भीभीआईपीका लागि उडान सार्दा सर्वसाधारण अलपत्र, नेवानीका क्याबिन क्रु नै मापसेमा – Nepal Press

भीभीआईपीका लागि उडान सार्दा सर्वसाधारण अलपत्र, नेवानीका क्याबिन क्रु नै मापसेमा

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम व्यवस्थापनको चरम लापरवाही र भीभीआईपीको भद्दा चाकडीका कारण ३१ जना यात्रु अलपत्र पर्दा निगमका अधिकारीहरूले भने गोलमटोल जवाफ दिएका छन् ।

बुधबार राति साढे ११ बजेको टिकट काटेर दुबई जान लागेका ३१ जना यात्रुलाई छाडेर निगमको वाइडबडी जहाज २ घण्टा अगाडि नै उडाइएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको भीभीआइपी टोली जाने सो उडानको समय परिवर्तन भएको सबै यात्रुलाई जानकारी दिइएन ।

नेपाल एयरलाइन्सका ग्राहक सेवा विभागका निर्देशक रिना राईले भने उडान अगाडि सरेको विषयमा सबै यात्रुलाई जानकारी गराएको बताइन् ।

राईले नेपाल प्रेससँग भनिन्, ‘हिजो राति साढे ११ बजेको उडान सरेर साढे ९ बजे नै उडान हुने जानकारी हामीले सबै यात्रुलाई मेलमार्फत जानकारी गराएका थियौं । तर, अरुले नै टिकट काटिदिएको र मेल चेक नगरेकाले नै यात्रुले उडान अगाडि सरेको जानकारी नपाएको होला । हामीले उडान सरेलगत्तै अटोमेसनमार्फत सबै यात्रुलाई मेल जाने व्यवस्था गरेका छौं । अब छुटेका यात्रुलाई कनेक्टिक जहाजहरु मिलाएर दुबई पठाउँछौं । त्यसको लागि काम भइरहेको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुबईमा हुने जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप-२८ मा सहभागी हुन कार्यक्रममा जाने भएपछि जहाज २ घन्टा अगाडि नै उडेको थियो । निगमको विहीबार दुबई उडान नभएकाले अब अन्य एयरलायन्सको महँगो टिकट किनेर पठाउनुपर्ने भएको छ ।

छुटेका ३१ जना यात्रुमध्ये धेरै वैदेशिक रोजगारीका लागि दुबई जान लागेका थिए । अहिले ती यात्रुहरूलाई होटलमा राखिएको नेपाल एयरलाइन्सले बताएको छ । यसैबीच ३१ जनाभित्र परेका अधिवक्ता प्रज्ज्वलविक्रम राणाले भने निगमले गैरजिम्मेवार जवाफ दिएको र उडान सरेको जानकारी पनि नगराएको बताएका छन् ।

क्याबिन क्रु नै मापसेमा

उता प्रधानमन्त्री प्रचण्डको टोलीलाई दुबई छाडेर काठमाडौं फर्किएको विमानका कर्मचारी मापसेमा परेका छन् । काठमाडौं उडान भर्ने क्रममा क्याबिन क्रु सबैको ब्रेथलाइजरमार्फत परीक्षण गर्दा क्याबिन क्रु मेम्बर विवशजंग शाह मापसेमा परेका हुन् ।

क्याबिन क्रु को स्वास्थ्य परीक्षणका साथै मापसे गरे नगरेको परीक्षणपछि मात्र उडान भर्ने गरिन्छ । उनीमाथि कम्पनीको नियम अनुसार कारबाही हुने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर