सत्तारूढ दलकै सांसद महतोले मुख्यमन्त्रीसँग मागे रिपोर्ट कार्ड – Nepal Press

सत्तारूढ दलकै सांसद महतोले मुख्यमन्त्रीसँग मागे रिपोर्ट कार्ड

जनकपुरधाम । मधेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग सत्तारुढ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसद उपेन्द्र महतोले रिपोर्ट कार्ड मागेका छन् ।

प्रदेशसभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रस्ताव पेश गरेपछि सुरु भएको छलफलमा सांसद महतोले सरकारको कामप्रति असन्तुष्टि जनाएका हुने ।

उनले मुख्यमन्त्रीलाई सोधे, ‘सात वर्षदेखि जसपाकै सरकार छ । तपाईं पनि सात महिनादेखि मुख्यमन्त्री हुनुहुन्छ । यो अवधिमा के गर्नुभो ?’

सांसद माहतोले मुख्यमन्त्रीले विश्वासको मत लिने थाहा पाएपछि दुई दिनदेखि निद्रा नलागेको बताए । उनले भने, ‘सरकारलाई के आधारमा विश्वासको मत दिन्छु ? सोचेर निन्द्रा लाग्दैन । बजेटमा संघले विभेद त गर्छ नै ‌। दिएको बजेट पनि खर्च हुँदैन ।’

सरकारले १५ प्रतिशत खर्च गरेको छ भने रिपोर्ट देखाओस् नत्र राजीनामा नै दिनुपर्ने उनले बताए । सरकार केही गर्न नसकिरहेको भए पनि संघीयता जोगाउन र कहीँ सुध्रिहाल्छ भन्ने आशमा विश्वासको मत दिने गरेको उनको भनाइ थियो ।

सांसद महतोले अहिलेसम्म बोलेका दलका सांसदले सरकारलाई समर्थन गरेको विषयमा आशंका व्यक्त गरे । उनले भने, ‘सरकारलाई सबै साना दलले समर्थन गरेकोमा पनि चलखेल भएको लाग्छ । सरकार सबै दललाई प्रभावमा पारिहाल्छ । उनीहरुबाट पहिले बोल्न लगायो ।’

उनले अहिलेसम्म रेडबुक पनि सञ्चालन भएन भन्दै रेडबुक कहिले सञ्चालनमा आउछ भन्ने प्रश्न गरे ।

मुख्यमन्त्रीले मधेशलाई प्रयोगशाला बनाएको आरोप उनको थियो । ‘तपाईंहरु प्रयोगशाला बनाउँदै रहनू, मधेशका जनता मर्दै रहन्छन्’, उनले भने ‌।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर