नेपाल प्रेस फलोअप-रथी पाण्डेको राजीनामा जंगी अड्डाबाट पुष्टि, स्वीकृतिका लागि रक्षा मन्त्रालय पठाइयो – Nepal Press

नेपाल प्रेस फलोअप-रथी पाण्डेको राजीनामा जंगी अड्डाबाट पुष्टि, स्वीकृतिका लागि रक्षा मन्त्रालय पठाइयो

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएको विषय जंगी अड्डाले पुष्टि गरेको छ । उनको राजीनामा स्वीकृतिको प्रस्ताव रक्षामन्त्रालयमा पठाइएको छ ।

नेपाली सेनाको मुख्यालयले शुक्रबार पाण्डेको राजीनामाको प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्नका लागि रक्षा मन्त्रालयमा पठाएको मन्त्रालय स्रोतले जनाएको छ । मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश गर्ने र अब बस्ने मन्त्रिपरिषद् बैठकबाट स्वीकृत हुने बताइएको छ ।

पाण्डेले जागिर खान र रथी बढुवा भएर भावी प्रधान सेनापति बन्ने लाइनमा बस्न एसएलसी परीक्षाफलको ढड्डामै केरमेट गरेको नेपाल प्रेसले प्रमाणसहित निरन्तर समाचार पस्किएको थियो ।

रथी बढुवामा सिफारिसका लागि सार्वजनिक सूचनापछि विवादमा परेका उपरथी ताराध्वज पाण्डेले हिजो राजीनामा बुझाएका थिए । उमेर कीर्ते प्रकरणमा जंगी अड्डाले छानविन समिति गठन गरेपछि पाण्डेले बिहीबार साँझ राजीनामा दिएका हुन् ।

प्रधान सेनापति प्रभुराम शर्मा पाण्डेलाई नै रथीमा बढुवा गर्ने पक्षमा उभिए पनि बलाध्यक्ष रथी सीताराम खड्काले बढुवा समितिमा असहमति जनाएका थिए ।

बढुवा सिफारिस सूचनापश्चात उनले नागरिकता नागरिकतामा उमेर कीर्तेबारे प्रधानमन्त्रीले चासो राखेका बेला प्रधान सेनापति प्रभुराम शर्मा नै पाण्डेको संरक्षणमा लागेका थिए ।

पाण्डेको उमेर कीर्तेको समाचार नेपाल प्रेसमा सबैभन्दा पहिले आएसँगै अन्य मिडियामा समेत थप प्रमाण सार्वजनिक भएपछि रक्षा मन्त्रालयले जंगी अड्डालाई सत्य तथ्य विवरण मागेको थियो ।

यो पनि पढ्नुहोस् : ‘उमेर कीर्ते’ गरेर प्रधान सेनापति बन्ने प्रयासमा पाण्डे, रथी बढुवा सिफारिसविरुद्ध प्रमाणसहित उजुरी

प्रधान सेनापति शर्माले भने सेनामा यस्तो विवाद धेरै अघिदेखि नै रहेको र हालै अवकाश पाएका रथी सरोजप्रताप राणाको ३ वटा नागरिकता रहेको भन्दै पाण्डेको पनि यस्तै विवादमा पहिले नै समाधान भइसकेको भन्दै ढाकछोप प्रयास गरेका थिए ।

प्रधान सेनापतिको रहस्यमय जोडबलकै कारण ताराध्वजको उमेर कीर्तेको प्रकरण सामसुम पार्न खोजिएपनि पाण्डे स्वयंले आफ्नो कर्तुत खुल्ने भयले राजीनामा दिएको सैनिक उच्च स्रोतले बतायो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि संसदको राज्य व्यवस्था तथा सुशासन समितिले समेत गम्भीर रूपमा लिएको उजुरीको किनारा नलाग्दै पाण्डेलाई रथीमा बढुवा गर्न खोजिँदै थियो ।

२०३८ साल देखि २०४२ साल चैत्रसम्म २०२१/१०/१२ गते जन्ममिति भएका पाण्डेले जागिर खाने बेला एसएलसी पास गरेको ४ वर्षपछि जन्म मिति सच्याएर २०२३ माघ २३ को मिति राखेर अर्को नागरिकता लिएका थिए ।

शैक्षिक प्रमाणपत्रमा पनि ६ महिनाभित्र उमेर सच्याइसक्नुपर्नेमा पाण्डेको हकमा ४ वर्षपछि ढड्डामै केरमेट गरेर सच्याइएको थियो ।

यो पनि पढ्नुस् : जर्नेलको ‘उमेर कीर्ते’ प्रकरण- पनिकाको ढड्डामै केरमेट, बल्खुमा पनि रेकर्ड मेटाउन ताराध्वजको ताकेता

पाण्डेले एसएलसीको चारित्रिक प्रमाणपत्र चन्दावती मा.वि.बाट २०४३/०१/०७ गते निकालेको देखिन्छ । २०३९ सालमा आई.ए. पढ्दा कुन चारित्रिक प्रमाणपत्र पेश गरेका थिए ? यति छानबिन समेत नगरी सेनापति किन मुढेबलमा उत्रिए ? यो प्रश्न उठेको छ ।

पाण्डेले २ वटा नागरिकता बनाएको प्रमाण पनि सार्वजनिक छन् । नागरिकताको नम्बर समेत (ना.प्र.नं. ३६०८६ र १६८१–१६०८६) दुईवटा हुनु स्वतः कीर्ते हो । उनीमाथि सरकारी कीर्तेको मुद्दा समेत चल्न सक्ने बताइएको छ ।

सैनिक नेतृत्वमा पुग्ने व्यक्तिले स्पष्ट रूपमा उमेर सच्याएको रेकर्ड बाहिर छताछुल्ल हुँदा समेत उनैलाई अघि सारेर केही स्वार्थ समूहले खेल्न खोजिरहेका थिए ।

त्यसो त उनले कीर्ते गरेको उमेरका आधारमा २०३८ सालमा एसएलसी दिने उमेर नै पुग्दैन । यसबाट पनि सबै प्रष्ट हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर