युएईमा थप १९ जना नेपाली अलपत्र, दुतावासले वेवास्ता गरेको पीडितको गुनासो – Nepal Press

युएईमा थप १९ जना नेपाली अलपत्र, दुतावासले वेवास्ता गरेको पीडितको गुनासो

युएई । संयुक्त अरब एमिरेट्स (युएई)मा थप १९ जना नेपाली अलपत्र परेका छन । ३ महिना पहिले युएई आएका उनीहरुले नेपालमा गरेको सम्झौता अनुरुप काम र तलव नपाएपछि परेका हुन् । अलपत्र परेका १९ नेपालीलाई अहिले खाना र बस्नको समेत समस्या भइरहेको छ ।

उनीहरु काठमाण्डौँमा रहेको मेची इण्टर नेशनल म्यानपावर मार्फत मार्फत युएईको युनिक स्टार जनरल सेक्युरिटी गार्ड कम्पनी र नुर अल असफा जनरल क्लिनिङ सर्भिसेस कन्पनीमा सरसफाइको काम गर्न आएका हुन् ।

युएईको डेरा दुबइ तथा अजमान क्षेत्रमा उनीहरु अलपत्र अवस्थामा छन् । आफूहरुलाई काम नदिएको र बस्ने खाने ब्यबस्था पनि कम्पनिले नगरेकोले अलपत्र परेको उनीहरुको भनाइ छ ।

कम्पनीमा पहिलेबाट काम गर्दै आएका कामदारलाई समेत कम्पनीले तलब नदिएको र आफूहरुको भिसा समेत नलगाइ काम नदिएकोले खान बस्न समेत समस्या भएको उनीहरुले बताए ।

यसरी अलपत्रपर्नेहरुमा खोटाङका पर्शुराम राइ, राजकुमार राई, धादिङका तिलक बहादुर सुनार, पाल्पाका देब सिङ सुनारी, सर्लाहीका मित्रलाल दाश, कपिलवस्तुका मनोज थारु, नवलपरासीका सुनिल श्रेष्ठ र शुर्खेतका भविश्य जीसी छन् । त्यस्तै उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मूसीकोटका हिमाल सरतुङे, कालिकोटका जितेन्द्र शाही, मोरङका करण सरदार,तेर्हथुमका लक्ष्मी प्रशाद दुलाल, दैलेखका मनबहादुर शाही, सिन्धुपाल्चोकका खड्का बहादुर श्रेष्ठ, उदयपुरका मान बहादुर कार्की, गोरखाका आश बहादुर गुरुङ, मोरङका पदम नेपाल र नुवाकोटका लाक्पा तामाङ छन् ।

अलपत्र परेका पीडितहरुले कम्पनीले ३ महिनासम्म भिसा समेत नलगाएको र काम पनि नदिएको गुनासो गरेका छन् । पीडितका परिवारले स्थानीय निकाय मार्फत आफ्नो उजुरी वैदेशिक रोजगार बिभाग सम्म पुयाएका छन् भने पीडितहरुले बिभिन्न संघ सस्था मार्फत दुतावाससम्म कुरा पुयाए पनि दुतावासले वेवास्ता गरेको पीडितहरुको भनाइ छ ।

यसैबीच नेपाली श्रमिक समस्यामा परेको जानकारी दुतावासमा आए लगत्तै कम्पनी र नेपालबाट कामदार ल्याउने म्यानपावर कम्पनीसँग सम्पर्क गरी उद्धारको प्रयास गरिरहेको नेपाली दुतावास आबुधावीले जनाएको छ । दुतावासका अनुसार पहिलो चरणमा वैदेशिकक रोजगार बिभागले सम्बन्धित म्यानपावर कम्पनीलाई ७ दिनभित्र बिभागमा उपस्थित हुन भनेको छ ।

दुतावास मार्फत कामदार मागपत्र प्रमाणीकरण भएकाले सम्बन्धित कम्पनीसँग दुतावासले समन्वयब गरेर आफूहरुको समस्या समाधान गरिदिनुपर्ने पीडितहरुको भनाइ छ । यस् बिषयमा युएईका लागि नेपाली श्रम सहचारी अविद अन्सारीले कम्पनी र म्यानपावर कम्पनी सँग समन्वयब गरिरहेको युएईका लागि श्रम काउन्सिलर दिनबन्धु सुवेदीले नेपाल प्रेसलाई बताए ।

पछील्लो समय दोहोरो सम्झौता गरेर कामदार युएई ल्याउने र समस्यामा पार्ने क्रम बढेको छ । यसअघि काठमाडौंमा रहेको रेड पाण्डा इन्टरनेशनल ओभरसिज मार्फत यूएईको बैट अलरनीन टेक्निकल सर्भिसेस कम्पनीमा आएका १८ जना नेपाली अलपत्र परेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *