महानगरले २०८१ जनालाई दिँदैछ कुकदेखि कर्मकाण्डसम्मको तालिम, मेलामा जे देखियो… – Nepal Press

महानगरले २०८१ जनालाई दिँदैछ कुकदेखि कर्मकाण्डसम्मको तालिम, मेलामा जे देखियो…

काठमाडौं । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस । दिउँसो टुँडिखेलमा युवाहरुको भीड लागेको थियो । तर, उनीहरु त्यहाँ श्रमिक दिवस मनाउन नभएर सीप सिक्न आएका थिए ।

श्रम बजारमा स्थान नपाएर थकित बनेका युवाहरुको लागि आशाको त्यान्दो बनेको छ सीप मेला २०८१ । यो मेला काठमाडौं महानगरपालिकाले आयोजना गरेको हो । एक महिने नि:शुल्क सीपमुलक तालिमको आज मजदुर दिवसको अवसर पारेर सुरुवात गरिएको छ ।

उपमेयर सुनिता डंगोलले तालिमको उद्घाटन गर्दैगर्दा टन्टलापुर घाममा छाता ओडेर ६२ वर्षीय मानविर विश्वमित्र मेला नियाल्दै थिए । उनीसँगै थिइन् श्रीमती ५० वर्षीया देवकी । उनीहरु दुवै सीप सिक्न आएका हुन् । विश्वमित्र दम्पतीले नै कुकको निःशुल्क तालिमको लागि अनलाइनबाटै फारम भरेका छन् ।

यी दम्पती निःशुल्क तालिम लिने २०८१ जनाभित्र परेका थिए । फेसबुकमा महानगरले सीपमुलक तालिम दिँदै गरेको खबर देखेर उत्साही हुँदै वडामा गएर कुकको तालिमको लागि अनलाइन फर्म भरेका थिए । तर निशुल्क तालिम लिन पाइएला भन्ने लागेको थिएन । हिजो बेलुका महानगरबाटै फोन आएपछि बल्ल विश्वास गरे ।

उनीहरुलाई महानगरका कर्मचारीले फोन गरेर आज दिउँसो १ बजे टुँडिखेलमा बोलाएका थिए । नागरिकता बोकेर उनीहरु आइपुगे टुँडिखेलमा । कलंकीबाट आएका उनीहरु भीडमा उभिएर तालिमको सुरुवात कहिले होला भनेर कुरेर बसेका थिए ।

‘६५ वर्षसम्मले फारम भर्न पाइन्छ भनेपछि मैले र बुढीले कुकको लागिफारम भर्यो,’ मानविरले उत्साहीहुँदै नेपालप्रेससँग भने ।

एक महिने तालिम सिकेर कुकको जागिर खाने उनको सोच छ । उनी कलंकीमा होटल चलाइरहेका छन् । तर होटलमा घाटा लागेपछि बरु कुकको तालिम लिएर कतै जागिर खान उपयुक्त देखे ।

‘हुन त म कुक नै हो तर तर होटलबाट नफापेपछि अब सीप सिकेर दुबैजना जागिर खाने इच्छा छ,’ उनले भने । देवकी पनि युवाहरुको भीडमा आफू ज्येष्ठ उमेरको तालिम लिने महिला भएको बताउँछिन् ।

यही भीडमा भेटिइन् महोत्तरी घर भएकी ४२ वर्षीया अञ्जलीकुमारी । उनी मैतीदेवीबाट छोराको साथमा मेलामा आएकी हुन् । इन्जिनियर पढ्दै गरेका छोराले नै उनलाई अनलाइनबाट तालिमको लागि नाम लेखाइदिएका थिए । अन्जलीले महानगरले निशुल्क तालिम दिँदैछ भनेर फेसबुकबाट चाल पाएकी हुन् । टेलरिङको कोर्स गर्न लागेकी उनलाई महानगरले हिजो साँझ फोन गरेको थियो । आफू छनौट भएको खुसीले १२ बजे नै छोरासँग तालिमस्थल टुँडिखेलमा पुगिसकेकी थिइन् ।

उनी भन्छिन्, ‘म त टेलरिङको कोर्स गर्न आएको हुँ । खुसी छु, यो उमेरमा पनि सीप सिकेर आत्मनिर्भर हुने कुराले । तालिमपछि जागिर गर्ने कि आफैँ टेलरिङ खोल्ने भनेर सोच्न भ्याइसकेको छैन ।’ उनले काठमाडौं महानगरलाई धन्यवाद दिइन् ।

महानगरपालिकाले अनलाइनबाटै फर्म भर्ने व्यवस्था मिलाएको थियो । तर अनलाइनबाट फर्म भर्न नजान्नेहरुको लागि तालिमस्थलमै फारम भर्न नाम टिपाउनेको लर्को लाग्यो । महानगरका कर्मचारीहरुलाई फारम भर्नेहरु नाम टिप्न भ्याइनभ्याइ थियो । लामो लाइन लागेर नाम टिपाएका सुमन शाही आत्तिए । उनले भीड देखेर नेपालमा युवाहरु बेरोजगार कति रहेछ भन्ने थाहा पाएको बताए ।

उनले नेपाल प्रेससँग भने, ‘म मात्र बेरोजगार रहेछ भनेको त कति हो कति । अब यहाँ आउनुभएको सबैले सीप सिक्न पाए बेरोजगारी कम हुने थियो कि ?’

शाहीले ग्राफिक डिजाइनको लागि नाम टिपाएका छन् । अझै पनि तालिम लिन पाउने हो कि होइन भनेर उनी आंशका व्यक्त गर्छन् ।

भन्छन्, ‘यत्रो मान्छे रहेछन् । फर्म भरेकोहरु मात्र आउँछन् जस्तो लागेको थियो । तालिम लिन पाउने हो कि होइन थाहा भएन । तालिम लिन पाए आइटी फिल्डमै केही गर्ने सोच छ । नेपाललाई पनि अगाडि बढाउने र अरुलाई पनि रोजगारी दिने सपना छ ।’

उनले महानगरलाई धन्यवाद दिँदै अरु स्थानीयतहले पनि यो कुरा सिक्नुपर्ने बताए ।

ब्याचलर पहिलो वर्ष पढ्दै गरेकी अनुषा पोखरेलले पनि यहीँ आएर ब्युटीपार्लरको लागि नाम टिपाइन् । उनी भन्छिन्, ‘यहाँ त मान्छे हुलका हुल छन् । यो भीड हेर्दा त यहाँ त यति धेरै बेरोजगार रहेछ कि मैले सोचेकै रहेनछ ।’

मेलामा तालिमको लागि छनौट भइसकेकाहरु तलिम लिन पाउनेमा ढुक्क थिए भने भर्खरै फारम भरेकाहरु अवसर नपाइने हो की भनेर आंशका व्यक्त गरिरहेका थिए । उनीहरु आपसमा आफूले सिक्न चाहेका तालिमको बारेमा कुराकानी गरिरहेका थिए ।

 

प्लस टु पास गरेका बालाजुका समिर तामाङ विदेश जाने तयारीमा छन् । विदेश जानुअघि सीपसिकेर जाने उनको सोच छ ।

महानगरका सहायक प्रवक्ता दिपक अधिकारीले यस वर्ष ५ हजार जनालाई रोजगारीसँग आवद्ध गर्ने भनेर अभियान थालिएको बताए ।

‘यसअघि पनि विभिन्न किसिमका तालिमहरु सञ्चालन गरिसकेका छौं । यो तालिम २०८१ सालमा भएको हुनाले प्रतिकात्मकरुपमा २०८१ जनालाई समेटिएको हो । तालिम दिइसकेपछि रोजगारदातासँग जोड्न प्रयास गर्छौं,’ उनले भने ।

अधिकारीका अनुसार डिग्री गरिसकेका विद्यार्थीसँग पनि केही सीप नभएको र विदेशमा जाँदा तल्लो स्तरको काम गर्नुपरेकाले सिकर्मी, डकर्मी लगायतका विभिन्न विधामा तालिम दिन थालिएको हो । तालिममा २७ वटा क्षेत्रहरु समेटिएको उनले बताए ।

‘हामी एक महिनासम्म तालिम दिन्छौं र तीनदिन रोजगार मेला गर्छौं । रोजगारमेलामा प्रशिक्षार्थीलाई सेवाप्रदायकहरुसँग जोड्ने काम गर्छौं,’ उनले भने ।

२०८१ जनाले भोलिदेखि नियमित रुपमा तालिम लिन पाउँछन् । सहभागीले यदि बीचमै तालिम छोडेमा महानगरलाई तालिमका लागि लाग्ने रकम हर्जानास्वरुप बुझाउनुपर्नेछ । तालिम .सकिएपछि आफैं स्वरोजगार गर्ने कि रोजगारी खोज्ने भनेर जानकारी दिनुपर्नेछ ।

महानगरले तालिमको लागि १० करोड रुपैयाँ खर्च गरेको छ । २०८१ जनालाई सिकाउने भनिएको तालिममा ५ हजार जनाले अनलाइन आवेदन दिएका थिए भने मेलामा ५ हजार भन्दा बढी सहभागीले नाम टिपाएका थिए । छनौट भएका २०८१ जनाबाहेकलाई भने छुट्टै तालिम दिने महानगरको तयारी छ ।

के-के सिकाईंदै छ सीप ?

सीप मेलामा तालिमका लागि १० वटा क्षेत्र निर्धारण गरिएका छन् । ती क्षेत्रभित्र २९ प्रकारका पेशागत तालिम हुनेछन् । मागका आधारमा थप क्षेत्र र पेशा थप गर्ने योजना छ ।

सुरु गर्न लागिएका तालिममध्ये अटोमोवाइल्स एउटा क्षेत्र हो । यसभित्र अटो इलेक्ट्रिक, अटो एअर कन्डिसन, मोटरवाइक र स्कुटर रिपेयर (इभी), इलेक्ट्रिकल कार रिपेयर (इभी)विषय छन् ।

दोस्रो निर्माण क्षेत्रमा सिकर्मी, टाइल एण्ड मार्वल फिटर, इलेक्ट्रिसियन र प्लम्बिङ् तालिम दिइनेछ । हस्पिटालिटी एण्ड म्यानेजमेन्ट विधामा वारिस्ता, फुड एण्ड कुक, वेकरी, वार टेन्डिङ् र वेटर र वेट्रेस प्रशिक्षण हुनेछन् । सूचनाप्रविधि (इन्फरमेसन एण्ड टेक्नोलोजी) अन्तरगत डिजिटल मार्केटिङ्, ग्राफिक्स डिजाइनिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेटवर्किङ्, सीसीटिभी क्यामरा विषयहरु राखिएका छन् ।

मेकानिकलमा वेल्डिङ् र रेफ्रिजेरेटर एण्ड एसी टेक्निसियनको तालिम हुनेछ । आर्ट एण्ड कल्चरमा आर्ट एण्ड स्कप्चरको प्रशिक्षण हुनेछ । गार्मेन्ट्स अन्तरगत टेलरिङ्/ड्रेस मेकर र फेसन डिजाइनिङको कक्षा हुनेछ । व्युटिसियन (सौन्दर्य कला) मा नेल आर्ट, मेक अप आर्ट, आइलेस आर्ट, हेअर कट एण्ड स्टाइल, र सैलुन प्रशिक्षण हुनेछन् ।

डिजाइनिङ् अन्तरगत साइन मेकिङ प्रशिक्षण हुनेछ । पुरोहितको पनि तालिम राखिएको छ । सामान्य कर्मकाण्ड र ज्योतिष सम्बन्धी प्रशिक्षण हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *