रेशम चौधरीको उपस्थितमा धनगढीमा नाउपा सांसदहरूको छलफल, सरकारबारे निर्णय हुने – Nepal Press

रेशम चौधरीको उपस्थितमा धनगढीमा नाउपा सांसदहरूको छलफल, सरकारबारे निर्णय हुने

कैलाली । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको उपस्थितिमा धनगढीमा पार्टीका सांसदहरूको छलफल सुरु भएको छ ।

नाउपा एक मन्त्रीको सरकारी निवासमा रेशम चौधरीसहित सुदूरपश्चिमका ६ सांसद छलफलमा जुटेका छन् । छलफलमा लुम्बिनी प्रदेशका संसदीय दलका नेता धर्म चौधरी पनि उपस्थित छन् ।

सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा नाउपामा विवाद रहेको थियो । रेशम चौधरी काङ्ग्रेससँगै रहन चाहन्थे भने अध्यक्ष रन्जिता श्रेष्ठ नयाँ सत्ता गठबन्धनसँग रहने गरी छलफल सुरु गरेकी छन् ।

यसैबीच प्रदेशमा नाउपाकी एक सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन् भने घनश्याम चौधरीलाई दलको नेताबाट हटाइएको थियो । आज यी सबै विषयमा कुरा गर्दै साझा धारणा बनाउने गरी छलफल अगाडी बढिरहेको नाउपा नेताहरूले दाबी गरेका छन् ।

छलफलमा सुदूरपश्चिममा पदमुक्त भएकी सांसद इन्दिरा गिरी पनि सहभागी छन् । त्यस बाहेक टिका थापा उपस्थित छैनन् भने अन्य सबै सांसदहरू एक छलफलमा देखिएका छन् ।

सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गते सम्मको समय दिएर सूचना जारी गरेका छन् । नाउपाको विवादका कारण अहिले सम्म सरकार गठन प्रक्रिया अगाडि बढ्न सकेको थिए । आज ठोस सहमति भए सरकार गठन प्रक्रिया अगाडी बढ्ने देखिन्छ ।

पार्टी भित्र आन्तरिक किचलो पछि सुदूरपश्चिमका सबै सांसदहरू एकै ठाउँमा बसेर छलफल गरेको यो पहिलो पटक हो ।

नयाँ सत्ता गठबन्धनमा एमाले, माओवादी, नाउपा र नेकपा एकीकृत समाजवादी मिल्दा सरकार गठन हुने देखिन्छ । यहाँ एमालेका सभामुखसहित ११, एमालेका १० नाउपाका कारबाही बाहेक ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । स्वतन्त्र एक सांसद पनि नयाँ सत्ता गठबन्धनमै रहने देखिन्छ । यहाँ २७ जना सांसदबाट बहुमतको सरकार गठन हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर