दुर्गा प्रसाईंका अंगरक्षकबाट बरामद बन्दुक कस्तो हो ? झापाबाट लिएका छन् लाइसेन्स – Nepal Press

दुर्गा प्रसाईंका अंगरक्षकबाट बरामद बन्दुक कस्तो हो ? झापाबाट लिएका छन् लाइसेन्स

प्रसाईं भन्छन्: मसित १०० जना हतियारधारी बडीगार्ड छन्

काठमाडौं । दुर्गा प्रसाईंका बडिगार्डको साथबाट बरामद हतियार जर्मन स्पोर्टस गन (जीएसजी-५) भएको पाइएको छ । प्रहरीका अनुसार अर्मेरिया पारिनी एसआरएल-इटाली, मेडन इन जर्मनी-जीएसजी-५ लेखिएको हतियार बरामद भएको हो ।

हतियारका साथमा २-२ वटा सानो र ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउन्ड गोली बरामद भएको सर्वोच्च अदालत सुरक्षा स्रोतले जानकारी दियो । सन् २००७ मा उत्पादन सुरु भएको यो हतियार रिमफायर ‘सेमिअटोमेटिक’ राइफल समूहमा पर्छ ।

प्रसाईंले हतियारका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति लिएकोसमेत पाइएको छ । झापाका जिल्ला प्रशासन प्रमुख (सीडीओ) बन्धुप्रसाद बास्तोलाले प्रसाईंले निजी सुरक्षाका लागि हतियार बोक्ने अनुमति लिएको बताए ।

‘उहाँले हतियार बोक्न अनुमति लिनुभएको छ । तर, कुन हतियार बोकेको भन्ने सन्दर्भमा हामी मन्त्रालयसँग को-अर्डिनेसन गरिरहेका छौं’, उनले भने ।

काठमाडौं प्रहरी परिसर प्रवक्ता नवराज अधिकारीले पक्राउ परेका व्यक्तिसँग हतियारको कागजात पनि भएको र त्यसको अध्ययन भइरहेको बताए ।

‘उहाँहरुसँग कागजात पनि देखिन्छ । हामी बुझ्दैछौं । यस्तो हतियार अनुमति लिएर बोक्न पाइन्छ कि पाइँदैन भन्ने विषयमा बुझ्ने काम भइरहेको छ’, एसपी अधिकारीले भने ।

प्रसाईं भन्छन्ः मसित १०० जना बडिगार्ड छन्, हतियार लाइसेन्सवाला हुन्

नेपाल प्रेससँग कुरा गर्दै व्यवसायी प्रसाईंले आफूसँग १०० जना हतियारधारी बडीगार्ड रहेको बताए । उनीहरुले बोक्ने हतियारका लागि जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमतिपत्र लिइएको उनको भनाइ छ ।

आफ्नो मुद्दाको कामका लागि सर्वोच्चभित्रै रहेका प्रसाईंले बडीगार्डलाई सामान्य सोधपुछका लागि मात्र लगेको दाबी गरे ।

‘क्लीयर कुरा के हो भने लाइसेन्स भएको हतियार हो, नेपाल अधिराज्यभरि जहाँ पनि बोकर लैजान पाइने भनेर लेखिएकै छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *