लोसपा लुम्बिनीको सम्मेलन भैरहवामा – Nepal Press

लोसपा लुम्बिनीको सम्मेलन भैरहवामा

राज्यले लुम्बिनीलाई उपेक्षा गरेको लोसपा सहअध्यक्ष शुक्लको गुनासो

रुपन्देही । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का वरिष्ठ सहअध्यक्ष तथा रुपन्देही क्षेत्र नं ४ का प्रतिनिधि सभा सदस्य सर्वेन्द्रनाथ शुक्लले राज्यद्वारा लुम्बिनी निरन्तर उपेक्षामा परेको बताए । उनले साँस्कृतिक केन्द्र हुँदाहुँदै राज्यले सुरुदेखि बुद्ध जन्मस्थल लुम्बिनीमाथि विभेद गरेको बताए ।

लोसपा नेपाल लुम्बिनी प्रदेश समितिको प्रथम प्रदेश सम्मेलनको शनिबार भैरहवामा उद्घाटन गर्दै नेता शुक्लले लुम्बिनीको गुरुयोजनाले हालसम्म पनि पूर्णता पाउन नसकेको बताए । पूर्व शिक्षामन्त्रीसमेत रहेका उनले आफ्नै देशभित्र विभेदको सिकार बनाइएका कारण लुम्बिनीमा चाहेजसरी विकास हुन नसकेको दावी गरे ।

उनले भने, ‘विभेद अझ कायम राख्ने मानसिकता छ । विगतमा लुम्बिनीमा आएका बजेट काठमाडौंमा खर्च भयो । म केही समय संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री थिएँ ।’ लुम्बिनी साँस्कृतिक नगरपालिकामा अझै पनि वर्षातमा सडक हिलाम्य हुने गरेको उनको भनाइ छ ।

उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा एडीबीको ठूलो योगदान रहेको बताए । उनले विमानस्थल पूर्ण रुपमा सञ्चालन गर्न सबै मिलेर एकीकृत योजना बनाउनुपर्नेमा जोड दिए । उनले भने, ‘सबैलाई समेट्दै सुपरीवेक्षण समिति बनाएर द्रुत गतिमा काम अगाडि बढाउनुपर्छ । ’

उनले आजको समयमा यो देशमा भविष्य छैन भन्ने युवाहरुको सोच रहेको बताए । उनले नो अब्जेशन लेटर लिनेको संख्या बढ्दै गएको बताए । उनले युवामा जीवनस्तर के हुन्छ भन्ने चिन्ता रहेको उल्लेख गरे ।
उनले भने, ‘विदेश पलायन हुने क्रम बढ्दो छ । खस्कदो अर्थतन्त्र ठूलो चिन्ताको विषय हो । रोजगारीको अवसर छैन । मुलुकमा भ्रष्टाचार बढेको छ । सबैभन्दा डरलाग्दो स्थित भ्रष्टाचार हो ।’ पूर्वमन्त्री शुक्लले भ्रष्टाचार नियन्त्रणका लागि भ्रष्टाचार गर्ने व्यक्तिलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा जोड दिए । उनले जनताको मनमा असन्तुष्टि भएको र त्यो असन्तुष्टि हटाउनुपर्ने बताए ।

लोसपा लुम्बिनी प्रदेश अध्यक्ष, लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले सकारात्मक सोच विश्वको सबैभन्दा ठूलो चुनौती रहेको बताए । उनले नेतृत्व गर्ने व्यक्तिहरुले सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

लुम्बिनी प्रदेशलाई पर्यटनको प्रदेशको रुपमा विश्वमा चिनाउन र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका निम्ति लागिपरेको उनको दावी थियो । पूर्व कृषिमन्त्री तथा लोसपाका वरिष्ठ उपाध्यक्ष अकबाल अहमद शाहले लोसपा सबैको अधिकार चाहने पहिचानवादी पार्टी भएको दावी गरे ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरु पुरनप्रसाद चौधरी, दीपनारायण मिश्रा, लक्ष्मीनारायण वर्मा, सोमनाथ जनैदार, लुम्बिनी प्रदेशसभा सदस्य तथा संसदीय दलका उपनेता कन्हैया बनिया, प्रदेशसभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक हेमा बेल्बासे केसी, लोकतान्त्रिक विद्यार्थी संघ लुम्बिनी प्रदेश अध्यक्ष मोहम्मद अली लगायतले बोल्दै लोसपा संघर्षले जन्मिएको पार्टी भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर