पञ्चा सिंहलाई पक्राउ गर्ने छैन तयारी, सुर्खेत प्रहरी भन्छ- दोषी भनिहाल्न मिल्दैन – Nepal Press

पञ्चा सिंहलाई पक्राउ गर्ने छैन तयारी, सुर्खेत प्रहरी भन्छ- दोषी भनिहाल्न मिल्दैन

सुर्खेत । जिल्ला अदालत सुर्खेतले १५ वर्षअघि एक युवकको हत्या अभियोगमा नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठनकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहलगायत ६ जनाविरुद्ध १० दिनअघि पक्राउ पूर्जी जारी गर्‍यो । तर, निजहरूलाई पक्राउ गर्न प्रहरीले खासै तत्परता देखाएको छैन ।

कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गर्न अदालतले गत माघ ५ गते शुक्रबार अनुमति दिएको थियो । सिंहलाई सुर्खेत प्रहरीले फरार आरोपीको सूचीमा राखेको छ । तर, उनी दैनिकजसो सार्वजनिक कार्यक्रममा सहभागी भइरहेकी हुन्छिन् । केही दिनअघि नेपाल प्रेससँग कुराकानी गर्दै उनले आफू फरार नभएको र प्रहरीले बोलाए जाने बताएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालयका सुर्खेतका प्रहरी नायब उपरीक्षक लक्ष्मणबहादुर शाहीले उक्त घटनाको मुख्य अभियुक्त भनिएका व्यक्तिलाई पक्राउ नगरिएसम्म सिंहलाई पक्राउ गर्न नसकिने बताए । पक्राउ पुर्जी जारी हुनासाथ दोषी भन्न नमिल्ने पनि उनको तर्क छ ।

उनले भने, ‘मुख्य प्रतिवादी भनेको एकजना हो । सुरूमा जसको नाममा जाहेरी पर्‍यो, उही मुख्य अभियुक्त हो । अरु पछि थपेको जाहेरीमा नाम आएका हुन् । पक्राउ पुर्जी दिने बितिक्कै दोषी भन्ने हुँदैन । अनुसन्धानमा मुख्य प्रतिवादी भारतमा रहेको भन्नेछ । हामी अनुसन्धान गर्दैछौं ।’

उक्त घटनामा खुकुरी प्रहार गरेको भनी किटान गरिएका मुख्य आरोपीमाथि अनुसन्धान गरेर फेला परेपछि मात्रै सिंहसहित अन्य व्यक्तिलाई पक्राउ गर्न सकिने डीएसपी शाहीको भनाइ छ ।

घटना के हो ?

१५ वर्षअघि कालीकोटका १७ वर्षीय राजबहादुर मल्ल उच्च शिक्षाका लागि सुर्खेत आए । २०६५ फागुन २६ फागुनको बेलुका ८ बजेतिर सुर्खेत बसपार्कमा मल्लमाथि खुकुरी प्रहार भएको प्रहरी जनाएको थियो ।

माओवादी कार्यकर्ता ‘टाइगर’ भनिने पदमबहादुर रावतले राजबहादुरमाथि आक्रमण गर्दा गम्भीर घाइते भएका मल्ललाई उपचार गर्न लैजादै गर्दा बाटोमा नै ज्यान गएको थियो । उक्त घटनालाई लिएर सुर्खेत जिल्ला अदालतले गत ५ गते सिंहलगायत ६ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

सो घटना प्रकरणबारे मृतक मल्लका परिवारले दुईवटा जाहेरी दर्ता गराएका थिए । पहिलो जाहेरीमा ‘टाइगर’ भनिने पदमबहादुर रावतसहितको नाम उल्लेख थियो । तर, दोस्रो जाहेरीमा पञ्चा सिंसहित अरु पाँचजनाको नाम किटान गरिएको थियो ।

के भन्छन् प्रत्यक्षदर्शी ?

राजबहादुरलाई महिनावारी खाना खुवाउने गणेश होटेलका सञ्चालक ऐनबहादुर शाहीले बेलुका आफ्नो होटेलबाट खाना खाएर होस्टेलमा जाने क्रममा केही समूहले आक्रमण गरेको बताएका छन् । साँझ बत्ती नभएको समयमा मल्लमाथि आक्रमण भएको उनको भनाइ छ ।

शाहीले भने, ‘मेरो होटेलदेखि ३/४ होटल पर आक्रमण भएको थियो । मेरो सानो छोरीले बुवा मामालाई कसले हान्दियो भन्दै कराउँदै आइन् । हामी होटेलमा बिजी थियौं । बाहिर अँध्यारो थियो । धेरैले टाइगर, टाइगर दाइ भनेको सुन्यौं । मैले त टाइगरलाई देखिनँ । अरुले कराएको सुनेको हो । कालीकोट डिल्लीकोटको एकजना मेरो सालो नाता पर्ने थियो । धन्नै उसलाई पनि हानिसकेका थिए । चक्कु नै ताकेका थिए । पछि सबै ए को हो, को हो भनेर कराउँदा उनीहरू भागे । पछि मेरो साला पर्नेलाई चक्कु ताकेको हो भनेको त माथि राजबहादुरलाई पल्टाइसकेका रहेछन् ।’

राजबहादुरले शाहीको होटलमा २ बर्षदेखि खाना खाँदै आएका थिए । राजबहादुरले कसैसँग विवाद भएको बिषय आफूलाई जानकारी नगराएको शाहीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *