भागवण्डा मिलाउन बागमतीमा पुनः फुटाइयो मन्त्रालय – Nepal Press

भागवण्डा मिलाउन बागमतीमा पुनः फुटाइयो मन्त्रालय

हेटौंडा । सत्तारुढ गठबन्धनको भागवण्डा मिलाउनको लागि बागमती प्रदेशमा पुनः मन्त्रालय विभाजन गरिएको छ । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तानको जिम्मामा रहेको सामजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाएको छ ।

अब उक्त मन्त्रालयको जिम्मेवारी एकीकृत समाजवादीको तर्फबाट विना विभागीय मन्त्री रहेकी रमा आलेमगरलाइ दिने भएको छ ।

गत चैत्र ११ गते बागमती प्रदेशको विना विभागीय मन्त्री नियुक्त भएकी आलेमगरको लागि मन्त्रालय फुटाएसङ्गै अब बागमती प्रदेशमा १३ वटा मन्त्रालय भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री गङ्गा नारायण श्रेष्ठले बताए ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलको हालसम्मको कार्यकालमा मन्त्रालय फुटाइएको यो दोश्रो घटना हो । यस अघि काङ्ग्रेससँगको सहकार्यको सरकारमा पनि उनले काङ्ग्रेसका रामकृष्ण चित्रकारको लागि पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय विभाजन गरेर उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

काङ्ग्रेसले सरकारलाइ दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी भुमिकामा पुगेपछि पुनः विश्वासको मतको लागि मनाउनको लागि उनले समाजवादी सभासद आलेलाई मन्त्रालय दिने सहमती गरेका थिए ।

एक सभासद मात्र कम भएको अवस्थामा विश्वासको मत पाउने अवस्था नरहेको र आफुले मन्त्रीको जिम्मेवारी नपाए विश्वासको मत नदिने आलेको अडानपछि मुख्यमन्त्रीले आलेलाइ मन्त्रालय दिने वचन दिएका थिए । मुख्यमन्त्रीको बचनपछी आलेले विश्वासको मत दिएको र त्यसको भोलिपल्ट उनलाइ विना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको थियो ।

प्रदेशसभाको दोश्रो कार्यकालमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका जम्कट्टेलले पहिलो निर्णयनै मन्त्रालयको संख्या कटौती गर्ने र चुस्त दुरुस्त प्रदेश सरकारलाइ भार नपर्नेगरि मन्त्रालय बनाउने थियो । तर सत्ता गठवन्धनको कारण आफ्नो सरकार जोगाउन उनले हालसम्म दोश्रो पटक मन्त्रालय विभाजन गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर