अस्तव्यस्त अध्यागमन : बत्ती गएपछि जेनेरेटरको तेल किन्न कुदाकुद – Nepal Press

अस्तव्यस्त अध्यागमन : बत्ती गएपछि जेनेरेटरको तेल किन्न कुदाकुद

काठमाडौं । कालिकास्थानस्थित अध्यागमन विभागमा बुधवार बिहान १०ः२० मा अचानक झ्याप्प बत्ती गयो ।

भिसाको कामका लागि आएका सेवाग्राहीहरूको चाप बढिसकेको थियो । बत्ती गएपछि कर्मचारीहरू आङ तान्न थाले भने सेवाग्राही अलमल्ल परे ।

अध्यागमनजस्तो संवेदनशील निकायमा बत्ती जाँदा तत्काल वैकल्पिक व्यवस्था हुने अपेक्षा गरिन्छ । तर, त्यहाँ कुनै तदारुकता देखिएन । काम सबै ठप्प भयो । विदेशीहरू अचम्म मानिरहेका थिए ।

नेपाल प्रेसकर्मीले कर्मचारीहरूसँग जिज्ञासा राख्दा कसैले पनि जिम्मेवार जवाफ दिएनन् ।

‘बत्ती त कहिलेकाहीँ गइहाल्छ नि,’ एक कर्मचारीले झिँजो मान्दै भने, ‘अप्ठेरो परेको भए माथि कुरा राख्नुस्, हामीलाई थाहा हुँदैन ।’

अर्का कर्मचारीले एक छिनमा जेनेरेटर चल्ने बताए । तर, निकै बेरसम्म नचले पनि जेनेरेटर राखेको कोठामा पुगियो । त्यहाँ भद्रगोल अवस्था थियो । जेनेरेटर चलाउने सुरसार थिएन ।

बुझ्दाखेरि जेनेरेटरको तेल नभएको बताइयो । दुई जना कर्मचारी ठूलो जर्किन गाडीमा हालेर तेल किन्न भद्रकालीतिर हिँडे । उनीहरू ११ः०७ मा फर्किए । त्यसपछि जेनेरेटर चल्यो ।

१०ः२० देखि ११ः०७ को पिक टाइममा अध्यागमनभित्र सबै काम ठप्प भयो । तर, कर्मचारीहरू यसलाई कुनै ठूलो इस्यू मानिरहेका थिएनन् ।

एक सेवाग्राही भन्दै थिए, ‘विदेशीको बढी चहलपहल हुने सरकारी निकायभित्र यस्तो ताल छ । यो देश नसुध्रिएको पनि यस्तै कर्मचारीतन्त्र गर्दा हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *