मध्य चैतमा पनि काठमाडौंमा जाडो, कहिले खुल्छ मौसम ? – Nepal Press

मध्य चैतमा पनि काठमाडौंमा जाडो, कहिले खुल्छ मौसम ?

काठमाडौं । आज बिहानैदेखि काठमाडौंलगायत विभिन्न ठाउँमा पानी पर्‍यो । बिहानैदेखिको झरीले रुझाएको मात्र छैन जाडो पनि बढेको छ । झरीले पुस माघमा हुने जाडोको झल्को दिइरहेको छ ।

काम विशेषले घरबाट निस्किएकाहरू चैतको मध्यमा बाक्लो ज्याकेट, स्विटर लगाएर हिँड्नुपरेको छ । नयाँ बानेश्वर चोकको चिया पसलमा भेटिएकी प्रतिमा लिम्बु जाडो भगाउन साथीहरूसँग चिया पिउन आएकी थिइन् । चिया पसलमा भेटिएका अधिकांशको एउटै प्रश्न थियो ‘आज कति चिसो बढेको हो । पुस माघमा जस्तो ।’

यस वर्ष हिउँदयाम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि फागुन १३ मा राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । सामान्यतया नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ ।

तर हिउँदयाम सुरु भएको तीन महिनापछि अर्थात् फागुन १३ गते देशभर वर्षा भयो । हिउँद सकिनुअघि जम्मा एक दिन प्रि – मनसुनमा जस्तो हिउँदे वर्षा भएको थियो ।

मौसमी भाषामा यो वर्षालाई हिउँदे वर्षाकै रूपमा लिइन्छ । तर, यो वर्षा प्रि-मनसुनको जस्तो मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा भएकाले मौसमविद्हरू नै ‘हिउँदे वर्षा भन्नु कि प्रि-मनसुन भन्न’ द्विविधामा परेका थिए ।

तर मङ्सिर १५ देखि फागुन १५ सम्म हिउँदे वर्षाकै रूपमा गणना गरिने भएकाले फागुन १३ गते भएको वर्षा हिउँदे वर्षा नै भएको मौसमविद्हरूको भनाइ छ । हिउँदमा वर्षा न्यून हुँदा पुस माघमा जाडोको महसुस भएन ।

नेपालमा मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि-मनसुन मानिन्छ । यो वर्ष फागुन १६ सम्मलाई हिउँदयाम मानिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका शाखा प्रमुख वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले बताइन् । मौसमविद् कँडेलका अनुसार यो वर्षको हिउँदयामभरिको रेकर्डमा जम्मा १२ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । हिउँदमा सरदर ६० दशमलव १ मिलिमिटर वर्षा हुन्छ ।

मौसमविद् कँडेलले पश्चिमी वायुको सक्रियता र क्षमतामा ह्रास आएका कारणले हिउँदे वर्षा पर्याप्त हुन नसकेको बताउँछिन् ।

उनले भनिन्, ‘पूर्वी प्रशान्त महासागरमा विकसित जलवायु प्रणाली विपरीत दिशातर्फ अर्थात् भूमध्य रेखाको आसपास गएकाले समुद्रको पानी तात्नुपर्नेमा चिसो हुँदै गएकाले जलवाष्पको मात्रा जुन किसिमले विकसित हुनुपर्ने हो त्यो नहुँदा नेपालतर्फ पश्चिमी वायुको प्रभाव कम देखिएको हो ।’

फागुन १५ यता जाडो सकिएर प्रि-मनसुन सुरु भएको छ । हिउँद सकिएर वर्षायाम सुरु हुनु अघिको तीन महिना प्रि- मनसुन हुन्छ ।

प्रि-मनसुन अवधिमा सामान्यतया दिनभर घाम लाग्ने अपराह्नमा मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षासाथै असिना पानी पर्नै हुने गर्दछ । अहिले प्रि- मनसुन चलिरहेको छ ।

फागुन लागेपछि बिस्तारै तापक्रम बढ्दै गएर गर्मी सुरु हुन्छ । तर यो प्रि-मनसुनको अवधिमा गर्मी बढ्नुको साटो चिसोसँगै झरी जस्तो वर्षा भइरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले वर्षा अलिकति कम भएको छ । पछिल्लो २४ घण्टामा देशभर बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।

कोशी बागमती, मधेश र गण्डकी प्रदेशमा हल्का वर्षा भएको छ । मधेश, सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भएको छ । मधेशमा हल्कादेखि मध्यम खालकै वर्षा भएको मौसमविद्ले बताएका छन् ।

अहिले नेपालमा स्थानीय वायुको धेरै प्रभाव रहेको छ । साथसाथै बङ्गालको खाडीबाट मस्चर्ड आइरहेको र अरब सागरबाट पनि थोरै मस्चर्ड आउनुको साथै स्थानीय रूपमा नै वायुहरू बनेको मौसमविद् सञ्जीव अधिकारीले बताए ।

अहिले स्थानीय वायु विकास भएर वर्षा गराउने सिजन पनि भएकाले तत्कालै एक दुई दिनमा मौसम सुधार हुने अवस्था रहेको उनले बताए । आगामी तीनदिन सम्म पनि साधारणतया बदली भई ठाउँ ठाउँमा पानी पर्ने मौसमविद् अधिकारीले बताए ।

उनले भने, ‘शनिवारसम्म मौसम सफा हुने खासै देखिँदैन । बदली हुने सम्भावना छ । आज झरी जस्तो पनि महसुस भयो । झरी केही कम हुन सक्छ । केही समय रोकिए पनि बादलहरू लाग्ने, अपराह्नतिर पानी पर्ने तीन दिनलाई हुन सक्छ । निरन्तर पानी परिरहेन चाहिँ होइन ।’

उनका अनुसार प्रि-मनसुनको विशेषता भनेको दिनभरि घाम लाग्ने र साँझपख चट्याङसहित वर्षा हुने हो । तर बङ्गालको खाडीबाट पनि केही जलवाष्पयुक्त हावाहरु आएर र मनसुनको न्यूनचापीय रेखाहरू पनि पूर्वी भू-भागमा बनेकाले अनवरत रूपमा जलवाष्पहरु भित्रिँदा लामो समय पानी परेको हो ।

तर त्यो न्युनचापीय रेखा त्यति शक्तिशाली नभएकाले पानी परे पनि भारी वर्षा सबै ठाउँमा नभएको उनको भनाइ छ । यदि यो रेखा शक्तिशाली भएको खण्डमा कोशी र मधेश प्रदेशमा भारी वर्षा हुनुपर्ने थियो । तर यी प्रदेशमा भारी वर्षा नभएको उनले बताए ।

उनका अनुसार गण्डकी र बागमतीका एक दुई स्थानमा भारी वर्षा हुनुको कारण स्थानीय वायुको प्रभाव हो । त्यस कारणले प्रि-मनसुनमा हुँदै नभएको पानी पर्‍यो भनेर भन्न अनुपयुक्त हुने उनको बताउँछन् ।

काठमाडौंमा हिजो बेलुका र आज बिहान वर्षा भएकाले झरी भन्ने मिल्ने मौसमविद् अधिकारले बताए ।

अहिले धेरै ठाउँमा पानी पर्न कम भएको छ । तर आकाश बादलले नै ढाकेको छ । देशभर नै अहिले कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा बदलीको अवस्था रहेको छ । बेलुका फेरि पानी पर्न सक्छ । बाँकी पश्चिमी भूभागमा आंशिक बदलीको अवस्था छ । प्रि-मनसुनमा कहिलेकाहीँ झरी पर्नु सामान्य भएको र आश्चर्य मान्नुपर्ने कारण नभएको उनी बताउँछन् ।

अहिले औसत भन्दा कम तापक्रम मापन भइरहेको छ । यतिखेर गर्मी हुँदा धेरै नै तापक्रम हुने सिजन हो । महाशाखाले तीनको मात्र मौसमको पूर्वानुमान गर्दै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *