राष्ट्रियसभामा भाग नपाएका गठबन्धनका साना दल- जनमतको आफ्नै तयारी, उन्मुक्तिलाई आश्वासन – Nepal Press

राष्ट्रियसभामा भाग नपाएका गठबन्धनका साना दल- जनमतको आफ्नै तयारी, उन्मुक्तिलाई आश्वासन

काठमाडौं । राष्ट्रिय सभाको १९ सीटमा गठबन्धनका चार ठूला दलले भागबन्डा गरेपछि साना दलले असन्तुष्टि जनाएका छन् ।

कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सीट लिएपछि गठबन्धन आबद्ध साना दल चिढिएका हुन् । तर, गठबन्धनको विकल्प खोजिहाल्ने परिस्थितिमा पनि छैनन् ।

ठूला दलले मिलेर भाग लिएपछि गठबन्धनमा आबद्ध साना दल जनमत पार्टी, नागरिक उन्मुक्ति र लोकतान्त्रिक समाजवादी पार्टीको हात रित्तो भएको हो ।

गठबन्धनको निर्णयप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीले भने आफ्नै उम्मेदवार उठाउने तयारी भइरहेको अध्यक्ष सीके राउतले बताए ।

सरकारलाई समर्थन गरे पनि कतै भाग नलिएको जनमोर्चालाई सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने एक सीट दिने गठबन्धनमा सहमति बनेको अध्यक्ष चित्रबहादुर केसीले बताए ।

जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेलको नाममा सहमति बनेको छ। उनी गत प्रतिनिधिसभाको निर्वाचनमा प्युठानबाट पराजित भएकी थिइन् ।

अध्यक्ष केसीले भने, ‘गठबन्धनमा मनोनीत एउटा हामीलाई दिने भन्ने सहमति भएको छ। हेरौँ अब फागुनसम्ममा के हुन्छ ।’

तर, गठबन्धनको निर्णयप्रति असन्तुष्ट जनमतले लुम्बिनी र मधेश प्रदेशमा आफ्नो उम्मेदवार उठाउने प्रवक्ता डा. शरद यादवले बताए । उनले भने, ‘हामीले मधेश र लुम्बिनीमा आफ्नै उम्मेदवार उठाउने तयारी गरिरहेका छौँ ।’

पार्टीबाट उम्मेदवार पनि तय गरिसकेका छौँ। गठबन्धनको निर्णयमा केही फेरबदल नभएसम्म हामीले बेलुकासम्ममा उम्मेदवारी दर्ता गराउँछौँ ।

तर, राष्ट्रियसभामा एक सीट दाबी गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले भने गठबन्धनको निर्णयमै चित्त बुझाउने भएको छ ।

नाउपाका संरक्षक रेशम चौधरी भन्छन्, ‘हामीले एक सीटको दाबी गरेको थियौँ । तर, पाएनौँ । अब गठबन्धनमा भएको निर्णय स्वीकारेर जान्छौँ ।’

उनले आफ्नो पार्टीको महाधिवेशनपछि गठबन्धनका शीर्ष नेताहरूसँग बस्ने सहमति भएको बताए । उनले भने, ‘हाम्रो महाधिवेशनपछि गठबन्धनको बैठक बस्ने कुरा भएको छ । त्यहाँ हामीले उठाएको मुद्दालाई सम्बोधन गर्ने आवश्वासन पाएका छौँ ।’

यस्तै, लोसपाले पनि गठबन्धनको निर्णय स्वीकारेर अघि बढ्ने नेता केशव झाले बताए । उनले भने, हामीले गठबन्धनमा एक सीटको दाबी गरेका थियौँ । तर, नपाएपछि अब हामी यसलाई मानेरै अगाडि बढ्छौँ । हामीले बेग्लै तयारी सोचेका छैनौँ ।

माघ ११ गते १९ सीटको लागि हुने निर्वाचनको अहिले उम्मेदवारी दर्ता चलिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर