दुर्गा प्रसाईंको आन्दोलनमा राप्रपा कार्यकर्ताको उल्लेख्य सहभागिता, चारजना पक्राउ – Nepal Press

दुर्गा प्रसाईंको आन्दोलनमा राप्रपा कार्यकर्ताको उल्लेख्य सहभागिता, चारजना पक्राउ

काठमाडौं । दुर्गा प्रसाईंले सुरू गरेको नागरिक बचाऊ आन्दोलनमा राजावादी शक्ति राप्रपाका कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति देखिएको छ । पक्राउ परेका दुई दर्जन व्यक्तिहरूमध्ये राप्रपाका ४ जना छन् ।

राप्रपाले प्रसाईंको अभियानलाई समर्थन गर्ने वा नगर्ने विषयमा कुनै पनि आधिकारिक निर्णय लिएको थिएन । पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आन्दोलनप्रति ऐक्यवद्धता जनाएका थिए । पार्टी संस्थापन पक्ष भने मौन बसेको थियो ।

हिजो भएको आन्दोलनमा राप्रपाका कार्यकर्ताको बाक्लो उपस्थिति रहेको पार्टीको आन्तरिक विश्लेषण छ । पार्टीले कार्यकर्तालाई आन्दोलनमा सहभागी हुन बन्देज गरेको थिएन । राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही आन्दोलनमा पुगेर दुर्गा प्रसाईंसँगै भाषणसमेत गरेका थिए ।

प्रहरी धरपकडमा राप्रपाका चारजना पक्राउ परेको जानकारी आएको पार्टी स्रोतले बतायो । राप्रपाबाट पक्राउ पर्नेमा मीना शाही, आङनिमा शेर्पा, सावित्री क्षेत्री र उपेन्द्रविक्रम पुरुष छन् । अरु विभिन्न राजावादी संगठनका व्यक्तिहरू पक्राउ परेका छन् ।

राष्ट्रिय जनमत पार्टीका तेजनारायण कँडेल, शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै राजावादी अभियन्ताहरु मुनेन्द्र राजभण्डारी, शतिश न्यौपाने, अनुप शाही, आवास खड्का, कौशल आचार्य, सौरभ भण्डारी, विक्रम पाण्डे (अर्घाखाँची) लगायत छन् ।

प्रहरीले आज तिनकुनेमा आन्दोलनका लागि जम्मा हुन आएका कार्यकर्ताहरुलाई धमाधम पक्राउ गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर