एनआरएन चुनावमा बबण्डर- प्रविधिमा खोट, हारेको चोट – Nepal Press

एनआरएन चुनावमा बबण्डर- प्रविधिमा खोट, हारेको चोट

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव परिणाम आए लगत्तै बबण्डर भएको छ । अध्यक्षमा पराजित दुई उम्मेदवारले निर्वाचन परिणाम नमान्ने घोषणा गरेका छन् ।

हिजो मध्यरातसम्म भएको चुनावको मतगणनापछि अध्यक्षमा डा. बद्री केसी निर्वाचित भएका थिए । निर्वाचन आयोगका अनुसार उनले १३७८ भोट ल्याए भने प्रतिस्पर्धी उम्मेदवारहरू आरके शर्मा र महेश श्रेष्ठले क्रमशः १२८१ र १२२५ मत ल्याएका छन् । यसरी त्रिपक्षीयरूपमा ‘नेट टु नेक’ प्रतिस्पर्धा भएपछि हार्नेहरूलाई परिणाम स्वीकार्न गाह्रो परिरहेको छ ।

पराजित उम्मेदवारद्वय शर्मा र श्रेष्ठले निर्वाचनको नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेको बताएका छन् । अनलाइन भोटिङ सिस्टम नै ह्याक गरेर डा. बद्री केसीलाई जिताइएको उनीहरूको दाबी छ ।

उनीहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्याभन्दा बढी हुन्छ । यस्तो निर्वाचन परिणाम स्वीकार गर्ने कुनै आधार छैन ।’

अनलाइन भोटिङ सिस्टम ह्याक गरेर उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलको मत शून्य देखाइएको पनि उनीहरूको दावी छ । पूर्वनियोजितरूपमा सेटिङ गरेर नतिजा घोषणा गरिएको उनीहरूले आरोप लगाएका छन् । दुवै उम्मेदवार चुनाव रद्द गराउन माग गर्दै अदालत जाने तथा परराष्ट्र मन्त्रालयसमेत गुहार्ने तयारीमा रहेको बुझिएको छ ।

विवाद के हो ?

एनआरएनको यस महाधिवेशनमा पहिलोपटक फेस भेरिफिकेसन पद्दतिबाट मतदान गराइएको थियो । निर्वाचनस्थलमा भौतिकरुपमा उपस्थित मतदाताहरूले भौतिकरूपमै मतदान गरेका थिए भने बाहिर रहेकाहरूले भर्चुअल माध्यमबाट मतदानमा सहभागी भएका थिए ।

अनलाइन भोटिङका लागि अष्ट्रेलियामा रहेको कम्पनी भेरोलाई जिम्मा दिइएको थियो । उक्त मतदानपछि उक्त कम्पनीले पठाएको विवरणअनुसार निर्वाचन समितिले परिणाम घोषणा गरेको हो ।

प्रकाशित परिणाममा महेश श्रेष्ठको प्यानलबाट उठेका उपाध्यक्षका उम्मेदवार डा. केशव पौडेलले काठमाडौंबाट पाएको मत शून्य देखिएको छ । उपाध्यक्षका बलिया प्रतिस्पर्धी पौडेलले शून्य भोट पाउन सम्भव नै थिएन । किनकी उनी आफैं मतदानस्थलमा उपस्थित भएर मतदान गरेका थिए । उनले अरु कसैलाई भोट हाल्ने कुरा नै आउँदैन ।

तर, निर्वाचन समितिले यति ‘कमनसेन्स’ पनि नराख्दा चुनावी परिणाममा विवाद आएको अष्ट्रेलियाबाट आएका एक प्रतिनिधि बताउँछन् । ती प्रतिनिधिका अनुसार अष्ट्रेलियामा पनि यही कम्पनीबाट भोटिङ गराइएको थियो र यस्तै समस्या आएको थियो ।

‘त्यसबेला म आफैं निर्वाचन समितिमा थिए । शून्य मत देखिनासाथ हामीले तत्काल इन्क्वाइरी गरेर सर्ट आउट गरेका थियौं । यहाँ निर्वाचन समितिका सदस्यले त्यसतर्फ विचार गरेनन् । या नियतवश चुनाव परिणामलाई विवादमा पार्न खोजेको पनि हुन सक्छ,’ उनी भन्छन् ।

उनको भनाइमा शून्य मत देखिनासाथ समितिले कम्पनीलाई जानकारी दिएर यसको निर्क्यौल निकाल्नुपर्ने थियो । तर, यति एउटा प्राविधिक त्रुटिले सींगै मत परिणाम नमान्ने भन्नु गलत हुने उनको टिप्पणी छ ।

‘तत्कालै समाधान हुन सक्ने एउटा प्राविधिक समस्यालाई ठूलो बनाएर निर्वाचन नस्वीकार्ने भन्नु चाहीँ पराजित मानसिकता मात्र हो,’ उनले भने ।

डा. पौडेलको काठमाडौंको भोट शून्य देखाए पनि ‘ग्लोबल भोट’ भने सही नै देखाएको उनले बताए ।

‘ग्लोबल भोटमा काठमाडौंको पनि जोडिएर कुल मतसंख्या देखिएको छ । खाली काठमाडौंको सूचीमा गडबडी भएको हो,’ उनले भने ।

चुनाव हारेको झोकमा यसरी बबण्डर गर्दा एनआरएनको छवि खराब हुने सबै गैरआवासीय नेपालीहरूले लज्जित हुनुपर्ने उनको चिन्ता छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर