बलिया एजेन्डासहितको दावेदारी: एनआरएन उपाध्यक्षको दौडमा यी पीएचडीधारी – Nepal Press

बलिया एजेन्डासहितको दावेदारी: एनआरएन उपाध्यक्षको दौडमा यी पीएचडीधारी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन काठमाडौंमा हिजोबाट सुरु भएको छ । भोलि नयाँ नेतृत्वका लागि चुनाव हुँदैछ, जहाँ ४ जनाले अध्यक्षमा उम्मेदवारी दिएका छन् ।

आगामी दुई वर्षका लागि एनआरएनको अध्यक्ष को बन्ला भन्ने कौतुहलबीच उपाध्यक्षको दौड पनि कम्ता पेचिलो छैन । एनआरएनमा ६ जना उपाध्यक्ष (खुला) का लागि १८ जनाले उम्मेदवारी दिएका छन् । उनीहरुमध्येका एक बलिया प्रत्याशी हुन् डा. विनोद श्रेष्ठ ।

१५ वर्षदेखि अष्ट्रेलिया बस्दै आएका श्रेष्ठ विज्ञतासहितको नेतृत्वमा विश्वास गर्छन् । उनी स्वयं एक सिभिल इन्जिनियर हुन् । विदेशी भूमिमा आफ्नो विज्ञता बेचिरहेका उनी स्वदेशका निम्ति केही योगदान गर्ने हुटहुटीबाट उत्साहित छन् । यही हुटहुटीले उनमा एनआरएनएको नेतृत्वको चुनावमा धकेलेको छ । तर, उनले उपाध्यक्ष नै किन रोजे ?

डा. श्रेष्ठका अनुसार एनआरएनमा ६ जना उपाध्यक्षले ६ वटा मुख्य विभाग हेर्ने अभ्यास छ । त्यसमध्येको ज्ञान, सीप तथा प्रविधिसम्बन्धी विभाग सम्हालेर आफ्नो विज्ञता एवम् अनुभव त्यहाँ खन्याउन चाहन्छन् ।

डा. श्रेष्ठ भन्छन्, ‘यो विभागबाट केही गतिविधिहरु भइरहेका छन् । तर, परिणाममुखी काम हुन सकेको छैन । मेरो लक्ष्य भनेको विभिन्न देशहरुमा आआफ्नो विज्ञता हासिल गरेका नेपालीहरुबीच एउटा सञ्जालको निर्माण गरेर त्यसलाई नेपालको हितमा सदुपयोग गर्ने हो ।’

एनआरएनको चुनाव भन्नेबित्तिकै नेपालमा धेरैले सोच्न थालेका छन् कि यो भनेको विदेशमा बसेर मनग्गे पैसा कमाइरहेका धनाढ्यहरुको राजनीति गर्ने थलो हो । हुन पनि एनआरएनको चुनावमा नेपालका राजनीतिक दलहरुको कालो छायाँ पर्न थालिसकेको छ । अरु बेला नेपालका नेता र दलहरुलाई गाली गरेर नथाक्ने एनआरएनहरु आफ्नै नेतृत्वको चुनावमा दलीय आस्थाका आधारमा भोट हाल्न थालेका छन् ।

यस विषयमा डा. श्रेष्ठको फरक दृष्टिकोण छ ।

उनी भन्छन्, ‘पहिलो कुरा त जहाँ गए पनि लाइक माइन्डेड मान्छेहरु एक ठाउँमा आउनु स्वाभाविक प्रक्रिया हो । हामी नेपालमा छँदा एउटा सर्कल र नेटवर्क हुन्छ भने विदेशमा गएपछि पनि त्यसले निरन्तरता पाउन सक्छ । त्यसैले एनआरएनको चुनावमा पनि उस्तै विचार मिल्नेहरुबीचको सहकार्यलाई अन्यथा लिनु हुँदैन । तर, मलाई लाग्दैन कि मतदाताहरुले राजनीतिक आस्थाका आधारमा नै मत दिनेछन् । कसैले पनि एउटा सिंगो प्यानललाई भोट दिने सम्भावना म देख्दिनँ । नतिजामा त्यस्तो प्रतिविम्बित हुनेछ ।’

डा. श्रेष्ठ स्वयं अध्यक्षका प्रत्याशी डा. बद्री केसीको प्यानलबाट उठेका हुन् । केसी एमाले निकट उम्मेदवार मानिएका छन् । तर, यो प्यानलमा फरक फरक दलगत आस्था बोकेका उम्मेदवारहरुलाई समेटिएको डा. श्रेष्ठको दाबी छ ।

‘व्यक्तिगत रुपमा सबैको कुनै अमूक पार्टीमा झुकाव हुनसक्ला । तर, यो प्यानलमा राजनीतिक आस्थाभन्दा पनि क्षमता र विज्ञता हेरेर उम्मेदवार बनाइएको छ’, उनले भने ।

एनआरएन धनीहरुको मात्रै संस्था हो भन्ने मान्यतालाई चिनुपर्ने डा. श्रेष्ठ बताउँछन् ।

‘यो धनाढ्य व्यापारीहरुको संस्था हो भन्ने मान्यतालाई चिरेर देशका लागि योगदान गर्न चाहने विदेशिएका नेपालीहरुको संस्था हो भन्ने बनाउनु छ । त्यसैले पैसाभन्दा पनि सीप, योग्यता र विज्ञता भएकाहरु नेतृत्वमा आउनुपर्छ । त्यसैले हामी जान्नेलाई छान्ने भनिरहेका छौं’, उनी भन्छन् ।

डा. श्रेष्ठ नेपालका लागि योगदान गर्ने खोक्रो नारामात्रै दिइरहेका छैनन्, उनले आफ्ना केही मौलिक एजेन्डा पनि अघि सारेका छन् । उम्मेदवारीको घोषणा गर्दाखेरि नै उनले ‘समृद्धि रुपान्तरण हाम्रो साझा अभियान’ नारासहितको प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए । उनको प्रतिबद्धतापत्रमा ५ वटा महत्वपूर्ण एजेन्डा छन् ।

डा. श्रेष्ठको पहिलो एजेन्डा हो- पारस्परिक साझेदारीबाट सामूहिक रोजगारीको सिर्जना गर्ने । गैरआवासीय नेपालीहरु संसारका विभिन्न मुलुकमा डाक्टर, इन्जिनियरलगायतका विभिन्न प्राविधिक पदहरुमा कार्यरत रहेको तर उनीहरु नेपालको समृद्धिसँग जोडिन नसकेको डा. श्रेष्ठ बताउँछन् ।

‘उनीहरुले विदेशमा प्राप्त गरेको ज्ञान, सीप, प्रविधि र नवप्रवर्तनलाई नेपालमा हस्तान्तरण गर्न र नेपालको सीप, ज्ञान र प्रविधि विदेशमा प्रसार गर्न एउटा स्थायी संयन्त्र निर्माण गर्न सकिन्छ’, डा. श्रेष्ठको प्रस्ताव छ ।

यस्तो संयन्त्रलाई प्राविधिकहरुको भौतिक उपस्थितिमा वा अनलाइनको दूरसेवाको प्रयोग गरी साझा व्यवसाय तथा संगठनहरु सञ्चालन गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने योजना उनको छ ।

डा. श्रेष्ठको दोस्रो एजेन्डा हो- अन्तर्राष्ट्रिय क्षेत्रमा नयाँ अवसरको खोजी गर्ने । रेमिट्यान्सबाट देशको अर्थतन्त्र चल्नुपर्ने र वैदेशिक रोजगारीबाट बेरोजगारी समस्या हल गर्नुपर्ने अवस्थामा विदेशमा प्राप्त हुने अवसरहरुलाई नयाँ ढंगले खोजी गर्नुपर्ने उनको धारणा छ ।

‘यसका लागि विदेश जाने नेपालीको सीप र दक्षता वृद्धि गरी नयाँ अवसरहरु पत्ता लगाउनु जरुरी छ । नयाँ नयाँ क्षेत्रहरुको पहिचान गरी विकसित देशहरुमा दक्ष कामदारहरु पठाइ उनीहरुको आय वृद्धि गर्दै जीवनस्तरको अभिवृद्धि गर्न सकिन्छ’, उनी भन्छन् ।

दक्ष प्राविधिज्ञहरुको अन्तर्राष्ट्रिय सञ्जालको विकास गर्ने उनको तेस्रो अवधारणा हो । उनले गैरआवासीय दक्ष प्राविधिज्ञहरुको सञ्जाल निर्माण गर्ने, विदेशमा आर्जित ज्ञान, सीप र प्रविधिलाई नेपालसँग जोड्ने र तिनीहरुलाई नेपाल सरकारका ठूला आयोजनाहरुमा प्रत्यक्ष सहभागी गराउने सोच लिएका छन् ।

यस्तै नयाँ व्यवसाय थालनीका लागि समन्वय केन्द्रको स्थापना गर्ने लक्ष्य डा. श्रेष्ठको छ । नेपाल वा प्रवासमा नयाँ व्यवसाय थालनी गर्न चाहने नयाँ उद्यमी तथा व्यवसायीहरुलाई सहयोग गर्न समन्वय केन्द्रको स्थापना गर्ने योजना उनले बनाएका छन् । यस केन्द्रबाट समन्वय गरी नयाँ उद्यमीहरुलाई तालिम, लगानी र आवश्यक स्रोतसाधनको व्यवस्था गर्न सहयोग गर्ने र उद्यमशीलताको विकास गरी नेपाल र नेपालीलाई सफल उद्यमी व्यवसायी बनाउन सघाउने योजना पनि उनको छ ।

डा. श्रेष्ठको पाँचौं एजेन्डा छ, गैरआवासीय नेपाली मैत्री नियम कानूनहरुको निर्माणमा जोड । अहिलेसम्म गैरआवासीय नेपालीहरुले नेपालमा आफू अनुकूल नीति निर्माण गर्न सरकारसमक्ष निरन्तर पैरवी गर्दै आएका छन् । यसले गर्दा यो संस्था आफ्नो सुविधा र हकहितका लागि मात्रै क्रियाशील रहेको भान पर्न गएको छ । तर, डा. श्रेष्ठ भने आफू बसिरहेको मुलुकमा पनि नेपाली समुदायको हितका खातिर नीतिगत व्यवस्था तथा सुधारका लागि लविङ गर्नुपर्नेमा जोड दिन्छन् ।

उपाध्यक्षमा उम्मेदवारी दर्तापछि भेटिएका डा. श्रेष्ठ आफ्नो जीतमा ढुक्क देखिन्थे । तपाईंको जीतको आधार के हो भन्ने प्रश्नमा उनले सहज उत्तर दिए, ‘मतदाताहरुले अब उम्मेदवारहरुको प्रोफाइल हेरेरमात्रै भोट हाल्नुहुनेछ र त्यसो गर्दा पक्कै पनि मलाई नजरअन्दाज गर्न सक्नु हुनेछैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *