सुदूरपश्चिम सरकारमा सहभागीपछि नाउपाभित्र किचलो, अध्यक्ष श्रेष्ठ भन्छिन्- मन्त्रीहरूलाई कारबाही हुन्छ – Nepal Press

सुदूरपश्चिम सरकारमा सहभागीपछि नाउपाभित्र किचलो, अध्यक्ष श्रेष्ठ भन्छिन्- मन्त्रीहरूलाई कारबाही हुन्छ

कैलाली । सुदूरपश्चिम सरकारमा सहभागी भएसँगै नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र किचलो सुरु भएको छ । तत्काल सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा केन्द्रमा छलफल चलिरहेकै बेला प्रदेशमा मन्त्रीले शपथ ग्रहण गरेपछि पार्टीभित्र विवाद सुरु भएको हो । अहिले सरकारमा सहभागी भएकाहरूलाई कारबाही गर्नुपर्ने विषय पार्टीभित्र उठेको नाउपा स्रोतले बताएको छ ।

पार्टीको अध्यक्षमा निर्वाचन आयोगले रेशम चौधरीलाई वैधानिकता नदिएपछि अहिले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ छिन् । उनी निकट स्रोतका अनुसार अहिले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने पार्टीको नीति होइन । पार्टीको केन्द्रीय नीतिविपरीत तीन जनाले हिजो कांग्रेस नेतृत्वको सरकारमा शपथ ग्रहण गरेका थिए ।

मुख्यमन्त्री कमलबहादुर शाहले संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिलामन्त्री, प्रमुख सचेतक खुसीराम चौधरीलाई विनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त गरेका थिए । यसअघि भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री नाउपाकै कैलाश चौधरी रहेका थिए ।

आफ्नै पार्टीका राज्यमन्त्रीलाई विनाजानकारी हटाएर अर्का सांसदलाई राज्यमन्त्रीको शपथ ग्रहण गराएपछि पार्टीभित्र किचलो सुरु भएको हो ।

‘पहिलो कुरा त पार्टी सरकारमा जाने वा नजाने भन्ने कुनै निर्णय नहुँदै प्रदेशमा मन्त्री नियुक्त भएको कुरा गम्भीर हो । यस विषयमा केन्द्रीय अध्यक्ष गम्भीर हुनुभएको छ’, श्रेष्ठ निकट स्रोतले भन्यो, ‘उहाँहरूलाई कारबाही गर्ने तयारी छ ।’

सरकारमा नियुक्त पार्टीका दुई प्रत्यक्ष निर्वाचित र एक समानुपातिक सांसद हुन् । प्रत्यक्ष निर्वाचितलाई पार्टीको जिम्मेवारीबाट हटाउने र समानुपातिक सांसदलाई सांसद पदबाटै हटाउने विषयमा छलफल भइरहेको स्रोतको दाबी छ ।

पार्टीकी अध्यक्ष श्रेष्ठले पनि सरकारमा सहभागी हुनेहरूलाई कारबाही गरिने बताइन् ।

‘कुनै छलफलविना, योजना र निर्देशनविना उहाँहरू सरकारमा सहभागी हुनुभएको हो । यस विषयमा मलाई कुनै जानकारी छैन’, उनले भनिन्, ‘यसरी पार्टीको विधिविपरीत सरकारमा सहभागी हुनेहरूलाई कारबाही हुन्छ ।’

यता अर्थमन्त्रीको जिम्मेवारी पाएका नागरिक उन्मुक्ति सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरीले सबैको सल्लाहपछि मात्रै सरकारमा सहभागी भएको बताएका छन् । यस विषयमा केन्द्रीय अध्यक्षलाई पनि जानकारी गराइएको उनको दाबी छ ।

स्रोतका अनुसार रेशम चौधरी सुदूरपश्चिम सरकारमा सहभागी हुनुपर्ने जोडमा थिए भने श्रेष्ठ तत्काल सरकारमा सहभागी नहुने जोडमा थिइन् । केन्द्रमा एमाले-माओवादीकै सरकारलाई समर्थन रहने भन्दै प्रदेशमा पनि त्योभन्दा फरक गठबन्धनमा सहभागी हुन नसकिने उनको जिकिर छ ।

चौधरी भने धनगढीमै बसेर सरकार गठनको गृहकार्यमा सहभागी रहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर