रेशमलाई नाउपा अध्यक्षको वैधानिकता दिने विषयमा आयोग अझै अनिर्णीत – Nepal Press

रेशमलाई नाउपा अध्यक्षको वैधानिकता दिने विषयमा आयोग अझै अनिर्णीत

आयोगमा परेका थिए तीन उजुरी, रेशम र रञ्जिताले पनि दिए जवाफ

कैलाली । राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएको झन्डै दुई महिना पुग्नै लाग्दा पनि नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले अझै निर्वाचन आयोगबाट अध्यक्षको वैधता पाएका छैनन् ।

महाधिवेशन सकिएको एक महिना भित्रै उनले पार्टी अद्यावधिकका लागि आयोगमा निवेदन दिएका थिए । तर, आयोगले अझै सम्म उनी अध्यक्ष बन्न योग्य रहेको वा नरहेको भन्ने बारे कुनै निर्णय गरेको छैन ।

पुस २६ गते देखी कैलालीको टिकापुरमा भएको नाउपाको पहिलो महाधिवेशनबाट चौधरी अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए ।

उनी अध्यक्षमा निर्वाचित भए लगत्तै निर्वाचन आयोगमा उनलाई अध्यक्षमा वैधानिकता नदिन भन्दै उजुरी परेको थियो । त्यस पछि लगातार उनका विरुद्धमा दुई उजुरी परेको निर्वाचन आयोग स्रोतले जानकारी दियो ।

राजनीतिक दल सम्बन्धी ऐनमा नैतिक पतन देखिने र फौजदारी अभियोगमा कसुर नभएकोले मात्रै दलको सदस्यता लिन पाउने व्यवस्था छ । तर, रेशम चौधरीलाई कानुनले नै टीकापुर घटनाको दोषी ठहर गरेको छ ।

उनी विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । दलको सदस्यता नै नपाउने व्यवस्था रहेको तर, चौधरी अध्यक्ष भएको भन्दै उनी विरुद्ध परेको उजुरी माथि पनि आयोगले छानबिन गरिरहेको छ ।

त्यस लगत्तै रन्जिता चौधरी र रेशम चौधरीलाई आयोगले योग्यता पुग्छ कि पुग्दैन भनेर प्रश्न सोधेको थियो । उनीहरू दुवै जनाले आयोगले दिएको समय सीमा भित्रै आयोगलाई जवाफ दिएको निर्वाचन आयोग राजनैतिक दल व्यवस्था शाखाका उपसचिव टेकराज भुसालले जानकारी दिए ।

‘हामीलाई उजुरी परेपछि हामीले योग्यता पुग्छ कि पुग्दैन भनेर प्रश्न सोधेका थियौँ ’ उनले। भने ‘उहाँहरूको जवाफ आइसकेको छ । ’

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पनि रेशम चौधरीको विषयमा आयोगले कुनै ठोस निर्णय नगरिसकेको बताए ।

उनले भने, ‘हामी कहाँ अद्यावधिकका लागि आएपछि हामीले केही प्रश्न सोधका थियौँ उनले भने दुबैबाट जवाफ आइसकेको छ अब त्यो हेरेर निकट भविष्यमै आयोगले यस विषयमा निर्णय गर्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर