गाउँपालिका र विद्यालयको मुद्दा अदालतमा, बैंक खाता नखुल्दा रुवीभ्यालीको मुक्रावदेवीका शिक्षक तनावमा – Nepal Press

गाउँपालिका र विद्यालयको मुद्दा अदालतमा, बैंक खाता नखुल्दा रुवीभ्यालीको मुक्रावदेवीका शिक्षक तनावमा

धादिङ । धादिङको रुवीभ्याली गाउँपालिकाको बोराङमा रहेको मुक्रावदेवी माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारी यस वर्षको दशैं मान्न नपाउने चिन्तामा पुगेका छन् । गाउँपालिकाले विद्यालयको बैंक खाता रोका राखेकाले उनीहरुले वैशाखदेखि तलब पाएका छैनन् ।

गाउँपालिका र विद्याल व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकहरुको विवाद अदालतसम्म पुगेपछि गाउँपालिकाले रोक्का राखेको मुक्रावदेवी माविको बैंक खाता फुकुवा भएको छैन ।

गाउँपालिकाले बैंकलाई पत्र लेखेर विद्यालयको खाता रोका गरेको थियो । जसले गर्दा विद्यालयका १९ जना शिक्षक तथा कर्मचारीले तलब पाउन सकेका छैनन् । दशैं बिदा हुन केही दिनमात्रै बाँकी भए पनि तलब खुवाउने बाटो नखुलेपछि शिक्षक कर्मचारी तनावमा परेका हुन् ।

गएको असार ६ गते तत्कालीन प्रमुख प्रशासकीय अधिकृत नवीनकुमार गोलेले रुवीभ्यालीको सेर्तुङमा रहेको ग्लोबल आईएमई बैंकलाई गाउँ शिक्षा समितिको २०८० असार ६ गतेको निर्णय भन्दै विद्यालयको बैंक खाता रोक्का गर्न पत्र लेखेका थिए । सोही पत्रका आधारमा बन्द भएको बैंक खाता अहिलेसम्म खुलेको छैन । त्यसमाथि गाउँपालिका र विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा प्रधानाध्यापकबीचको विवाद अदालत पुगेपछि खाता खुल्ने अनिश्चित भएको छ ।

जानकारीविनै विद्यालयको खाता रोक्का र प्राथमिक शिक्षक उत्तमलाल तामाङलाई गाउँपालिकामा श्रोत शिक्षकका रुपमा सरुवा गरेपछि असार १० गते गाउँपालिकाको १३औं गाउँसभामा ज्ञापनपत्र बुझाउन गएका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकमाथि हमला भएपछि गाउँसभामै झडपको स्थिति बनेको थियो ।

रोकिएको बैंक खाता खुलाउन र काज सरुवा भएका शिक्षकको ठाउँमा अर्को शिक्षकको व्यवस्था गर्न माग राख्दै गएका व्यवस्थापन समिति र शिक्षकहरुलाई तोडफोडमा संलग्न रहेको आरोप लगाउँदै गाउँपालिकाले जिल्ला अदालतमा मुद्दा हालेको थियो । गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनिष तामाङ, प्रधानाध्यापक तीर्थराज सुवेदी र शिक्षक ऋषिराम खनाललाई भदौ २० गते पत्र लेखेर पदबाट निलम्बन गरेको जानकारीसमेत दिएको थियो । निलम्बनसँगै जिल्ला अदालत धादिङमा आपराधिक उपद्रव मुद्दासमेत दायर गरेपछि तामाङ, सुवेदी र खनाल न्याय खोज्दै उच्च अदालत पाटन गएका थिए ।

गाउँपालिकाको निर्णयविरुद्ध उच्च अदालतले भदौ २९ गते अल्पकालीन र असोज १० गते अन्तरिम आदेश जारी गर्दै पालिकाको निर्णय कार्यान्वयन नगर्न नगराउन भनेको छ ।

निलम्बन कार्यान्वयन नगर्न र नगराउन गाउँपालिकाका नाममा उच्च अदालतले अन्तरिम आदेश जारी गरेपछि निलम्बित तीनै जना जिम्मेवारीमा फर्किए पनि गाउँपालिकाले विद्यालयको बैंक खाता नखोलिदिएको प्रधानाध्यापक सुवेदीले बताए ।

प्रधानाध्यापकको हैसियतले बैंकलाई विद्यालयको खाताको बारेमा जानकारी माग्दा गाउँपालिकाबाट रोकिएको खाता अर्को पत्र नआएसम्म नखुल्ने लिखित जवाफ बैंकले दिएको प्रअ सुवेदीले जानकारी दिए ।

उच्च अदालत पाटनको इजलास नम्बर ५ का न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले भदौ २९ गते विपक्षी रुवीभ्याली गाउँपालिकालाई २०८०/५/२० मा गाउँपालिकाले जारी गरेको चलानी नम्बर १९५ को तीर्थराज सुवेदी, चलानी नम्बर १९६ को ऋषिराम खनाल र चलानी नम्बर १९७ को मनिष तामाङको नाममा जारी गरिएको पत्रअनुसारको निलम्बन कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको थियो ।

सोही आदेशसँगै असोज १० गते पेशी तोकिएको थियो । असोज १० को पेशीमा उच्च अदालत पाटन इजलास नं ३ का न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र गोकर्ण डाँगीको संयुक्त इजलासले भदौ २० को निलम्बनसम्बन्धी पत्रहरु कार्यान्वयन नगर्न नगराउन गाउँपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

संयुक्त आदेशमा भनिएको छ, ‘शिक्षा नियमावली २०५९ को नियम २९ को खण्ड (ङ) अनुकूल नदेखिएको हुँदा सुविधा सन्तुलनको सिद्धान्तसमेतको आधारमा रिट निवेदनको अन्तिम टुंगो नलाग्दासम्म पत्रहरु कार्यान्वयन भए रिट निवेदकलाई अपूरणीय क्षतिसमेत हुने स्थिति प्रस्ट रुपमा देखिएकाले सो पत्रहरु कार्यान्वयन नगर्नु नगराउनु भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरिएको छ ।’

मुक्रावदेवी मावि प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री, राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङको गाउँ बोराङमा रहेको छ । रुवीभ्याली गाउँपालिकामा गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन विजयी भएको थियो ।

अध्यक्षमा निर्वाचित रामसिंह तामाङ माओवादी केन्द्रका हुन् भने उपाध्यक्ष फेलामा तामाङ नेपाली कांग्रेसका हुन् । विद्यालय व्यवस्थापन समितिमा राप्रपाको बलियो उपस्थिति भएका कारण गाउँपालिकाले विद्यालयलाई राजनैतिक प्रतिशोध राखेर व्यवहार गरेको कारण समस्या भएको स्थानीय बताउँछन् ।

रुवीभ्याली धादिङ जिल्लामै राप्रपाको सबैभन्दा राम्रो संगठन भएको क्षेत्र हो । अहिले पनि रुवीभ्यालीका बुद्धिमान तामाङ र वीना लामा प्रतिनिधिसभा सदस्य र डम्बर तामाङ बागमती प्रदेशसभा सदस्य छन् ।

विद्यालयको खाता बन्द गराइराख्नुको कारण जान्न गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत राजाराम खतिवडालाई पटक पटक सम्पर्क गर्दा तीनैजनाले कल रिसिभ गरेनन् ।


प्रतिक्रिया

One thought on “गाउँपालिका र विद्यालयको मुद्दा अदालतमा, बैंक खाता नखुल्दा रुवीभ्यालीको मुक्रावदेवीका शिक्षक तनावमा

  1. ताई न तुईका पुराना ऐन पल्ट्याएर सम्मानित अदालतबाट काइते काम हुनु स्वाभाविक लागेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर