गठबन्धनमा खटपट : संयुक्त अपीलमा छैन सीके राउतको दस्तखत – Nepal Press

गठबन्धनमा खटपट : संयुक्त अपीलमा छैन सीके राउतको दस्तखत

काठमाडौं । सत्ता गठबन्धनमा सहभागी ७ दलले राष्ट्रियसभा चुनावमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन संयुक्त अपील गरेका छन् । आइतबार बिहान बालुवाटारमा बसेको बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बलियो बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।

गठबन्धनका उम्मेदवारलाई जिताउन कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा नाउपा र जनमोर्चासमेतको साझा अपील निकालिरहँदा जनमत पार्टी भने असन्तुष्ट देखिएको छ । अपीलमा उनको हस्ताक्षर छैन ।

जनमत पार्टीका अध्यक्ष सीके राउतले यस विषयमा आफूलाई कुनै जानकारी नगराइएको बताए ।

‘हामीलाई साझा उम्मेदवारबारे पनि जानकारी छैन, साझा विज्ञप्ति बारे पनि जानकारी छैन’, उनले भने ।

गठबन्धनको बैठकमा कहिले बेलाउने कहिले नबोलाउने गरेको उनको भनाइ छ । राष्ट्रियसभा चुनावका लागि जनमतले मधेश र लुम्बनीमा छुट्टै उम्मेदवार अघि सारेको छ । गठबन्धनमा भागबन्डा नगरेपछि लुम्बिनी प्रदेशको अन्य क्लस्टरमा बालगोविन्द चौधरी र मधेस प्रदेशको अन्य क्लस्टरमा रामशंकर महासेठलाई उम्मेदवार बनाइएको छ ।

सत्ता गठबन्धनले गरेको सीट बाँडफाँटमा सुरूबाटै जनमत रुष्ट थियो । पुष्पकमल दाहाल ’प्रचण्ड’ नेतृत्वको गठबन्धन सरकारमा पार्टीकी सांसद अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री छिन् । माघ ११ गते हुने राष्ट्रियसभा चुनावका लागि आठ दलबाट ५२ जना उम्मेदवार छन् । सत्ता गठबन्धनबाट १९ जना उम्मेदवार बन्दा सत्ता गठबन्धनभित्रै रहेको जनमत पार्टी छुट्टै मैदानमा उभिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर