नाउपा सुदूरपश्चिम दलको नेता हेरफेर- घनश्याम फ्याँकिए, कैलाश ल्याइए – Nepal Press

नाउपा सुदूरपश्चिम दलको नेता हेरफेर- घनश्याम फ्याँकिए, कैलाश ल्याइए

कैलाली । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता हेरफेर गरेको छ । यसअघि संसदीय दलको नेता रहेका घनश्याम चौधरीलाई हटाउँदै अध्यक्ष रञ्जिता श्रेष्ठले कैलाश चौधरीलाई जिम्मेवारी दिएकी छन् ।

आइतबार सभामुख भीमबहादुर भण्डारीलाई पत्राचार गर्दै नाउपा अध्यक्ष रञ्जिताले कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेको जानकारी गराएकी हुन् । चौधरीले चैत २५ गते सोमबार केन्द्रीय समितिको बैठकको निर्णय उल्लेख गरेकी छन् ।

घनश्याम चौधरीले पार्टीको निर्देशनको पालना नगरेकाले उनको ठाउँमा कैलाश चौधरीलाई राखिएको रञ्जिताले बताएकी छन् ।

कांग्रेस नेतृत्वको सरकारमा घनश्याम आर्थिक मामिला मन्त्री थिए भने कैलाशलाई मुख्यमन्त्री शाहले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारीबाट हटाएका थिए । रञ्जिताले संसदीय दलको विधान पारित नभएकाले सम्पूर्ण अधिकार पार्टी अध्यक्षमा रहेको सार्वजनिक वक्तव्यद्वारा जानकारी गराएकी थिइन् ।

सभामुखलाई पत्राचार गरिएको पत्रमा पनि दलको विधान तयार नभएको हुँदा दलको केन्द्रीय समितिको बैठकले कैलाश चौधरीलाई दलको नेता चयन गरिएको जनाइएको छ ।

आजै नाउपा समानुपातिक सांसद इन्दिरा गिरी पनि पदमुक्त भएकी छन् । अध्यक्ष श्रेष्ठले २१ गते गिरीलाई सांसदबाट फिर्ता बोलाएको पत्र प्रदेशसभामा पठाएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर