मानव बेचबिखनविरुद्ध शक्ति समूह र न्यायाधीश समाजको सहकार्य, न्याय प्राप्तिलाई सहज बनाउन जोड – Nepal Press

मानव बेचबिखनविरुद्ध शक्ति समूह र न्यायाधीश समाजको सहकार्य, न्याय प्राप्तिलाई सहज बनाउन जोड

काठमाडौं । मानव बेचबिखनजस्तो अपराधलाई न्युनिकरण गर्ने र अपराधमा संलग्नलाई दण्डित गर्दै पीडितलाई न्याय दिलाउने सन्दर्भमा न्यायाधीशहरुले एकै ठाउँमा भेला भएर छलफल गरेका छन् ।

न्यायाधीश समाज नेपाल र शक्ति समूहले शुक्रवार र शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सर्वोच्च अदालतसहित उच्च,विशेष र जिल्ला अदालतका न्यायाधीशहरु सहभागी थिए ।

मानव बेचबिखनविरुद्धको अभियानमा न्यायाधीश समाज आफैं आयोजक बनेर न्याय सम्पादनमा संलग्न न्यायाधीश र सरोकारवालाहरुबीच गरेको यो सम्भवतः पहिलो छलफल हो । यसबाट मानव बेचबिखनका मुद्दाको संवेदनशीलताबारे थप चासो बढेको आयोजकले जनाएको छ ।

गोष्ठीको उद्घाटन गर्दै सर्बोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले मानव बेचबिखनजस्तो अपराधबाट सबैभन्दा पीडित महिला नै रहेको र न्याय प्राप्तिमा पनि निकै संघर्ष गर्नुपरेको बताइन् ।

चरिमाया तामाङको उदाहरण दिँदै न्यायाधीश मल्ले मानव बेचबिखन नियन्त्रण गर्ने,न्युनिकरण गर्ने र यस्ता अपराधहरुको मुद्दा न्यायिक प्रक्रियाबाट चाँडै टुंगो लगाई पीडितलाई न्याय पाएको महशुस गराउने विषय नै आज सबैको प्राथमिकता हुनुपर्ने बताइन् ।

न्यायाधीशहरुले मानव बेचबिखनको अवस्था र यसबाट प्रभावितहरुको कुरा समेत सुनेपछि न्याय सम्पादनमा थप बल पुग्ने उनको भनाइ थियो । न्यायाधीश समाजका महासचिव तथा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरले शक्ति समूहजस्तो मानव बेचबिखन प्रभावितहरुले नै स्थापना गरेको संस्थासँग न्यायाधीश समाजले सहकार्य गर्नुको उद्देश्य पनि बेचबिखन प्रभावितहरुको न्याय प्राप्तिको प्रक्रियाबारे छलफल होस् भन्ने रहेको बताए ।

कार्यक्रममा शक्ति समूहकी संस्थापक चरिमाया तामाङले २०५२ सालमा आफूहरु बम्बैका कोठीबाट उद्दार भएपछि नेपाल आउनका लागि गर्नुपरेको संघर्षदेखि घटनाक्रम न्यायाधीशहरुलाई सुनाउँदै अहिले निकै सहज हुँदै गएकी बताइन् ।

कार्यक्रममा आवर संस्थाका कन्ट्री डाइरेक्टर एलिस क्रिष्टोफरलगायत सहभागी थिए । दुई दिनको छलफलका क्रममा नेपालमा मानव बेचबिखनको पछिल्लो अवस्था,उद्दार स्वदेश फिर्ती तथा पुनस्र्थापनाको समस्यादेखि पीडित केन्द्रित अनुसन्धानलगायतका विषयमा छलफल भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *