आत्महत्याको डरलाग्दो तथ्यांक: दैनिक २० जनाले लिन्छन् आफ्नै ज्यान – Nepal Press
सन्दर्भ: आत्महत्या रोकथाम दिवस

आत्महत्याको डरलाग्दो तथ्यांक: दैनिक २० जनाले लिन्छन् आफ्नै ज्यान

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका- १ का वडाध्यक्ष मोहन घिमिरे घर नजिकैको रुखमा झुण्डिएर मृत अवस्थामा भेटिए । उनले भदौ २ गते बिहान करिब ५ बजे आसपास फेसबुकमा भावुक स्टाटस लेखेका थिए ।

उनले लेखेका थिए, ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रिय अनिता, साथ निभाउन सकेन । मलाई माफ गर । घरपरिवार, साथीभाइ शुभचिन्तक सबैसँग माफी चाहन्छु । अलबिदा ।’

०००

सिन्धुपाल्चोक स्थायी घर भई काठमाडौंको सोल्टीमोडमा एचएण्डबी रिकन्डिसन हाउस सञ्चालन गर्दै आएका ४४ वर्षीय होमनाथ गिरी गत चैत १४ गते आफू बस्ने घरको भुईं तलामा रहेको वर्कसपमा झुण्डिएको अवस्थामा फेला परे । घटनास्थलमा सुसाइड नोट फेला पर्‍यो ।

उक्त नोटअनुसार उनले एक जनासँग एक वर्षअघि दैनिक एक लाखको एक हजार रुपैयाँ ब्याज लिने तरिकाले ऋण लिएको, साँवाभन्दा बढी ब्याज तिरिसकेको तर लगातार मानसिक तनाव दिएपछि उनले आत्महत्या गरेको प्रहरी अनुसन्धानका क्रममा खुल्यो । प्रहरीका अनुसा अन्य दुई व्यक्तिको नाम उल्लेख गरेर उनीहरूलाई पनि साँवाभन्दा बढी ब्याज तिरिसक्दा पनि मानसिक यातना पाइरहेको सुसाइड नोटमा उल्लेख गरिएको प्रहरीले जनाएको छ ।

सुसाइट नोटमा लेखिएको थियो, ‘मेरो भाइ भरत, मैले सबैको तिरिसकेको हाम्रो न त घर न केही छ, तिमी केही पनि दिनुपर्दैन, अनिल भाइलाई जग्गा नौ आना दिएर पनि चेक फिर्ता दिएको छैन । उनकै मिटरवाला पैसाको हिसाबले आज मेरो यो गति भयो, मेरो बच्चा, बुबाआमा सबैको बिचल्ली बनाए साथीहरूले, भाइ, बच्चा, भाउजू, आमाबुबाको ख्याल राख्नू -दाइ ।’

अर्का व्यक्ति महेश चापागाईंले आफ्नो नामको खाली चेक लगेर १५ लाख रुपैयाँ लेखी कम्पनीलाई कालोसूचीमा राखेको पनि सुसाइड नोटमा उल्लेख थियो ।

०००

कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवानले गत फागुन ११ गते ड्युटी बसिरहेको समयमा एसएलआरबाट दाहिने कन्चटमा गोली हानी आत्महत्या गरे ।

दार्चुलाको अपी नगरपालिका-६ का २६ वर्षीय प्रहरी जवान कविन्द्र बिकको दरबन्दी कालीकोटको प्रहरी चौकी सुकाटियामा थियो । तर, उनी कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत थिए । के कारणले उनले आफ्नै कञ्चटमा गोली हानेर आत्महत्या गरे ? त्यो भने खुलेको छैन ।

०००

झापामा गौरीगञ्जस्थित गौरीगञ्ज माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छात्राले आत्महत्या गरिन् । गौरीगञ्ज- ३ कृपालटोलकी सोनी राजवंशीले शिक्षकले कुटेको भन्दै आत्महत्या गरेकी थिइन् । गत माघ २४ गते विद्यालयबाट घर फर्किएलगत्तै आत्महत्याको प्रयास गरेकी उनलाई तत्कालै उद्दार गरी अस्पताल पुर्‍याए पनि उपचारका क्रममा मृत्यु भयो ।

साँझ सोनीकी बहिनीले देखेपछि उद्धार गरेर उपचार गर्न लगिएकोमा मृत्यु भएको थियो । प्रत्यक्षदर्शी एक विद्याथीका अनुसार माघ २३ गते विद्यालयमा केटा साथीसँग बसेको निहुँमा शिक्षक पवन दासले उनलाई लट्ठीले कुटेका थिए । शिक्षक दासले कुटपिट गरेको र अर्का शिक्षक नितेश कटुवालले कुटेको भिडियो बनाएका कारण सोनीले आत्महत्या गर्न विवश भएको आरोप मृतकका आफन्तको थियो ।

एक महिनामै ६१७ जनाले गरे आत्महत्या

प्रहरीका अनुसार चालू आर्थिक वर्षको साउनमा मात्रै ६१७ जनाले आत्महत्या गरेका छन् । जसमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १३२ जनाले आत्महत्या गरेका छन् । दोस्रोमा कोशीमा ११७ जनाले आत्महत्या गरेका छन् । त्यसपछि क्रमशः मधेशमा ९३, बाग्मतीमा ९८, सुदूरपश्चिममा ५१, कर्णालीमा २१, गण्डकीमा ६० र काठमाडौं उपत्यकामा ४६ जनाले आत्महत्या गरेका छन् ।

दैनिक करिव २० जनाको जान्छ ज्यान

नेपाल प्रहरीको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९/०८० मा मात्रै ६ हजार ९९३ जनाले आत्महत्या गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतका अनुसार वर्षभर भएका आत्महत्यालाई अध्ययन गर्दा दैनिक रुपमा करिब २० जना र मासिक रुपमा ५८३ जनाले आत्महत्या गरेको पाइएको छ ।

नेपाल प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयको तथ्यांकअनुसार १७ वर्षको तथ्यांक विश्लेषण गर्दा नेपालमा आत्महत्याको अवस्था डरलाग्दो छ । तथ्यांकअनुसार आर्थिक वर्ष २०६३/०६४ देखि २०७९/०८० सम्ममा ८० हजार ३६१ जनाले आत्महत्या गरेका छन् । यस हिसाबले बर्सेनि ४ हजारभन्दा बढीले आत्महत्या गर्ने गरेको पाइन्छ ।

विवरणअनुसार हरेक वर्ष आत्महत्या गर्नेको संख्या २-१३ प्रतिशतले बढेको छ । १७ वर्षको अवधिमा सबैभन्दा धेरै आर्थिक वर्ष २०७७/०७८ मा ७ हजार १४१ जनाले आत्महत्या गरेका छन् । यो कोरोना महामारीको लकडाउन भएको र धेरैजसोले रोजगारी गुमाएको वर्ष पनि हो ।

सबैभन्दा बढी आत्महत्या कोशीमा

काठमाडौं उपत्यका र मुलुकभरका ७ वटै प्रदेशमध्ये सबैभन्दा बढी आत्महत्याका घटना कोशीमा भएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि २०७९/०८० सम्म मुलुकभरमा ३३ हजार २७ जनाले आत्महत्या गरेका छन् । जसमा सबैभन्दा बढी कोशीमा २१ प्रतिशत अर्थात ७ हजार १७३ जनाले आत्महत्या गरे । दोस्रोमा लुम्बिनीमा १९ प्रतिशत अर्थात ६ हजार २९२ जनाले आत्महत्या गरे ।

सरकार गम्भीर भएन: मनोविद् कुँवर

मनोविद् करुणा कुँवरले हरेक दिन, महिना र वर्षमा आत्महत्या गर्नेको संख्या बढिरहेको नेपाल प्रेससँग बताइन् । उनले भनिन्, ‘विगत केही वर्षको तथ्यांक केलाएर हेर्नुभयो भने हरेक वर्ष नियमित रुपमा आत्महत्या गर्नेको संख्या बढिरहेको छ ।’

मानसिक स्वास्थ्य समस्या भएमा समयमै उपचार गर्नुपर्छ भन्ने ज्ञानको अभाव अझै रहेकाले आत्महत्या घट्न नसकेको उनले बताइन् । अझै आत्महत्याका विषयमा खुलेर छलफल तथा बहस नहुनु पनि आत्महत्या बढ्नुको कारण रहेको मनोविद् कुँवर बताउँछिन् ।

उनले भनिन्, ‘अहिले पनि आफ्नो घरको कुनै सदस्यले आत्महत्या गर्‍यो भने पनि घरपरिवारका अन्य सदस्यले आत्महत्या गरेको हो भनेर खुलेर भन्ने गरिँदैन । यसले पनि लुकाउन खोज्दा झन् बढिरहेको छ ।’

मानसिक स्वास्थ्य समस्याका विषयमा सरकार पनि गम्भीर नरहेको उनको आरोप छ । वर्षमा स्वास्थ्य क्षेत्रमा विनियोजन हुने रकमको ०.५ प्रतिशत पनि मानसिक स्वास्थ्यको क्षेत्रमा नछुट्याइने गरेको उनले बताइन् ।

उनले भनिन्, ‘हरेक वर्ष आत्महत्याविरुद्धका अभियान सञ्चालन गर्नुपर्छ । मानसिक स्वास्थ्य समस्या जोसुकैलाई हुन्छ भन्ने कुरा बुझाउनुपर्छ ।’

मनोविद् कुँवर आत्महत्याका कारण बाहिरी रुपमा गरिबी, तनाव, पारिवारिक कलह भए पनि प्रमुख कारण मनो-सामाजिक समस्या रहेको बताउँछिन् । उनका अनुसार कतिपय अवस्थामा लामो समयसम्म यौन शोषण र हिंसामा पर्नु पनि आत्महत्याको प्रमुख कारण बनिरहेको छ ।

‘अन्य जे जस्ता कारण भए पनि उसको सामना गर्ने क्षमता बढाउन सक्यो र मानसिक स्वास्थ्य समस्या समाधान गर्न पहल गर्न सक्यो भने आत्महत्या रोक्न सकिन्छ’, उनले भनिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर