दुई प्रदेशका सांसदहरूको एउटै गुनासो : हामीलाई अधिकार भएन – Nepal Press

दुई प्रदेशका सांसदहरूको एउटै गुनासो : हामीलाई अधिकार भएन

कैलाली । सुदूरपश्चिम प्रदेश सभा र कोशी प्रदेश सभाका विषयगत समितिका सभापति तथा सदस्यहरूले संघीय सरकारले पर्याप्त कानुन निर्माण नगर्दा समस्या भएको गुनासो गरेका छन् ।

कोशी प्रदेशबाट सुदूरपश्चिम प्रदेश सभा भ्रमणमा आएका सुशासन तथा योजना समिति, न्याय प्रशासन तथा विधायन समिति र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति तथा सदस्यहरूले कोशी प्रदेशमा भएका समस्या र सम्भावनाका विषयमा सुदूरपश्चिममा चर्चा गरेका थिए ।

सुशासन तथा योजना समितिका सचिव सरिता पौडेल र सदस्य नारायण बहादुर मगरले सुशासन तथा योजनाका विषयमा प्रस्ट पारेका थिए । न्याय प्रशासन तथा विधायन समिति सचिव एक कुमार थापा र सदस्य लीलावल्लभ अधिकारीले कानुन निर्माण बारे जानकारी गराएका थिए ।

त्यस्तै, उद्योग पर्यटन तथा वातावरण समितिका भानुभक्त गुरागाईँ र उमाकान्त गौतमले त्यस विषयमा जानकारी गराएका थिए । गौतमले संघीय कानुन निर्माण समयमा नहुँदा प्रदेशमा समस्या भएको बताए । उनले आर्थिक सङ्कटका कारण उद्योगी पलायन हुने अवस्था सृजना भइरहेको बताएका थिए ।

सुदूरपश्चिम प्रदेशका अर्थ विकास तथा प्राकृतिक स्रोत समितिका ज्येष्ठ सदस्य मानबहादुर रावलले संघले प्रदेशलाई बलियो बनाउन नसकेको जिकिर गरेका थिए । सङ्घले अधिकार दिएर हामीले दिएको निर्देशन पनि कार्यान्वयन हुन सकेको छैन उनले गुनासो गरे ।

सुदूरपश्चिम प्रदेश विधायन तथा प्रदेश मामिला समितिबाट कल्पना भट्टले प्रदेशमा कानुन निर्माणको अवस्था बारे जानकारी गराएकी थिइन् । उद्योग पर्यटन तथा वातावरण समितिका सभापति गोपाल बहादुर विश्वकर्माले सुदूरपश्चिमको संसदीय समितिहरूलाई कोशी प्रदेश भ्रमण अनुभव आदानप्रदानको लागि निम्तो दिएका थिए । उनले पनि संविधान कार्यान्वयन नहुँदा सङ्घीयतामा समस्या देखिएको भन्दै संविधान कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

सुदूरपश्चिम प्रदेशका विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह विष्टले सङ्घीयता बलियो बनाउन निर्वाचन प्रणाली परिवर्तन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रमको सहजीकरण सुदूरपश्चिम प्रदेश सचिवालयका सचिव देवबहादुर बोगटीले गरेका थिए । उनले कोशी प्रदेश संसदीय समितिका सभापति तथा सदस्यहरुलाई सुदूरपश्चिमको भौगोलिक, प्राकृतिक तथा सांस्कृतिक महत्वबारे जानकारी गराएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर