महराको राजीनामा कि निलम्बन ? ‘अस्पताल हिरासतमा’ आजै भेटेर टुंगो लगाउने माओवादीको निर्णय – Nepal Press

महराको राजीनामा कि निलम्बन ? ‘अस्पताल हिरासतमा’ आजै भेटेर टुंगो लगाउने माओवादीको निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरालाई निलम्बन गर्ने वा राजीनामा गराउनेबारे उनैसँग सल्लाह गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको पदाधिकारी बैठकले महरालाई भेटेरै उनीसँग राजीनामाको बारे छलफल गर्ने निर्णय गरेको हो । दिउँसो महरालाई अस्पतालकै हिरासतमा भेटेर नेताहरुले कुरा गर्ने समझदारी भएको एक पदाधिकारीले बताए ।

उनले भने–अब आरोपको बारेमा न्यायिक प्रक्रियाबाट किनारा नलागेसम्म उहाँले राजीनामा गर्ने राम्रो विकल्प हो भन्ने कुरा आएको छ । दिउँसो महासचिव वा अन्य नेताले भेटेर कुरा गर्ने अनि राजीनामा दिए स्वीकृति हुन्छ । नत्र निलम्बन गर्नुपर्छ भन्ने कुरा आएको छ ।

स्रोतका अनुसार बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले महराले सुन तस्करीमा संलग्न भनिएका व्यक्तिहरुसँग फोनमा सम्पर्क गरेको र भन्सार अधिकृतसँग फोनमा कुरा गरेबाहेक उनी तस्करीमा संलग्न हुने कुनै आधार नदेखिएको अनुसन्धान अधिकारीहरुले आफूलाई बताएको ब्रिफिङ गरेका थिए ।

बैठकका सहभागीहरूका अनुसार केही नेताले प्रश्न उठेपछि यसको टुंगो नलागेसम्म निलम्बन गर्न उपयुक्त हुने सुझाव दिएका थिए । केहीले भने महरामाथि अन्याय भएको र कसैसँग टेलिफोन कुराकानी वा फोटो खिचेका आधारमा पक्राउ गर्दै राजनीतिक जीवन सिध्याउने हो भने कुनै पनि नेता बाँकी नरहने बताएका थिए ।

एक पदाधिकारीले भने, ‘स्वास्थ्यको हिसाबले पनि महराजी साह्रै कमजोर अवस्थामा देखिनुभएको छ । उहाँलाई जसरी धरपकड गरिएको छ, त्यो पनि ज्यादतीपूर्ण देखियो । टेलिफोन त हामी पनि कसैको काम परेमा गर्छौं । अब यस्ता कुरालाई आधार बनाउने हो भने त को बाँकी रहन्छ ? महराजीमाथि अलि बढी नै ज्यादती भयो भन्ने कोणबाट पनि कुरा आएका छन् ।’

बैठकमा महरा सुन तस्करीमा दोषी प्रमाणित हुने आधार नदेखिएकाले न्यायिक प्रक्रियाबाट सफाइ पाउँदा उनलाई पनि र पार्टीलाई समेत हुने भएकाले अनुसन्धानमा सघाउने समझदारी भएको उपाध्यक्ष पम्फा भुसालले बताइन् । यद्यपि महराको नाजुक स्वास्थ्य अवस्था र घरपरिवारको बारेमा भने ख्याल राख्नुपर्ने बताइन् ।

उनको परिवारका सदस्यले एक लाल सुन समेत लगाएको नदेखिएको भन्दै यस्ता ठूला तस्करीमा महराको संलग्नता होला भन्ने कसैलाई पत्यार नभए पनि अब न्यायिक प्रक्रियाबाट टुंगो लाग्ने आशा गरिएको नेताहरुले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर