‘उमेर कीर्ते’ गरेर प्रधान सेनापति बन्ने प्रयासमा पाण्डे, रथी बढुवा सिफारिसविरुद्ध प्रमाणसहित उजुरी – Nepal Press

‘उमेर कीर्ते’ गरेर प्रधान सेनापति बन्ने प्रयासमा पाण्डे, रथी बढुवा सिफारिसविरुद्ध प्रमाणसहित उजुरी

काठमाडौं । नेपाली सेनाको भावी प्रधान सेनापतिको रोलक्रममा बस्नेगरी रथी पदमा बढुवा सिफारिस भएका ताराध्वज पाण्डेले उमेर कीर्ते गरेर नागरिकता बनाएको पाइएको छ ।

हालका सेनापति प्रभुराम शर्मापछि नेपाली सेनाको कमाण्ड सम्हाल्नेगरी रथीमा पदोन्नति सिफारिस भएका पाण्डेको बढुवा रोकी सैनिक ऐन तथा मुलुकी अपराध संहिताबमोजिम कारवाही गर्न माग गर्दै जंगी अड्डामा उजुरीसमेत परेको छ ।

सैनिक मुख्यालयले असोज ३० गते सरोजप्रताप राणाको अवकाशपछि रिक्त हुन लागेको रथी पदमा बढुवा सिफारिसका लागि युद्धकार्य विभागका प्रमुख पाण्डेको नाम सिफारिस गरेको ७ दिने सूचना प्रकाशित गरेको थियो । यो सैनिक ऐनबमोजिमको सूचना हो ।

यो ७ दिनकै बीचमा पाण्डेले सरकारी कागजात कीर्ते गरेको र उमेर घटाएर नागरिकता बनाई जागिर खाएको प्रमाणसहित प्रधान सेनापति शर्मासहित प्रधानमन्त्री, रक्षा र संसदको राज्य व्यवस्था तथा सुशासन समितिलगायतका निकायमा लिखित उजुरी परेको हो ।

मन्त्रिपरिषदले पाण्डेलाई बढुवा गरिसकेको छैन । यद्यपि उमेर विवाद बाहिर नआउँदै उनले शक्तिकेन्द्रमार्फत आफ्नो बढुवाको निर्णय गराउन राजनीतिक नेतृत्वलाई समेत दबाब बढाएका छन् । उनको उमेर कीर्तेसम्बन्धी विवादबारे उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का जानकार रहेको बताइन्छ ।

सेनाको बलाधिकृतरथी सरोजप्रताप राणाको कार्यकाल अर्को साता सकिँदै छ । उनी गत आइतबारदेखि नै बिदामा बसेका छन् । कार्यकाल सकिनुभन्दा १५ दिनअघि बिदामा बस्ने प्रचलन छ । यसबीचमा सेनाले पाण्डेको बढुवा सिफारिसका लागि ७ दिनको सूचना निकालेको हो ।

ताराध्वजले कसरी गरे कीर्ते ?

नेपाल प्रेसलाई प्राप्त ‘अति गोप्य’ प्रमाणसहितको उजुरीमा उपरथी पाण्डेले २०४३ सालमा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुने बेला २ वर्ष उमेर घटाएर नागरिकता बनाएको पाइएको छ । जबकी उनका अरु सरकारी कागजातमा अर्कै जन्म मिति छ ।

पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र, क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ मघ १२ गते उल्लेख छ । तर, नागरिकतामा भने २०२३ साल मंसिर १३ गते बनाइएको छ ।

 

पाण्डे २०४३ सालमा सेनामा भर्ती हुने बेला उनको नागरिकतामा उमेर घटाइएको उजुरीमा उल्लेख छ । २०२१ म जन्मिएका पाण्डेले २०४३ मा जागिर खाने बेला २२ वर्ष नाघेको हुनाले २१ वर्षमुनिको उमेर हदका कारण नागरिकतामा उमेर घटाइएको हो ।

पाण्डेमाथि मुलुकी अपराध संहिता र सैनिक ऐन २०६३ बमोजिम कीर्तेमा कारवाहीको माग गर्दै परेको उजुरीउपर छानविन हुन्छ कि पाण्डेलाई सेनापति बनाउने योजनाबमोजिम रथीमा पदोन्नति गरिन्छ ? अहिलेको मुख्य प्रश्न यो बनेको छ ।

उमेर विवादमा के छ प्रचलन ?

निजामती तथा जंगी नियम अनुसार नागरिकता र शैक्षिक प्रमाणपत्रलगायत सरकारी कागजमा व्यक्तिको उमेर फरक परे वा विवाद भएमा जुन पहिलो जन्म मिति हो त्यसैलाई कायम गर्ने व्यवस्था छ । नेपाली सेनामा यसअघि पनि उमेर विवादमा सोही विधिबाट धेरै जर्नेलले पहिलो जन्म मितिका आधारमा अवकाश पाएका छन् ।

नेपाली सेनामा नागरिकतामा उमेर सच्याएर जागिर खाने प्रचलन नयाँ होइन । यसअघि पनि धेरै प्रभावशाली जर्नेलहरूले त्यसै गरेका थिए । यतिसम्मकी पूर्वप्रधान सेनापति रुक्माङ्द कटवालको समेत उमेर विवाद सर्वोच्च अदालतमा पुगेको थियो ।

तत्कालीन प्रधान सेनापतिहरू गौरवशमजेर जबरा, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापाको पालामा पनि यस्तैगरी दुईटा जन्म मितिका आधारमा जागिर खाने जर्नेलहरूको विवाद आउँदा जुन मिति जेठो छ सोही मितिमा उनीहरूलाई अवकाशमा पठाएका थिए ।

उपरथी जगदिशचन्द्र पोखरेल, देवकुमार सुवेदी, दीपक भारती, सहायकरथीहरू प्रदीप अधिकारी, रवीन्द्रदास श्रेष्ठ, ज्ञानेन्द्र रायमाझीलगायतका उच्च अधिकारी यसबीचमा नागरिकतामा उमेर घटाएर जागिर खाए पनि शैक्षिक प्रमाणपत्रको उमेरका आधारमा अवकाश भएका हुन् ।

पाण्डेको हकमा पनि सोही नियम आकर्षित हुने र उनले उसै पनि उमेर कीर्ते गरेर डेढ वर्षभन्दा बढी जागिर खाइसकेको पाइएकाले सेनापतिले नै उनको नाम बढुवा सिफारिसबाट फिर्ता गरी घर पठाउनु हितकर हुने सुझाव कतिपय उच्च अधिकारीले दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयको गोप्य शाखाबाट अभिलेख मगाएर हेर्नासाथ पाण्डेले कीर्ते गरेर नागरिकता बनाएको प्रष्ट हुने उजुरीकर्ताले जनाएका छन् । कीर्ते प्रमाणित हुँदा हुँदै पनि उनको बढुवा प्रक्रिया अघि बढाए अदालत जाने तयारीसमेत छ ।

के भन्छन् सैनिक प्रवक्ता ?

यसैबीच नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले भने नागरिकता र सर्टिफिकेटको उमेर फरक परेको भन्ने उजुरीबारे आफू जानकार नभएको नेपाल प्रेसलाई बताए ।

उनले भने, ‘यो विषयमा मलाई जानकारी भएन । जुन विभागले बढुवा सिफारिसका लागि सात दिने सूचना जारी गरेको हो, त्यसै विभागलाई जानकारी होला । उजुरी परेको भए पनि त्यतै परेको होला । उजुरी परेको भए पनि सैनिक ऐन तथा नियमावलीको व्यवस्थाअनुसार नै छानविन तथा कारवाही अघि बढ्ला ।’

सैनिक सेवा नियमावली २०६९ को नियम २३ को क अनुसार रथी पदमा बढुवा गर्नका लागि प्रधान सेनापतिको अध्यक्षतामा वरिष्ठतम रथी सदस्य रहने व्यवस्था छ । तर, रथी पद रिक्त भएको अवस्थामा प्रधान सेनापतिले मात्र यस्तो सिफारिस गर्न बाधा नपर्ने भनिएको छ ।

आचरणमा अराजक

उमेर कीर्ते गरेर जागिर खाएको आरोप लागेका उपरथी पाण्डेको व्यक्तिगत आचरण पनि उच्च सैनिक अधिकृतको जस्तो नरहेको टिप्पणी हुने गर्छ । उनी पटकपटक विवादमा पर्दै आएका अधिकृत हुन् ।

पछिल्लो पटक सोल्टी होटलमा आयोजित एक कार्यक्रममा काठमाडौंस्थित भारतीय दूतावासका सैनिक सहचारी अमित शर्मालाई ‘रेसिस्ट’ शब्दका साथ अपमानजनक व्यवहार गरेपछि भारतीय दूतावासले जंगी अड्डासमक्ष आपत्ति जनाएको थियो ।

यसबारेमा सेनापति शर्मासँगै कुरा भएको स्रोतले जनाएको छ । सहकर्मी र जुनियर अधिकृतहरूलाई छाडा शब्दले गाली गर्ने तथा महिला अधिकृतहरूमाथि कुण्ठाग्रस्त व्यवहारका कारणसमेत आलोचना हुने गरेको पाण्डे जनयुद्धकालमा बर्दियामा भएका सबैभन्दा बढी हत्या तथा सर्वसाधारण बेपत्ता पार्ने प्रकरणमा मुछिएका थिए ।

सेनामा बढ्दो राजनीतिक हस्तक्षेप

नेपाली सेनाभित्र पछिल्लो समय सेनापति कमजोर बनेको आरोप लागिरहेका बेला पाण्डे प्रकरण सैनिक संगठनकै प्रतिष्ठाको विषय बनेको सैनिक अधिकारीहरू बताउँछन् ।

पूर्वलडाकु यमबहादुर अधिकारीको नियमविपरीत म्याद थप तथा प्रधानमन्त्री प्रचण्डका नाता पार्ने सहायकरथीको बढुवामा समेत सेनापतिले अडान लिन नसकेको आरोप छ । एनडिसी कोर्ष समेत नगरेका कुमारबाबु थापालाई प्रधानमन्त्रीको नाता लगाएर बढुवा गरिएको हो । यता पाण्डेले भने आफू रक्षामन्त्री खड्काको भाञ्जीज्वाइँ भएकाले सेनापतिको रोलबाट कसैलै रोक्न नसक्ने बताउने गरेका छन् ।

पाण्डेको कीर्ते प्रकरण ढाकछोप गर्न सरकार नै लागेको आशंकासमेत गरिएको छ । सेनापतिले अडान लिन नसक्दा एकपछि अर्को सेनापतिमाथि राजनीतिक हस्तक्षेप बढेकोमा सैनिक अधिकारीहरु चिन्तित छन् ।

पाण्डेलाई सेनापतिको रोलक्रममा राख्नकै लागि सरोजप्रताप राणाको म्याद थप नगरी घर पठाएर एउटा रथी पद रिक्त गराइएको बताइन्छ । यदि म्याद थप गरेको भए राणा आगामी मंसिर २६ सम्म रहने थिए ।

मंसिर २६ मा राणाको अवकाश हुने र पुस ३ मा अर्का रथी सीताराम खड्का उमेरका कारण अवाकाश हुँदै दुवै रथी पदमा एकैपटक पदोन्नति हुने अवस्था आउँथ्यो । त्यसो गर्दा पाण्डे सेनापति बन्न नपाउने भएरै राणालाई घर पठाएर पाण्डेलाई रथी बनाउन खोजिएको हो ।

रथी पदका लागि ताधाराध्जव पाण्डे र अशोक सिग्देल दाबेदार हुन् । खड्का अवकाशपछि सिग्देल रथीमा बढुवा हुने भएकाले उनीभन्दा सिनियर बनाउन पाण्डेलाई २ महिनाअघि नै बढुवा गर्न खोजिएको बताइन्छ ।

सेनामा एक नम्बरका रथी नै प्रधान सेनापतिमा बढुवा हुने प्रचलन रहेकाले आगामी वर्ष भदौ २४ गते शर्मा अवकाश भएपछि पाण्डेलाई प्रधान सेनापति बनाउन यो चलखेल भएको हो । यद्यपि उनको उमेर विवाद निकै गम्भीर रहेकाले अदालतसम्म जाने देखिन्छ ।


प्रतिक्रिया

One thought on “‘उमेर कीर्ते’ गरेर प्रधान सेनापति बन्ने प्रयासमा पाण्डे, रथी बढुवा सिफारिसविरुद्ध प्रमाणसहित उजुरी

  1. यदि उनको उमेर कृत्य हो भने तुरुन्त कारबाही गर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर