फलोअपः उत्तरपुस्तिकाको पोको हराएपछि बीए जनसंख्याको पुन: परीक्षा लिँदै त्रिवि – Nepal Press

फलोअपः उत्तरपुस्तिकाको पोको हराएपछि बीए जनसंख्याको पुन: परीक्षा लिँदै त्रिवि

काठमाडौं । त्रिभुवन विश्वविद्यालय स्नातक तह (बीए) प्रथम वर्षको जनसंख्या विषयको उत्तरपुस्तिका हराएपछि पनिका रिजल्ट निकाल्ने बेला पुन: परीक्षाको तयारीमा जुटेको छ ।

पनिकाले पुन: परीक्षा गराउन क्याम्पसमा निर्देशन दिएको छ । उक्त निर्देशन लिखित नभई पनिकाले चलाख्याइँ गर्दै मौखिकरूपमा गरिएको छ ।

पनिकाको निर्देशनअनुसार भन्दै क्याम्पसहरूले जनसंख्या तथा स्वास्थ्य (POP422) विषयको परीक्षा यही चैत २१ गते बिहान ७ देखि १० बजेसम्म सञ्चालन गर्न क्याम्पसहरूले परीक्षार्थीलाई खबर गर्न थालेका छन् ।

चितवन रत्ननगरस्थित शहीद स्मृति बहुमुखी क्याम्पसका परीक्षा प्रमुख शैलेश श्रेष्ठले पनिकाका सहायक कन्ट्रोलरले फोन गरेर पुन: परीक्षा चलाउन निर्दशन दिएको बताए ।

उनले नेपाल प्रेससँग भने ‘किन कसो हो, केही भनिएन । हामीकहाँ फोन गरेर विद्यार्थीलाई बोलाएर परीक्षा लिनू भन्ने निर्देशन आयो । माथिको कुरा मान्नैपर्‍यो ।’

गत वैशाखमा लिइएको जनसंख्याको उत्तरपुस्तिकाको पोकै सम्परीक्षण गर्नुअघि हराएको थियो । उत्तरपुस्तिका हराएपछि गुपचुप छानबिन समिति बनाएर पुन: परीक्षा चलाउन लागिएको समाचार नेपाल प्रेसले प्रकाशित गरेको थियो । एकलट परीक्षण भएको उत्तरपुस्तिका सम्परीक्षकले २० प्रतिशत (र्‍याण्डम्ली) पुन: जाँच गर्छन् । स्रोतका अनुसार देशभरबाट ल्याइएको १६५ वटा उत्तरपुस्तिकाको पोका हराएको हो ।

यो पनि पढ्नुस् : त्रिविमा अर्काे लफडा- बीएका परीक्षार्थीकाे उत्तरपुस्तिकाकाे पाेकै हरायो, गुपचुप छानबिन गरिँदै

पनिकाले सम्बन्धित क्याम्पसलाई पत्राचार गरेर पुन: परीक्षा गराउन निर्देशन गरेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *