जर्नेलको ‘उमेर कीर्ते’ प्रकरण- पनिकाको ढड्डामै केरमेट, बल्खुमा पनि रेकर्ड मेटाउन ताराध्वजको ताकेता – Nepal Press

जर्नेलको ‘उमेर कीर्ते’ प्रकरण- पनिकाको ढड्डामै केरमेट, बल्खुमा पनि रेकर्ड मेटाउन ताराध्वजको ताकेता

काठमाडौं । नागरिकतामा उमेर कीर्ते गरेको आरोप लागेका उपरथी ताराध्वज पाण्डेले जागिर खान र रथी बढुवा भएर भावी प्रधान सेनापति बन्ने लाइनमा बस्न एसएलसी परीषाफलको ढड्डामै केरमेट गरेको पाइएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको ढड्डामै घुसेर ‘मार्क रजिष्टर’ मा केरमेट गरी उमेर सच्याएको खुलेको हो । २०४२ सालमा जागिर खाने उमेर घटाउन नागरिकतामा कीर्ते गरेपछि पनिकाको ढड्डामा साविक जन्म मिति २०२१ माघ १२ लाई केरमेट गरेर २०२३ मंसिर २२ कायम गरिएको पाइएको छ ।

त्यसबेला जागिर खान २१ वर्ष नकटेको हुनुपर्नेमा उनको जन्म मिति अनुसार २०४३ सालमा भर्ती हुन २२ वर्ष उमेरले नदिएकाले उमेरमा कीर्ते गरेको खुलासा नेपाल प्रेसले यसअघि गरिसकेको छ । त्यसलाई पुष्टि गर्ने थप आधार समेत भेटिएका छन् ।

यो पनि पढ्नुस् : ‘उमेर कीर्ते’ गरेर प्रधान सेनापति बन्ने प्रयासमा पाण्डे, रथी बढुवा सिफारिसविरुद्ध प्रमाणसहित उजुरी

२०३८ सालमा एसएलसी पास गरेका पाण्डेको मार्क रजिष्टरभित्र २०४२ चैत २५ गते केरमेट गरिएको थियो । उनको सिम्बोल नम्बर ८३५२ बी रहेको थियो । जबकी प्रमाणपत्र तह पास गरेको मार्क ढड्डामा जन्म मिति २०२१ नै कायम रहेको प्रमाण छ ।

पाण्डेले यसबीचमा त्रिवि परीक्षा निन्यन्त्रण कार्यालय परीक्षा शाखामा समेत केरमेट गरेर केरमेट गराउन प्रयास गरेको पाइएको छ । यसबारेमा यथार्थ छानविन गर्न माग गर्दै रक्षा मन्त्रालयमा अर्को उजुरी समेत परेको छ ।

उजुरीमा तत्कालीन नियम अनुसार प्रवेशिका परीक्षाको नतिजामा जन्म मिति वा अन्य फरक भएमा ६ महिनाभित्र सच्याउनुपर्ने प्रावधान रहेकोमा पाण्डेको उमेर ४ वर्षपछि सच्याइएको कुरा नै गैरकानूनी रहेको उल्लेख छ ।

हालका सेनापति प्रभुराम शर्मापछि नेपाली सेनाको कमाण्ड सम्हाल्नेगरी रथीमा पदोन्नति सिफारिस भएका पाण्डेको बढुवा रोकी सैनिक ऐन तथा मुलुकी अपराध संहिताबमोजिम कारबाही गर्न माग गर्दै जंगी अड्डामा उजुरीसमेत परेको थियो । अहिले एकपछि अरु प्रमाणसमेत भेटिएपछि सिफारिस अघि बढाउन सरकार र जंगी अड्डालाई नै नैतिक संकट परेको छ ।

सैनिक मुख्यालयले असोज ३० गते सरोजप्रताप राणाको अवकाशपछि रिक्त हुन लागेको रथी पदमा बढुवा सिफारिसका लागि युद्धकार्य विभागका प्रमुख पाण्डेको नाम सिफारिस गरेको ७ दिने सूचना प्रकाशित गरेको थियो । यो सैनिक ऐनबमोजिमको सूचना हो ।

यो ७ दिनकै बीचमा पाण्डेले सरकारी कागजात कीर्ते गरेको र उमेर घटाएर नागरिकता बनाई जागिर खाएको प्रमाणसहित प्रधान सेनापति शर्मासहित प्रधानमन्त्री,रक्षा र संसदको राज्य व्यवस्था तथा सुशासन समितिलगायतका निकायमा लिखित उजुरी परेको थियो । अहिले थप उजुरीहरू प्रमाणसहित आएको समितिले जनाएको छ ।

मन्त्रिपरिषदले पाण्डेलाई बढुवा गरिसकेको छैन । यद्यपि उमेर विवाद बाहिर नआउँदै उनले शक्तिकेन्द्रमार्फत आफ्नो बढुवाको निर्णय गराउन राजनीतिक नेतृत्वलाई समेत दबाब बढाएका छन् । उनले सेनापति आउनासाथ रथीमा बढुवा हुने प्रचार पनि गराइरहेका छन् ।

ताराध्वजले नागरिकतामा उमेर किर्ते गरेर अर्को बनाएको प्रमाण समेत भेटिएको छ । उनले जागिर खाने बेला बनाएको नागरिकताको नमबर ३६०८६ रहेको छ । तर काठमाडांै जिल्ला प्रशासनबाटै उनको नाममा जारी भएको नागरिकताको अर्को नम्बर १६०८६ समेत पाइएको छ ।

ताराध्वजले कसरी गरे कीर्ते ?

नेपाल प्रेसलाई प्राप्त ‘अति गोप्य’ प्रमाणसहितको उजुरीमा उपरथी पाण्डेले २०४३ सालमा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना हुने बेला २ वर्ष उमेर घटाएर नागरिकता बनाएको पाइएको छ । जबकी उनका अरु सरकारी कागजातमा अर्कै जन्म मिति छ ।

पाण्डेको एसएलसी बोर्डको प्रमाणपत्र ढड्डा सच्याए पनि क्याम्पसको रेकर्ड तथा त्रिभुवन विश्वविद्यालय परीक्षण नियन्त्रण कार्यालयको दर्ता कार्डमा जन्म मिति २०२१ मघ १२ गते उल्लेख छ ।

पाण्डे २०४३ सालमा सेनामा भर्ति हुने बेला उनको नागरिकतामा उमेर घटाइएको उजुरीमा उल्लेख छ । २०२१ म जन्मिएका पाण्डेले २०४३ मा जागिर खाने बेला २२ वर्ष नाघेको हुनाले २१ वर्षमुनिको उमेर हदका कारण नागरिकतामा उमेर घटाइएको हो ।

पाण्डेमाथि मुलुकी अपराध संहिता र सैनिक ऐन २०६३ बमोजिम कीर्तेमा कारबाहीको माग गर्दै परेको उजुरीउपर छानबिन हुन्छ कि पाण्डेलाई सेनापति बनाउने योजनाबमोजिम रथीमा पदोन्नति गरिन्छ ? अहिलेको मुख्य प्रश्न यो बनेको छ ।

उमेर विवादमा के छ प्रचलन ?

निजामति तथा जंगी नियमअनुसार नागरिकता र शैक्षिक प्रमाणपत्रलगायत सरकारी कागजमा व्यक्तिको उमेर फरक परे वा विवाद भएमा जुन पहिलो जन्म मिति हो त्यसैलाई कायम गर्ने व्यवस्था छ । नेपाली सेनामा यसअघि पनि उमेर विवादमा सोही विधिबाट धेरै जर्नेलले पहिलो जन्म मितिका आधारमा अवकाश पाएका छन् ।

नेपाली सेनामा नागरिकतामा उमेर सच्याएर जागिर खाने प्रचलन नयाँ होइन । यसअघि पनि धेरै प्रभावशाली जर्नेलहरूले त्यसै गरेका थिए । यतिसम्मकी पूर्वप्रधान सेनापति रुक्माङ्द कटवालको समेत उमेर विवाद सर्वोच्च अदालतमा पुगेको थियो ।

तत्कालीन प्रधान सेनापतिहरू गौरवशमजेर जबरा, राजेन्द्र क्षेत्री र पूर्णचन्द्र थापाको पालामा पनि यस्तैगरी दुईटा जन्म मितिका आधारमा जागिर खाने जर्नेलहरूको विवाद आउँदा जुन मिति जेठो छ सोही मितिमा उनीहरूलाई अवकाशमा पठाएका थिए ।

उपरथी जगदीशचन्द्र पोखरेल, देवकुमार सुवेदी, दीपक भारती, सहायकरथीहरू प्रदीप अधिकारी, रवीन्द्रदास श्रेष्ठ, ज्ञानेन्द्र रायमाझीलगायतका उच्च अधिकारी यसबीचमा नागरिकतामा उमेर घटाएर जागिर खाए पनि शैक्षिक प्रमाणपत्रको उमेरका आधारमा अवकाश भएका हुन् ।

पाण्डेको हकमा पनि सोही नियम आकर्षित हुने र उनले उसै पनि उमेर कीर्ते गरेर डेढ वर्षभन्दा बढी जागिर खाइसकेको पाइएकाले सेनापतिले नै उनको नाम बढुवा सिफारिसबाट फिर्ता गरी घर पठाउनु हितकर हुने सुझाव कतिपय उच्च अधिकारीले दिएका छन् ।

त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रक कार्यालयको गोप्य शाखाबाट अभिलेख मगाएर हेर्नासाथ पाण्डेले कीर्ते गरेर नागरिकता बनाएको प्रष्ट हुने उजुरीकर्ताले जनाएका छन् । कीर्ते प्रमाणित हुँदा हुँदै पनि उनको बढुवा प्रक्रिया अघि बढाए अदालत जाने तयारी समेत छ ।

आचरणमा अराजक

उमेर कीर्ते गरेर जागिर खाएको आरोप लागेका उपरथी पाण्डेको व्यक्तिगत आचरण पनि उच्च सैनिक अधिकृतको जस्तो नरहेको टिप्पणी हुने गर्छ । उनी पटकपटक विवादमा पर्दै आएका अधिकृत हुन् ।

पछिल्लो पटक सोल्टी होटलमा आयोजित एक कार्यक्रममा काठमाडौंस्थित भारतीय दूतावासका सैनिक सहचारी अमित शर्मालाई ‘रेसिस्ट’ शब्दका साथ अपमानजनक व्यवहार गरेपछि भारतीय दूतावासले जंगी अड्डासमक्ष आपत्ति जनाएको थियो ।

यसबारेमा सेनापति शर्मासँगै कुरा भएको स्रोतले जनाएको छ । सहकर्मी र जुनियर अधिकृतहरुलाई छाडा शब्दले गाली गर्ने तथा महिला अधिकृतहरुमाथि कुण्ठाग्रस्त व्यवहारका कारण समेत आलोचना हुने गरेको पाण्डे जनयुद्धकालमा बर्दियामा भएका सबैभन्दा बढी हत्या तथा सर्वसाधारण बेपत्ता पार्ने प्रकरणमा मुछिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *