कोशी प्रदेशमाथि पुलिसको सहज जीत – Nepal Press

कोशी प्रदेशमाथि पुलिसको सहज जीत

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले कोशी प्रदेशमाथि सहज जीत निकालेको छ ।

त्रिवि क्रिकेट मैदानमा कोशी प्रदेशले दिएको १६७ रनको लक्ष्य पुलिसले २१ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । पुलिसका लागि अर्जुन साउदले अविजित ६२ रन बनाए । ६३ बलमा साउदले ५ चौका र २ छक्का प्रहार गरे ।

कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ३८, दिलीपनाथले ३१, सुनिल धमलाले १६ र कुशल भुर्तेलले १२ रनको योगदान दिए । कोशीका कमल खत्रीले २ र सोनु मण्डलले १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको कोशी प्रदेश ४८ ओभर २ बलमा १६६ रनमा अल आउट भएको थियो ।

कोशीका सुजन थपलियाले शतक प्रहार गरेका थिए । उनी १२६ बलमा १०५ रनको शतकीय इनिङ खेलेर आउट भएका हुन् ।

कुनै पनि ब्याटर चल्न नसकेको अवस्थामा सुजनले कोशीको इनिङलाई उकासेका थिए । ६४ रनमा ७ विकेट गुमाएको कोशीलाई अभ्यास तिमिल्सिनासँग मिलेर सुजनले ९९ रनको साझेदारी गरेका थिए । तिमिल्सिना ६४ बलमा २३ रन बनाएर आउट भएका थिए ।

पुलिसका करण केसीले ३, ललित राजवंशी र सुनिल धमलाले २-२ विकेट लिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *