रविप्रति कांग्रेस सांसदको व्यंग्य- अब प्रधानमन्त्रीमा तपाईंको पालो आउन बेर छैन – Nepal Press

रविप्रति कांग्रेस सांसदको व्यंग्य- अब प्रधानमन्त्रीमा तपाईंको पालो आउन बेर छैन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद हृदयराम थानीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने अब प्रधानमन्त्री बन्ने बलियो सम्भावना रहेको भन्दै व्यंग्य गरेका छन् ।

राज्य व्यवस्था समितिको बैठक अहिले तेस्रो दलबाट प्रचण्ड प्रधानमन्त्री बनेको उल्लेख गर्दै उनले भने, ‘अब तपाईंको पालो पनि आउन बेर छैन ।’

त्यसबारे उनको भनाइ जस्ताको तस्तैः

समितिको सदस्य हुँदा सबै मिल्थ्यो । मन्त्री भइसकेपछि कुरा नमिल्ने अवस्था नबनोस् । हिजो समितिमा बोल्दा र मन्त्री भएर बोल्दा फरक बोली नहोस् । पहिलो दल र दोस्रो दल उपप्रधानमन्त्री हुन सकिरहेका छैनन् । तर, तपाईं प्रधानमन्त्री बन्ने सम्भावना पनि बलियो छ । अहिले तेस्रो दल प्रधानमन्त्री बन्नुभएको छ । अब तपाईंको पालो पनि आउन बेर छैन ।

सुनकाण्डमा प्रधानमन्त्रीको सचिवालय नै मुछिएको भन्ने आएको छ । तपाईँ धेरै बुझ्ने मान्छे हो कति बुझ्नुभएको छ ? गिरीबन्धु टी स्टेटमा तपाईं के गर्दै हुनुहुन्छ ? क्यान्टोनमेन्ट के हो यसमा पनि जनताको अगाडि ल्याउनुपर्छ । ललिता निवास, वाइडबडी, यती, ओम्नी काण्डको अनुसन्धान कसरी गर्नुहुन्छ ? जनताले हेरिरहेका छन् । हिजो पटक –पटक हामी त्यस्तै छोड्दैनौं भन्नुभएको छ । समाएर छोड्दैनौ भनेको हो कि समाएर छोड्छौ भन्नुभएको हो ? राज्यको पनि करुणा हुन्छ भन्नुभएको छ ।

गृहमन्त्रीज्यू तजविजीले चलाउनुभयो भने मुलुक कहाँ पुग्छ ? सबै करुणामा जानुभयो भने मुलुक कहाँ पुग्ला ? २०७९ पुष ११ गते गृहमन्त्री भएपछि निर्मला पन्तको छानविन गर्ने भन्नुभएको थियो । तपाईंले पहिले गरेको निर्णयको काम कसरी गर्नुहुन्छ ? राज्य व्यवस्था हुँदा धेरै कुरा उठाउनुभएको छ ती कसरी कार्यान्वयन गर्नुहुन्छ ? जो कुरा समितिबाट बोल्नुभएको थियो त्यसको अक्षरसा पालना गर्नुहोला । गडबड भयो भने जसरी तपाईं समितिमा पड्किनुहुन्थ्यो त्यसरी नै हाम्रो पनि पड्किने पालो आउँछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर