कोपिला संग्रह ‘नन्दन २’ र ‘सुन्दर बगैंचा’ लोकार्पित


काठमाडौं । कोपिला साहित्य समाजको चौथो वार्षिकोत्सव सम्पन्न भएको छ । बागबजारस्थित हार्दिक होटलमा शनिबार भएको कार्यक्रममा दुईवटा कृतिको विमोचन पनि गरियो ।
कार्यक्रममा संयुक्त कोपिला संग्रह ‘नन्दन २’ र तारा घिमिरेको एकल कोपिला संग्र्रह ‘सुन्दर बगैँचा’ लोकार्पण गरिएको थियो । साहित्य क्षेत्रका विभिन्न अतिथिहरुको उपस्थिति रहेको समारोहमा कोपिला डाली वाचन पनि गरिएको थियो ।
त्यस्तै, कोपिला मालीद्वय सुरेश घिमिरे र अमेरिकास्थित प्रभा पोखरेललाई सम्मान गरिएको थियो । उनीहरुलाई जनही पाँच हजार नगद पुरस्कारले सम्मान गरिएको थियो । प्रभाको पुरस्कार बहिनी बहिनी निर्मला दाहाल ढुङ्गानाले ग्रहण गरेकी थिइन् ।
त्यस्तै, साहित्य चौतारी जापान शाखाद्वारा कोपिला र मुक्तक प्रशिक्षक कोपिला आविष्कारक गिरिराज डल्लाकोटीलाई नेपाल च्याप्टरकी अध्यक्ष विन्दा पराजुलीले सम्मान गरेकी थिइन् ।
गिरिराज डल्लाकोटीको सभापतित्वमा भएको कार्यक्रममा प्रा.डा हेमनाथ पौडेलको प्रमुख आतिथि थिए भने रामबहादुर पहाडी, बमबहादुर थापा जिताली, वेदमणि घिमिरे र गङ्गा लिगलको विशिष्ट अतिथिको रुपमा रहेका थिए ।
कार्यक्रम गणेश लोहनीले सञ्चालन गरेका थिए ।
कोपिला थोरै शब्दमा धेरै कुरा भन्न सकिने नेपाली साहित्यको सटिक विधा हो । साहित्यकार डल्लाकोटीको सक्रियतामा सुरु यस विधाले पछिल्लो समय चर्चा पाइरहेको छ ।