भुईंमा बसेर अन्तिम परीक्षा दिँदै दैलेखको महावुका विद्यार्थी – Nepal Press

भुईंमा बसेर अन्तिम परीक्षा दिँदै दैलेखको महावुका विद्यार्थी

सुर्खेत । दैलेखको महावु गाउँपालिका-४ गीताचौरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरु भुईंमा बसेर अन्तिम परीक्षा दिइरहेका छन् । विद्यालयको नयाँ भवन हुँदा पनि विद्यार्थीहरु भुईंमा बसेर परीक्षा दिन बाध्य भएका हुन् ।

विद्यार्थीहरु कोही कोठाका भुईंमा, कोही पेटीमा त कोही चौतारामा बसेर परीक्षा दिइरहेका हुन् । संघीयता आएपछि माध्यमिक तहसम्मका विद्यालय स्थानीय तहको अधिकारभित्र आएका छन् । तर, भुईंमा बसेर परीक्षा दिनुपर्ने दृश्यले स्थानीय तहका जनप्रतिनिधिहरुको क्षमता उजागर गरिरहेको छ ।

पर्याप्त भौतिक संरचना नभएका मात्रै होइन, नयाँ भवन बनेका उक्त पालिकाका अधिकांश विद्यालयका विद्यार्थीहरु पनि भुईंमा बसेर परीक्षा दिइरहेका छन् । विद्यालय भवन बने पनि डेस्क–बेन्चको व्यवस्था नहुँदा भुईंमा राखेर परीक्षा लिनुपर्ने बाध्यता परेको शिक्षकहरु बताउँछन् ।

‘भवन नयाँ बनेको छ । तर, फर्निचरको अभाव छ’, नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक केशव सिंहले भने, ‘पालिकालाई फर्निचर व्यवस्था गर्न बजेट मागेको यो वर्ष छैन, अर्को वर्ष छुट्याउने आश्वासन दिएको छ ।’

डेस्क-बेन्च व्यवस्था नहुँदा दुई वर्षदेखि विद्यार्थीहरुलाई भुईंमै बसाएर पढाउने र परीक्षा लिने गरिँदै आएको प्रधानाध्यापक सिंहले बताए ।

उनका अनुसार घाम लागे त्यति समस्या हुँदैन, पानी परे हिलोमै पठनपाठन गराउनुपर्ने बाध्यता छ ।

महावु गाउँपालिका-४ का वडाध्यक्ष रामबहादुर शाहीले बजेट नहुँदा डेस्क बेन्च व्यवस्था गर्न नसकिएको स्वीकार गरे ।

‘अब आउने आर्थिक वर्षमा बजेट पार्ने गरी लागेका छौं’, उनले भने, ‘विद्यालयमा शिक्षक पनि अभाव थियो । अहिले यो समस्या समाधान गरेका छौं । भवन अभाव थियो, निर्माण भएको छ । अब फर्निचरको अभाव पनि छिट्टै समाधान गर्नेछौं ।’

वडाले विद्यालयलाई प्रत्येक आर्थिक वर्षमा ३ लाख रुपैयाँ बजेट छुट्याउँदै आएको वडा अध्यक्ष शाही बताउँछन् ।

गाउँपालिकामा रहेका धेरै विद्यालयका भवन पुरानै र फर्निचर अभाव रहेको महावु गाउँपालिकाको शिक्षा शाखा अधिकृत कृष्णबहादुर वली पनि स्वीकार गर्छन् ।

‘योजनामा भवन पर्छ । तर, फर्निचर पर्दैन’, शिक्षा शाखा अधिकृत वलीले भने, ‘फर्निचर पालिकाबाट व्यवस्था गर्नुपर्ने हुन्छ । बजेट अभावका कारणले विद्यार्थीहरुलाई भुईंमै बसाएर परीक्षा लिनुपर्ने बाध्यता छ ।’

संघीय सरकारमार्फत महावुमा शिक्षालाई भनेर चालू आर्थिक वर्षमा १२ करोड ४४ लाख बढी बजेट छुट्याइएको छ । गाउँपालिका आफैंले पनि २ करोड बजेट छुट्याएको छ । तर, पाठ्यक्रम, छात्रवृत्ति, बाल विकास सहजकर्ता, कार्यालय सहयोगीको तलबभत्तामा ती बजेट खर्च हुँदै आएको पालिकाले जनाएको छ ।

पालिकाबाट विद्यालयहरुमा ६६ जना शिक्षक अनुदान दिइएको छ । त्यस्तै कार्यालय व्यवस्थापन र अनुदानमा बजेट छुट्याइएको छ । तर, विद्यार्थीका लागि डेस्क बेन्चमा बजेट व्यवस्था नभएको शिक्षकहरु बताउँछन् ।

विद्यालयमा ३०३ जना विद्यार्थी छन् । १६ जना शिक्षकको दरबन्दीमा बालविकास शिक्षक एक, स्थायी अनुदानबाट ३ र वडा अनुदानबाट २ तथा कर्मचारी एक गरी १६ जना कार्यरत छन् ।

महाबुँ गाउँपालिका- ३ स्थित मालिका माध्यमिक विद्यालयका विद्याथीहरुको पीडा पनि उस्तै छ । यहाँका विद्यार्थी पनि भुईंमा बसेर अध्ययनसँगै अहिले अन्तिम परीक्षा दिइरहेका छन् ।

कक्षा कोठामा डेस्क बेन्चको व्यवस्था नभएपछि विद्यार्थीले भुईंमा बसेर परीक्षा दिनुपरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर