एनआरएनए प्रकरणमा पत्रकार महासंघको विवादास्पद विज्ञप्ति, गठबन्धनको भ्रातृ संस्था बनेको आरोप – Nepal Press

एनआरएनए प्रकरणमा पत्रकार महासंघको विवादास्पद विज्ञप्ति, गठबन्धनको भ्रातृ संस्था बनेको आरोप

काठमाडौं । नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ पछिल्लो समय सत्ता गठबन्धनको भ्रातृ संगठनमा परिणत भएको आरोप पुष्टि हुनेगरी बुधबार एउटा प्रेस विज्ञप्ति जारी भएको छ ।

महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष डा. बद्री केसीलाई एनआरएनको एक पक्षका अध्यक्ष भनेर सम्बोधन गर्दै माओवादी उम्मेदवारका रूपमा पराजित आरके शर्माको पक्षधरता लिइएको छ ।

मंगलबार एनआरएनए कार्यालयमा भएको स्वागत कार्यक्रम बिथोल्न माओवादी नेताहरूसहित गएका आरके शर्मा र बुद्धि सुवेदीलगायतले होहल्ला गरेपछि भएको विवादका क्रममा आरकेसँगै गएका बेल्जियमनिवासी सञ्चारकर्मी ओम शर्मालाई चोट लागेको थियो ।

शर्मामाथि एमालेनिकट युवा संघबाट आक्रमण भएको भन्दै पत्रकार महासंघले निन्दा गरेर निकालेको विज्ञप्तिमा गैरआवासीय नेपाली संघको निर्वाचनबाट निर्वाचित नेतृत्वको अस्तित्व अश्वीकार गरिएकोमा महासंघको व्यवसायिक तटस्थताप्रति प्रश्न उठेको हो ।

जबकी एनआरएनको निर्वाचनबाट बद्री केसी अध्यक्ष निर्वाचित भएका छन् । पराजित पक्षले कार्यालय कब्जा गर्न जाने क्रममा विवाद हुँदा शर्मालाई चोट लागेका थियो । शर्मा स्वयम् एनआरएनको पराजित समूहका अभियन्तासमेत हुन् ।

महासंघले ओम शर्माको पक्षमा विज्ञप्ति निकालेको भए विवाद हुने थिएन । किनकी शर्मालाई चोट लागेको थियो र उनी महासंघको बेल्जियम च्याप्टरका अध्यक्ष पनि हुन् । तर, निर्वाचित अध्यक्षलाई एक पक्षको अध्यक्ष भनेर विज्ञप्ति जारी गर्नुले भोलि पत्रकार महासंघका महासचिव पुरीलाई पनि माओवादी पक्षका महासचिव भनेर एनआरएनएले विज्ञप्ति निकालेमा के हुने भन्ने प्रश्न पत्रकारले उठाएका छन् ।

महासंघले एनआरएनको अर्को पक्षको अध्यक्ष पराजित उम्मेदवारलाई घोषणा गरेको हो ? भन्ने समेत उठेको छ ।

प्रेस चौतारी नेपालका उपाध्यक्ष राजेश राईले पत्रकार महासंघका नेतृत्वले पछिल्लो समय महासंघको गरिमासमेत भत्काएर सत्तारुढ गठबन्धनआबद्ध दलहरूको शाखाजस्तो बनाइरहेको बताए । एनआरएन प्रकरणमा महासंघको विज्ञप्ति माओवादी उम्मेवार पराजित भएपछिको रनाहामा आएको हुनसक्ने भन्दै महासंघको साझा चरित्र जोगाउन आग्रहसमेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर