धका उपदेशहरुको परिपालना महत्वपूर्ण कडी हुने उनीहरुको भनाइ थियो ।

थाइल्याण्डका प्रा.डा. भिक्षु सुगन्ध (अनिल शाक्य) ले व्यक्तिको जीवनलाई सकारात्मक दिशातर्फ लैजान बुद्धको शिक्षा अनिवार्य रहेको बताए ।

विश्वमा मैत्री, करुणा र शान्ति कायम गर्न बुद्धको शिक्षा महत्वपूर्ण हुने उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. रमेशचन्द्र पौडेलले बौद्ध शिक्षालाई व्यवहारिक रुपमा उपयोग हुनेगरी कार्यान्वयनमा ल्याउनुपर्ने बताए ।

आयोजक विश्वविद्यालयका उपकुलपति सुवर्णलाल बज्राचार्यले बौद्ध शिक्षाको प्रसारमा अन्तर्दृष्टि र दृष्टिकोण साझा गर्न, शैक्षिक र सांस्कृतिक मूल्य मान्यता आदानप्रदान गर्न र बौद्ध मूल्यहरूको विश्वव्यापी प्रवर्द्धनमा योगदान पु¥याउन गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

बौद्धिक विकास मात्र नभई व्यक्तिमा आवश्यक जीवन सीपको विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना उनले जानकारी दिए ।

गोष्ठीमा विभिन्न देशका १४ जना अनुसन्धानकर्ता तथा विज्ञले कार्यपत्र प्रस्तुत गरेका छन् । कार्यपत्र प्रस्तुत गर्दै इस्टोनियाका डा. शोभित शाक्य, बङ्गलादेशका प्रा.डा. विजोय बरुवा, म्यानमारका भिक्षु विनय नन्दले बौद्ध शिक्षा र सुशासनलाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने सम्बन्धमा चर्चा गरे ।

गोष्ठीमा नेपालसहित थाइल्याण्ड, फ्रान्स, इस्टोनिया, म्यानमार, जापान, बंगलादेश, भारत, ताइवान, श्रीलंका, पोर्चुगल, नर्वेलगायतका देशका बौद्ध भिक्षु तथा विज्ञहरुको सहभागिता छ ।

आज बौद्ध दर्शन र योगका विषयमा आचार्य बालकृष्ण, डा. चिन्तामणि योगी, भानु शर्मा, प्रा.डा.विशाल सिटौला, प्रा.डा. क्षितिज बराकोटी र डा. विकासानन्दले बौद्ध दर्शन र योगका विषयमा कार्यपत्र प्रस्तुत गर्ने र कार्यपत्रमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *