गगनको प्रस्ताव- कांग्रेस महाधिवेशनमा घोषित रूपमा प्यानल बनाउन नपाउने व्यवस्था गरौं – Nepal Press

गगनको प्रस्ताव- कांग्रेस महाधिवेशनमा घोषित रूपमा प्यानल बनाउन नपाउने व्यवस्था गरौं

‘सरकारले कांग्रेसलाई पछ्याइहाल्छ, केही समयमै फर्किन्छौं’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्रको विवाद समाधान गर्नको लागि वैधानिक व्यवस्था परिवर्तन गर्नको लागि बहस गर्नुपर्ने बताएका छन् । संवाद यात्राको क्रममा कपिलवस्तु पुगेका महामन्त्री थापाले पार्टीभित्रको गुटबन्दी अन्य गर्नका लागि महाधिवेशन, महासमिति र केन्द्रीय समितिमा घोषित रुपमा प्यालन बनाएर चुनाव लड्न नपाउने व्यवस्था गर्न प्रस्ताव गरे ।

उनको भनाइ जस्तोको तस्तै-

कांग्रेसको क्रियाशील सदस्य अहिले जसरी बाँडिरहेका छौं यो तरिकाले दिने वा यसलाई बदल्ने, पार्टीको सदस्यता लिने कुरामा अनुदार नबनौं-नरोकौं, अरु पार्टीले फर्म भर्नासाथ सदस्यता दिन्छ । अनि कांग्रेसमा चाहिँ तीन पुस्ता खुलाउनुपर्ने, कुर्नुपर्ने, त्यसैले अब जोजो सदस्य बन्न चाहन्छन् नरोकौं । तर, कांग्रेसको सदस्य बनिसकेपछि निश्चित मापदण्ड पूरा गरिसकेपछि मात्रै पार्टीको जिम्मेवारी लिन पाउनुपर्छ । अन्य पार्टीबाट आएकाहरूकाको हकमा छुट्टै होला ।

हामीले केन्द्रीय सभापतिदेखि वडासम्म सबैको चुनाव गर्छौँ सबै तह, ६७४३ वडा सभापति त्यसको दोब्बर वडा सचिव । माथिदेखि तलसम्म चुनाव गर्छौँ । अनि हाम्रो दिमागमा पार्टीको चुनावमात्रै रहन्छ । त्यसैले पार्टीको सभापति छानेर त्यसलाई चार वर्ष चलाउन दिने, उसैले चलाओस् । सबै जिम्मेवारी उसैको होस् ।

पार्टीको महाधिवेशन, महासमिति, केन्द्रीय समिति कुनै पनि ठाउँमा चुनाव लड्दा कसैले पनि घोषितरूपमा प्यानल बनाएर गुट बनाएर लिष्ट बनाएर चुनाव लड्न नपाउने, जसले निर्वाचन लड्नुपर्ने छ आआफैं लड्छ ।

अर्को पार्टीको उम्मेदवार कसले छान्ने ? अहिले इलाम २ मा चुनाव हुँदैछ । ७ जना सिफारिस भएर आउनुभएको छ एकजनालाई छानेपछि ६ जनाले ममाथि अन्याय भयो भनिहाल्नुहुन्छ । सभापतिले १९ गते बैठक बोलाउनुभएको छ । त्यसैले शेरबहादुर, देउवा र गगनले होइन । त्यहाँकै कार्यकर्ताले उम्मेदवार छान्ने व्यवस्था गरौं ।

उनले अहिले देखिएको निराशाबाट एमाले, माओवादी र नयाँ दलले बाहिर निकाल्न नसक्ने दाबी गरे ।

महामन्त्री थापाले भने- ‘मैले कांग्रेसको कार्यकर्ता भएकाले आत्मप्रशंसा गरेको होइन । तर, कांग्रेसले मात्रै सक्छ । नयाँ पार्टीसँग त हल्ला गर्ने क्षमता मात्रै छ । यसलाई सम्हालेर निराशाबाट बाहिर निकाल्ने क्षमता कांग्रेसले मात्रै हो । तर, त्यो बाहिरभन्दा कांग्रेसभित्र धेरै निराशा भएकाले अहिले सकिरहेको छैन । अहिले सरकारमा छैनौं । भर्खरै त गएको हो । फेरि आइहाल्छ धेरै पनि छैन । सरकारले कांग्रेसलाई त पछ्याइहाल्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर