रुपन्देहीका स्वास्थ्य सेवामा बढ्दो वेथिति: फार्मेसी पढेको भारतीय नागरिकले गर्छन् अप्रेसन – Nepal Press

रुपन्देहीका स्वास्थ्य सेवामा बढ्दो वेथिति: फार्मेसी पढेको भारतीय नागरिकले गर्छन् अप्रेसन

मर्चवारमा डाक्टर भनेर झुक्काएर उपचार गर्ने भारतीय पक्राउ, बुटवल र भैरहवामा मेडिकल सिल गरेर अनुसन्धान

रुपन्देही । केही समययता रुपन्देहीका विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य संस्थाहरुमा बढेका वेथिति लगातार बाहिर आइरहेका छन् ।

चिकित्सक भएको बताउँदै भारतीय नागरिकले गर्ने उपचार, म्याद गुज्रेका औषधि बिक्री, औषधि पसलबाट नै लागूपदार्थ सेवनकर्तालाई समान सप्लाई केही दिनयता सार्वजनिक भएका घटनाहरु हुन् ।

६० किलोमिटर खुला सिमाना भएको रुपन्देहीमा उताबाट आएर अवैध तरिकाले यस्ता कारोबार गर्ने र भाग्ने घटनाहरु धेरैपटक भएपनि स्थायी रुपमै यहीँ बसेर यस्ता गतिविधि गर्दा पनि स्थानीय सरकार, स्थानीय प्रशासन तथा नागरिक समाजले उतीहरुमाथि प्रश्न उठाउन सकेका छैनन् । औषधिजस्तो गम्भीर विषयमा बिनाचेकजाँच घरघरमा पुगेर सर्वसाधारणलाई बिक्रीवितरण गर्ने काम अहिले पनि भइरहेको छ ।

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा अवैधरुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गर्ने भारतीय नागरिक पक्राउ परेका छन् । आफू चिकित्सक भएको बताउँदै नेपालमा दर्ताविनै स्वास्थ्य क्लिनिक संचालन गरिरहेका उनलाई प्रहरीले पक्राउ गरेको हो ।

भारतसँगको सीमावर्ती क्षेत्र रुपन्देहीको मर्चवारी गाउँपालिका–३ सेमरहवामा नैना हेल्थ क्लिनिक पसल संचालन गरी शल्यक्रियासमेत गर्ने गरेका नागन्द्र मिश्रा नामका भारतीय नागरीकलाई बुधवार रुपन्देही प्रशासनले नियन्त्रणमा लिएको हो ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको नेतृत्वमा गएको टोलीले स्थलगत अनुगमन र छानबिन पश्चात् उनलाई नियन्त्रणमा लिइएको हो । स्थलगत अनुगमन टोलीका अनुसार स्थानीय पूर्णकुमारी बरईको नाममा कर कार्यालयमा प्यान नम्बर दर्ता रहे पनि अन्य कुनैपनि निकायमा उक्त क्लिनिक दर्ता छैन ।

अनुगमन टोली पुग्दा एक वृद्धको शल्यक्रिया गरिरहेको अवस्थामा फेला परेका मिश्राले आफू भारतीय नगारिक रहेको र फार्मेसी अध्ययन गरेको बताएका थिए । प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद अर्यालले पूर्व सूचनाअनुसार उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको बताए ।

उनले भने, ‘ क्लिनिकमा फार्मेसी पढेको भारतीय नागरिकले शल्यक्रियासमेत गरेर बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने गरेको सूचना आएको थियो, स्थलगत छानबिनपश्चात् ‘यस बारेमा थप अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाउन भारतीय नागरीक मिश्रालाई नियन्त्रणमा लिइएको हो ।’

मिश्राले उपचार गरेका अन्य विरामीहरुस‍ँग बुझ्ने र यसमा अरुकोपनि संलग्नता भएरनभएको बारेमा छानबिन गरिने अर्यालले बताए । स्थलगत अनुगमन टोलीले उक्त क्लिनिकमा शिलबन्दी गरेको छ । तीन वर्षभन्दा धेरै समयदेखि संचालनमा रहेको उक्त क्लिनिकमा पायल्स, हर्निया, पत्थरी लगायतको शल्यक्रिया हुने गरेको थियो । पक्राउ परेका मिश्रामाथि थप अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ ।

स्थलगत अनुगमन टोलीका अनुसार, क्लिनिकमा यत्रतत्र औषधि छरिएका थिए । कैयन् औषधि म्याद गुज्रिएको भेटिएका थिए । सिरिन्ज लगायतका पुनःप्रयोग गर्न नमिल्ने औषधि भुइभरि थिए । स्थानीयका अनुसार मिश्राले आफूलाई चिकित्सक बताउने गरेका थिए । झ्यालमा किला गाडेर सलाइन पानी चढाउने र अक्सिजन दिने गरेको पाइएको थियो ।

मेडिकलबाटै लागूऔषध सेवनकर्तालाई सन्तुष्टि

बुटवलमा मेडिकल पसल राखेर लागूऔषध कारोबार गरेको प्रमाणसहित एक मेडिकल संचालकलाई प्रहरीले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका कालिकानगरस्थित कालिकापथमा रहेको बैदवार फार्मेसीका सञ्चालक कमलबहादुर बिक यस्तो आरोपमा पक्राउ परेका हुन् । प्रहरीले विशेष सूचना र प्रमाणका आधारमा उनलाई पक्राउ गरेको जनाएको छ ।

औषधिजस्तो संवेदनशील वस्तु डाक्टरको सिफारिसबिना बिक्री वितरण गर्ने गरेको र विभिन्न औषधि मिलाएर लागूऔषधका रूपमा युवाहरूलाई बिक्री वितरण गर्ने गरेको पाइएपछि इलाका प्रहरी कार्यालय बुटवलले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ घर भएका बिकले केही समययता सो स्थानमा मेडिकल संचालन गर्दै आएका थिए ।

पेट दुख्दा खाने औषधि डाइसाकोमिन पृगावलेन जो दुखाई कम गर्न खाने गरिन्छ यी दुई औषधि मिलाएर लागूऔषध प्रयोगकर्तालाई बिक्री गरेको प्रहरी भनाई छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले लागूऔषध प्रयोगकर्ताहरूको सूचनाको आधारमा मेडिकलमा पुगेर संचालकलाई नियन्त्रणमा लिएको बताए ।

डाक्टरको सिफारिसबिना औषधि बिक्री वितरण गरेको केही औषधिहरू लागूऔषधका रूपमा प्रयोग गर्ने गरी मिलाएर बिक्री गरेको पाइएको उनको भनाइ छ । प्रहरीले मेडिकल सञ्चालकको घरबाट ठूलो परिणाममा त्यस्ता औषधि फेला परेको बताएको छ ।

प्रहरीले केही लागूऔषध प्रयोगकर्ता र मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । स्थानीयका अनुसार ती संचालक राती अबेरसम्म र बिहानपनि निकै छिटो मेडिकल पसल खोल्ने गरेकाले आशंका बढाएको थियो ।

औषधि ब्यवसायी संघ रूपन्देहीले डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्नु गैरकानुनी रहेको प्रष्ट पारेको छ । ‘छुट्टाछुट्टै बेचेमा ती पेट र नशाका औषधी नै हुन् तर मिसाएर ठूलो परिणाममा बेचेको प्रहरीले भेटाएको छ, सबै विषय अनुसन्धानपछि खुल्नेछ, हरेक व्यवसायीले आफ्नो जिम्मेवारी र कर्तव्यअनुसार चल्न सक्नुपर्छ’संघका उपाध्यक्ष नारायण थापाले भने ।

भैरहवामा भेटियो स्वास्थ्य संस्था दर्ता नगरी संचालन

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा अधिकांश स्वास्थ्य संस्थाहरु नगरपालिकाको कार्यालयमा दर्तारनविकरण नभइ सञ्चालनमा रहेको पाइएको जनाएको छ । कार्यालयले नगर क्षेत्रमा रहेका औषधि पसल, स्वास्थ्य क्लिनिक, डेण्टल लगायत स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेपछि यस्तो अवस्था भेटिएको जनाएको छ ।

अनुगमन समिति संयोजक एवं उपप्रमुख उमा अधिकारीको संयोजकत्वमा नियमित अनुगमन अन्तर्गत नगरमा रहेका १७ वटा विभिन्न स्वास्थ्य संस्थाहरुमा अनुगमन गरेकोमा एक औषधि पसलमा म्याद गुज्रिएको औषधी र दर्ता पनि नरहेको पाइएपछि औषधि जफत गरी उक्त पसल तत्कालका लागि बन्द गरी कारवाही गरेका छौँ ।’

अनुगमन समितिले बन्द गरेको पसल सञ्चालकलाई पसलसँग सम्बन्धित कागजातहरुसहित नगरपालिकाको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ ।

अनुगमनको क्रममा केही स्वास्थ्य संस्थाहरु मापदण्डमा सञ्चालनमा रहेको पाइएको र अधिकांश नगरपालिकाको कार्यालयमा दर्तारनविकरण नभइ सञ्चालनमा रहेको पाइएकोले मापदण्डमा सञ्चालन गर्न निर्देशन दिदै पहिलो पटकको लागि सचेत गराइएको उपप्रमुख अधिकारीको भनाइ छ ।

उनले अनुगमन निरन्तर हुने भएकोले सचेत गराइएको स्वास्थ्य संस्थाहरुमा पुनः अनुगमन गरिने र सुधार नभएको पाइएमा कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइने बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *