त्रिविमा अर्काे लफडा- बीएका परीक्षार्थीकाे उत्तरपुस्तिकाकाे पाेकै हरायो, गुपचुप छानबिन गरिँदै – Nepal Press

त्रिविमा अर्काे लफडा- बीएका परीक्षार्थीकाे उत्तरपुस्तिकाकाे पाेकै हरायो, गुपचुप छानबिन गरिँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को लापरवाहीले विद्यार्थीले सास्ती भाेग्नु कुनै नौलो कुरा होइन । पछिल्लो समय विद्यार्थीको भविष्यसँग गाँसिएको यस्तै लापरवाहीको सूची परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले फेरि थपेको छ । रिजल्ट निकाल्ने बेलामा उत्तरपुस्तिका नै हराएपछि यतिखेर तनावमा छन् यहाँका कर्मचारी ।

पनिकामा स्नातक तह (बीए) प्रथम वर्षको जनसंख्या विषयको उत्तरपुस्तिका हराएको हो । गत वैशाखमा भएको जनसंख्याको उत्तरपुस्तिका सम्परीक्षण गर्नुअघि नै हराएको स्रोत बताउँछ । एकलट परीक्षण भएको उत्तरपुस्तिका सम्परीक्षकले २० प्रतिशत (र्‍याण्डम्ली) पुन: जाँच गर्छन् । स्रोतका अनुसार देशभरबाट ल्याइएको १६५ वटा उत्तरपुस्तिकाको पोकै सम्परीक्षण गर्नुअघि हराएको छ ।

उत्तरपुस्तिका हराएको विषयमा छानबिनका लागि पनिकाले इतिहास विभागका प्रमुख ईश्वरी कँडेलको संयोजकत्वमा छानबिन समिति बनाएको छ । समितिलाई प्रतिवेदन बुझाउन एक साताको समय सीमा दिइएको छ ।

पनिकाले उक्त विषयको गुपचुपरूपमा पुन: परीक्षा गराउने गरी गृहकार्य थालिएको छ ।

‘सूचना निकालिरहने कुरा भएन । सम्बन्धित क्याम्पसमै जति परीक्षार्थी छन् त्यहीअनुसार पपुलेसनको प्रश्नपत्र पठाएर जतिसक्दो छिटो परीक्षा चलाउँछौं । रिजल्टको टाइम आइसक्यो’, ती अधिकारीले नेपाल प्रेससँग भने ।

के भन्छ पनिका ?

उत्तरपुस्तिका हराएको विषय सामसुम पारेर पनिका गुपचुप जाँच गराई समस्या पन्छाउने कोसिसमा लागेको थियो । उत्तरपुस्तिका हराएको विषयमा हामीले पनिका प्रमुख पुष्पराज जोशीलाई सोध्यौं । उनले सुरूमा आफूलाई थाहा नभएको भन्दै कसले भन्यो ? भनी उल्टै सोधे । बुझेर खबर गर्ने बताएका उनले आज पुन: सम्पर्क गर्दा कपी हराएको स्वीकारेका छन् ।

‘हो मिस्डप्लेस भएछ भेटिएला । हामी खोज्दैछौं । के गर्ने भनेर सल्लाह हुँदैछ’, जोशीले नेपाल प्रेससँग भने ।

उनका अनुसार कँडेल नेतृत्वको छानबिन समितिले आज प्रतिवेदन बुझाउनेछ ।

पोहोर पनि हराएको थियो कपी

पनिकाले गत वर्ष झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराइदिएको थियो । चारवर्षे बीबीएसको चौथो वर्षको रिजल्ट निकाल्ने बेलामा उत्तरपुस्तिका नै हराएपनि पुन: परीक्षा लिइएको थियो ।

२०७८ पुस २७ गते लिइएको ‘बिज्नेस रिसर्च मेथड्स’ को उत्तरपुस्तिका हराएपछि २०७९ पुस २४ गते पुनः परीक्षा लिइएको थियो । एक वर्ष बित्दा पनि रिजल्ट नआएको भन्दै विद्यार्थीले आन्दोलनसमेत गरेका थिए । त्यतिखेर दमक क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका जाँच्नका लागि लैजाँदै गर्दा त्रिविकै एक शिक्षकले हराइदिएका हुन् । जाँच लिएको ५ दिनमै नतिजा सार्वजनिक गरिएको थियो ।

दमक बहुमुखी क्याम्पसलाई पुनः परीक्षा लिनुपर्नाको कारण खुलाइएको थिएन । यसअघि पनि पटकपटक उत्तरपुस्तिका हराउने, मिस्डप्लेस हुने भएपनि गल्ती गर्ने कारबाहीबाट उम्किरहेको गुनासो बढेको छ ।


प्रतिक्रिया

4 thoughts on “त्रिविमा अर्काे लफडा- बीएका परीक्षार्थीकाे उत्तरपुस्तिकाकाे पाेकै हरायो, गुपचुप छानबिन गरिँदै

  1. हामीले देको ४ बर्षे स्नातक तह B.sc तेस्रो बर्ष को परीक्षा देको झन्डै ९ महिना पुग्यो, रिजल्ट को अत्तो पत्तो छैन, १ बर्ष करोना ले खायो, १ बिषय back भयो, त्यो एउटा बिषयको लागी कुरिरहदा यसपालिको सायद teaching liscense भर्न पौडिन होला, liacense कहिले निकाल्ने कहिले शिक्षक सेबा आयोग मा भिड्ने, कहिले १ बर्षे B.ed गर्ने l २८ बर्ष पुग्न लागे जिन्दगीको खबर थाहा छैन, कमाउनु कहिले त्यो पनि थाहा छैनl लापरबाही पनि यति छ की न बिद्यार्थीको बारेमा सोच्छ की भोलिला दिन कुन मोड लिन्छ उसको जिन्दगी, गालि गर्न मन् छ सबै कर्मचारी हरुको मुख मा तर बिबस छु १ बिषय को लागी,

  2. Yesto vaner kha hunx ni aru ko galti jaile student le vognu parne??? K saro careless??? Paisa line bela time ma line ani aile paper harayo vanda hunx? Jaile jaile paxadi jane tu? Khatam hami student ko life tu le khatam pardisako na future na present kei xaina yo desh ma

  3. माथिल्लो निकायको चाई मनमर्जी चल्ने ??? विद्यार्थी सधैं एउटै विषयको परीक्षा दिन को तयार भयेर बस्छ ??? तिमरको जस्तो मनमर्जि मा चल्छ त्यस्तै चलाउ हामी परीक्षा दिन तयार छैनौं लापरबाही TU को हो उ आफै जिम्मेवार हुनुपर्छ यो विषय मा हामीलाई हाम्रो विषयमा चित्तबुझ्दो अंक सहित रिजल्ट प्रकाशीत गर्नु पर्यो यही प्रतिबद्धता मेरो🙏🙏

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर