पार्टी दर्ताको निवेदनपछि अशोक राई भन्छन्- हामी अस्थिरताको कारक बन्दैनौं, सरकारलाई समर्थन यथावत (भिडिओ) – Nepal Press

पार्टी दर्ताको निवेदनपछि अशोक राई भन्छन्- हामी अस्थिरताको कारक बन्दैनौं, सरकारलाई समर्थन यथावत (भिडिओ)

काठमाडौं । जसपा नेपालका वरिष्ठ नेता अशोक राईले नयाँ दल दर्ताका लागि ७ सांसद र ३० केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

निवेदन दर्तापछि उनले पत्रकारहरुसँग बोल्दै अध्यक्ष उपेन्द्र यादवको गलत कार्यशैलीका कारण पार्टी विभाजन गरेको बताए ।

पत्रकार र नेता राईबीच भएको सवालजवाफः

पत्रकार : तपाईंले पार्टी फुटाउनु भएको हो कि नयाँ दल बनाउन खोज्नुभएको हो ?

राईः यो पार्टी विभाजन नै हो ।

पत्रकारः किन फुटाउन भएको त ?

यस्तो निर्णय गर्नुपर्ने आवश्यकता पर्यो । पार्टी महाधिवेशनको संघरामा छ । महाधिवेशन स्वच्छ र निस्पक्ष ढंगले अगाडि जानुपर्ने हो, तर त्यो विश्वास हामीलाई भएन । धेरै पार्टी नेतामा त्यो अवस्था छ । यस्तो अवस्थामा महाधिवेशन आयोजना गर्दा सबैलाई समेटेर राम्ररी छलफल गरेर,आन्तरिक एकता सुदृढ गरी अगाडि बढ्नु पर्नेमा हतारो गर्ने र विधानमा भएका व्यवस्था मिचेर कुल्चेर अगाडि बढ्ने चेस्टा भयो । यो चिजलाई सहन गरेर जानु उपयुक्त हुँदैन भनेर नयाँ ढंगले पार्टी अगाडि लैजाने अठोट लिएका हौं ।

खासमा अध्यक्षसँग तपाईहरुको असन्तुष्टि केमा हो ?

मुख्य त कार्यशैलीको भिन्नता पनि हो । जसपा नेपालमा उपेन्द्रजीको कार्यशैलीसँग असहमति र भिन्नताले पनि यो परिस्थिति आएको हो ।

जसपाको विभाजनले यो गठवन्धन र सरकारलाई कस्तो प्रभाव पार्छ ?

हामी अस्थिरताको कारक बन्दैनौं । म्यासेज सकारात्मक नै जान्छ ।

यादवले सत्ता समिकरणमा फेरबदल गर्न खोजेकोले तपाईंले यो कदम चाल्नुभएको हो ?

त्यस्तो देखिनेरुपमा केही आएको छैन । नदेखिने रुपमा अलिअलि अभिव्यक्ति भएको हो । हामी अस्थिरता मुलुकको निम्ति हितकर हुँदैन भन्नेमा दृढ छौं । सरकारलाई हाम्रो समर्थन यथावत रहन्छ ।

तर, अहिले पार्टी विभाजनका लागि कानुन नै छैन भन्ने कुरा आएको छ । के आधारमा फुटाउनु हुन्छ ?

हामीले कानूनी सरसल्लाह लिएर नै आएका छौं । अहिले ऐन क्रियाशील नभएको र अध्यादेश खारेज भएको स्थिति भएता पनि अध्यादेशअनुसार २०७८ मा जारी भएको नियमावली खारेज भएको छैन । राजपत्रमा प्रकाशित भइ आजसम्म विद्यमान रहेको नियमावालीलाई नै आधार बनाएका हौं । अर्को, कानूनी रिक्तता भएता पनि संरचनागत रिक्तता होइन । निर्वाचनको सम्वन्धमा, दलहरु दर्ता गर्ने र खारेज गर्ने सम्वन्धमा सर्वाधिकारसम्पन्न आयोग छँदैछ । यो एउटा स्वायत्त अंग पनि हो । कानूनी रिक्तता भएको खण्डमा आयोगको निर्णय अन्तिम हुन्छ र महत्वपूर्ण पनि हुन्छ ।

दलको नाम एउटै छ नि, यस्तो गर्न मिल्छ ?

दलको नाम विभाजन भएपछि मिल्दोजुल्दो भइहाल्छ । जसपा नेपालको ठाउँमा जसपा मात्रै राखेका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर