एनआरएनएको बैंक खाता रोक्का गर्न पराजित पक्षकाे निवेदन – Nepal Press

एनआरएनएको बैंक खाता रोक्का गर्न पराजित पक्षकाे निवेदन

काठमाडौं।  गैरआवासीय नेपाली संघ (एनआरएनए) काे पराजिन पक्षले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएको छ ।  पराजित पक्षले गठन गरेको कार्यसमितिका अध्यक्ष आरके शर्माले ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोक दाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् ।

ती बैंकमा पत्राचार गरिएको र यसबारे परराष्ट्र र संघका प्रमुख कार्यकारी अधिकारी अधिकृत (सीईओ) राजेन्द्रकुमार राउतलाई पनि जानकारी गराइएको शर्मा नेतृत्वको एनआरएनएका महासचिव बुद्धि सुवेदीले जानकारी दिए । उनले भने, ‘बैंकलाई पत्राचारका साथै आइतबार सीईओलाई पनि तत्काल खाता सञ्चालन नगर्न भनेर हामीले मौखिकरुपमा समेत भनेका छौँ ।’

अध्यक्ष शर्मासहितका पदाधिकारी नियमित कार्य सञ्चालनका लागि भन्दै बालुवाटारस्थित संघको कार्यालयमा पुगेका थिए । तर, अध्यक्षको कोठा बन्द गरिएका कारण शर्माले प्रवेश गर्न पाएनन् । त्यसपछि उनले सीईओसहितका कर्मचारीसँग छलफल गरेका थिए । त्यसै क्रममा शर्माले संघको नाममा रहेका कुनै पनि बैंक खाताबाट तत्काल आर्थिक कारोबार नगर्न र कार्यालयको ताला चाबी जिम्मा लगाउन सीईओलाई आग्रह गरेका थिए । तर, त्यस क्रममा राउतले संघको सम्पूर्ण तालाचाबी डा. बद्री केसीसँग रहेको जानकारी गराएका थिए ।

भेटपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष शर्माले एनआरएनएको १८ वटै बैंक खातामा विश्वभरका नेपालीको सम्पत्ति रहेकाले कुनै अमुक र स्वघोषित अध्यक्षको निर्देशनमा संचालन गरिनु अवैध हुने भएकाले तत्काललाई रोक्का गर्नुपर्ने बताए । उनले भने, ‘संघको आधिकारिक बैंक खातामा रहेको पैसा आफूखुशी चलाउन पाइँदैन । विधि र प्रक्रिया पुरा गरिसकेपछि हामी त्यसलाई पुनःसंचालनमा ल्याउँछौं । कार्यालयको सचिवालय पुनसंरचना गरी व्यवस्थित ढंगले चलाउँछौं । स्वघोषित अवैध समितिले सचिवालय र बैंक खातामा हस्तक्षेप गर्ने प्रयास गरे त्यो किर्ते र अवैधानिक हुनजान्छ ।’

शर्माले नेतृत्व गरेको एनआरएनए आइसीसीले आधिकारिकताको दाबी गर्दै गत शुक्रबार नै परराष्ट्र मन्त्रालयमा निवेदन दिइसकेको छ । आइतबार शर्मासहितका पदाधिकारीले परराष्ट्रमा पुगेर आधिकारिकताका लागि आवश्यक प्रमाण पेश गरेका छन् । आफूहरुले सहसचिव अमृत राईलाई आधिकारिकताको निवेदनअनुसार आवश्यक प्रमाण हस्तान्तरण गरेको भन्दै महासचिव सुवेदीले छिटै फाइल अध्ययन गरेर प्रक्रिया अघि बढाउने आश्वासन दिएको बताए । राईले धाँधली भएको कुरा विभिन्न माध्यमबाट आएको भन्दै मन्त्री एनपी साउदसँग परामर्श गरेर नियमसंगत ढंगले अघि बढ्ने कुरा बताएको बुझिएको छ ।

अनलाइन माध्यमबाट गत अक्टोबर १९ मा भएको निर्वाचनमा धाँधली भएको भन्दै एक समूहले शर्माको नेतृत्वमा नयाँ कार्यसमितिको घोषणा गरेको थियो । त्यसै समितिले अधिवेशन सम्पन्न गरेको सहितका कागजपत्र पेश गर्दै परराष्ट्र मन्त्रालयमा आफूहरु आधिकारिक रहेको दावी गरेको हो । उक्त निवेदन परराष्ट्र मन्त्रालयमा दर्ता भइसकेको मन्त्रालयले जनाएको छ । मन्त्रालयमा दर्ता गरिएको निवेदनमा अध्यक्ष आरके शर्मा, महासचिव बुद्धि सुवेदीसहित पदाधिकारीको नामावली पेश गरिएको छ ।


प्रतिक्रिया

One thought on “एनआरएनएको बैंक खाता रोक्का गर्न पराजित पक्षकाे निवेदन

  1. यिनलाई के शब्दले गाली गरौं ? अहिलेको शब्दकोषले नपुग्ने भयो । दिल्लीको आदेश प्रचण्डलाई, प्रचण्डको आदेश आरकेलाई । यी आदेशपालकहरूलाई बन्देग गरौ । यी फटाहा हरूवाहरू एमाले नजिककोले अध्यक्ष जित्यो ।त्यसैले दिल्लीले आफ्नो नोकरलाई, प्रचण्डले आफ्नो नोकरलाई हप्कायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर