पालिकाले बाँडेको सेनिटरी प्याड छात्राद्वारा अस्वीकार, गुणस्तरहीन हुनुको पछाडि यस्तो कारण – Nepal Press

पालिकाले बाँडेको सेनिटरी प्याड छात्राद्वारा अस्वीकार, गुणस्तरहीन हुनुको पछाडि यस्तो कारण

चितवन । चितवनका स्थानीय तहहरूले सामुदायिक विद्यालयहरूलाई दिएको महिनावारी प्याड कमसल भएको कारण विद्यार्थीहरूले नै प्रयोग गर्न इन्कार गर्ने गरेका छन् ।

यहाँका सात स्थानीय तहमध्ये अधिकांश स्थानीय तहले टेन्डर वा कार्यादेश दिएर वितरण गरिएका महिनावारी प्याड कमसल भएको पाइएको हो ।

जिल्लाको सबैभन्दा ठूलो भरतपुर महानगरले वितरण गरेको महिनावारी प्याड प्रयोग नगर्ने भनेर महानगरमा नै विद्यार्थीको तर्फबाट विद्यालयहरूले गुनासो गरेका छन् ।

भरतपुरको विद्यार्थी धेरै रहेको विद्यालय नारायणी नमुना माध्यमिक विद्यालयले महानगरमा नै गुनासो गरेका महानगरका शिक्षा महाशाखा प्रमुख महेन्द्र पौडेलले बताए ।

नारायणी नमुना माध्यमिक विद्यालय मात्रै होइन अन्य विद्यालयका विद्यार्थीहरूले समेत महिनावारी प्याड प्रयोग रगत नसोस्ने, एलर्जी हुने समस्या रहेको गुनासो गर्ने गरेका छन् ।

कालिका नगरपालिकाको जनहित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरूले गत वर्ष महिनावारी प्याड प्रयोग गर्नै मानेनन् ।

कालिका नगरपालिकाबाट कार्यादेश लिएर विद्यालयका विद्यार्थीहरूलाई वर्षभरि ४६ हजार रुपियाँ बराबरको प्याड पठाएको सप्लायर्सले उपलब्ध गराएको प्याड लगाउनै विद्यार्थीले नमानेका विद्यालयकी फोकल पर्सन शिक्षक कमला पाण्डेले बताइन् ।

उनका अनुसार उक्त प्याडमा गम नभएको कारण पेन्टीमा नटाँसिने र रगत पनि नसोस्ने समस्या भएपछि विद्यार्थीले प्रयोग गर्नै आनाकानी गर्ने गरेका थिए ।

‘रगतै नसोस्ने भएपछि त हामीले नानीहरूलाई दुई वटाका दरले पनि दिने गर्‍यौँ, उनले भनिन्, ‘विद्यालयहरूमा पठाइएको महिनावारी प्याड गुणस्तरका पनि छैनन् ।’

यस वर्ष भने प्याड नै विद्यालयले किनेको छैन । उक्त विद्यालयका प्रधानाध्यापक भरतराज रेग्मीका अनुसार यस पटक भने नगरपालिले बजेट नै पठाएको छैन । सोझै विद्यालयमा महिनावारी प्याड त नपठाउन नै भनेर लिखित पत्र नै नगरपालिकालाई पठाएको रेग्मीले बताए ।

भरतपुरको कविलास माध्यमिक विद्यालयमा पनि कमसल प्याडका कारण विद्यार्थीहरूले विद्यालयमा प्राप्त प्याड नै प्रयोग गर्न छोडेका थिए । पछिल्लो समय भने नगरपालिकाले गुनासो सम्बोधन गर्न सिधै विद्यालयलाई महिनावारी प्याड किन्ने रकम उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक सिताराम मोक्तानले बताए ।

सरकारले निर्धारण गरेकोमा महिनावारी प्याड खरिद गर्ने मापदण्डका कारण प्याड कमसल पर्ने गरेको भरतपुर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख पौडेल बताउँछन् ।

महिनावारी प्याड कमसल परेपछि महानगरका उपप्रमुखको संयोजकत्वमा रहेको महिनावारी प्याड व्यवस्थापन कार्यदलले शिक्षा मन्त्रालयलाई पत्र नै लेखेर प्याड व्यवस्थापन कार्यविधि खुकुलो पार्न अनुरोध गरेको छ ।

खरिद ऐन तथा नियमावलीका कारण कम मूल्यमा टेन्डर दिनुपर्दा यो समस्या आउने गरेको छ, महानगरका शिक्षा महाशाखा प्रमुख पौडेलले भने, ‘यो समस्या सुल्झाउन हामीले स्वास्थ्य र शिक्षा मन्त्रालयमा समेत लिखित जानकारी पठाएका छौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *