एनआरएनए कार्यालयभित्र कुटपिटकाे घटनामा युवासंघका एक कार्यकर्ता पक्राउ – Nepal Press

एनआरएनए कार्यालयभित्र कुटपिटकाे घटनामा युवासंघका एक कार्यकर्ता पक्राउ

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यालयभित्र भएकाे कुटपिटकाे घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका युवा संघका कार्यकर्ता दीपेन्द्र तामाङ रहेका छन् ।

उनलाई बिहीबार राजधानीको गौरीघाटबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले जानकारी दिए । मंगलबार युवा संघका कार्यकर्ताले बालुवाटारस्थित संघको कार्यालयमा एनआरएनएकाे बेल्जियम पार्षद ओम शर्मामाथि हातपात गरेका थिए ।

सो घटनाको अनुसन्धानका क्रममा संघको कार्यालयमा रहेको सीसीटीभी फुटेज मगाएर अनुसन्धान गर्दा उनको संलग्नता देखिएको प्रहरीको भनाइ छ ।

यस्तै सोही घटनामा एनआरएनएकाे समानान्तर कार्यसमितिका अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीलगायतमाथि पनि दुर्व्यवहार गरिएकाे आराेप छ । सो घटनापछि ओम शर्माले उजुरी दिएका थिए । यस्तै आरके शर्माले पनि अर्को छुट्टै उजुरी दिएका थिए ।

संघको कार्यालयमा निर्वाचित अध्यक्ष बद्री केसीले युवासंघलाई बोलाएर कार्यक्रम राखेको भन्दै आरके शर्मालगायतले विरोध र हाेहल्ला गरेपछि दुईपक्षीय विवादका क्रममा आक्रमण भएको बताइएको छ । एमाले नेता महेश बस्नेत समेत सहभागी कार्यक्रममा भएको यो घटनापछि केसीले पनि प्रहरी वृत्त दरबारमार्गमा शान्तिसुरक्षाको माग गर्दै उजुरी दिएका छन् ।

११ औँ महाधिवेशनमा धाँधली गरेर बद्री केसीले चुनाव जितेको आरके पक्षले आरोप लगाएपछि एनआरएनएमा दुई पक्षीय विवाद चर्किएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर